Logo

“माधव नेपाल र झलनाथ खनाललाई उचाल्ने र पछार्ने काम भयो”



नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता युवराज ज्ञवाली बौद्धिक नेताका रुपमा समेत परिचित छन् । खुलस्त बोल्ने हक्की नेता ज्ञवालीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

अब फरी नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद गहिरिदै गएको हो ?
पार्टी ठूलो छ, ठूलो पार्टीमा अनेकौ छलफल र बहस हुन्छ । हिजो पनि थियो आज पनि छ र भोलि पनि रहिरहन्छ ।

माधव कुमार नेपालको वरियता खोसेर झलनाथ खनाललाई बनाईयो नि ?
लोकतन्त्रमा जहिले पनि विधीको आधारमा मुलुक चलाउनुपर्छ । लोकतान्त्रिक पार्टीहरु पनि विधिको आधारमा चल्नु पर्छ होइन भने भयानक अराजकता हुन्छ । त्यसो भएको हुनाले विधिको शासन नै लोकतन्त्रको महत्वपूर्ण पक्ष हो, एउटा लोकतन्त्रको मर्म हो । त्यसकारण हरेक लोकतान्त्रिक पार्टीहरुले देश चलाउँदा विधिको आधारमा सबै चल्नुपर्छ । पार्टी चलाउँदा पनि विधिको आधारमा चल्नुपर्छ । त्यो आधारमा हाम्रो पार्टीमा एउटा विधान बन्यो । पार्टी एकीकराण पछि विधान अनुसार हामी चल्नुपर्छ । माथि देखि तलसम्मका हरेक नेता हरेक कार्यकर्ता त्यो विधानको आधारमा चल्नुपर्छ ।

हैन तपाईको पार्टीभित्र विधान अनुसार नेता चलेका छन् ?
त्यो आधारमा चल्ने क्रममा पार्टीमा हिजो हामीले एउटा कुरा देख्यौं, त्यो तपाई हामी सबैले सुन्यौ । त्यो के हो भने नेतृत्वको प्रस्तावमा माधवकुमार नेपालको वरियतालाई बढाउने र झलनाथलाई तल वरियतामा राख्ने प्रस्ताव नेतृत्वले गरेको थियो । त्यसलाई सचिवालयले स्वीकार ग¥यो, पछि स्थायी कमिटिमा पनि त्यो अनुमोदन भयो । त्यति बेला झलनाथ खनाल भ्रमणको क्रममा चीनमा हुनुहुन्थ्यो । उहाँको अनुपस्थितिमा त्यो काम गरियो । पहिले के थियो भने नेकपाको पूर्व एमालेमा झलनाथ खनाल वरिष्ठ नेतामा पहिलो र माधवकुमार नेपाल दोस्रो वरिष्ठताको क्रममा हुनुहुन्थ्यो । तर पार्टी एकीकरणको बेलामा वरिष्ठताको क्रमलाई उल्टाईयो । नेतृत्वले नै प्रस्ताव गर्यो त्यो कुरा त्यति बेला कमरेड माधव कुमार नेपालले मलाई चाहियो भन्नु भएको होइन । हामीले उहाँलाई सोध्यौ र तपाईले किन यस्तो गर्नुभएको भन्दा मंैले आफूले खोजेको होइन तर नेतृत्वले प्रस्ताव ल्यायो त्यसपछि मैले अस्वीकार नगरेको मात्र हो भन्ने कुरा उहाँले गर्नुभएको थियो ।
सार्वजानिक ढंगले उहाँले बोल्नु भयो । अहिले आएर माधव नेपाललाई तल झार्ने र झलनाथ खनाललाई माथि ल्याउने एक किसिमको क्रम चाहिँ एउटा चलिरहेको छ दुनियाँले देखि राखेको छ । कुनै गोप्यता रहेन यसमा । कहिले कुन नेतालाई माथि र कहिले कुन नेतालाई तल पार्ने क्रममा सञ्चालन गर्ने एउटा कार्यशैली तरिका देखिन्छ । आम जनता पार्टी कार्यकर्ता, दुनियाँले देखिराखेको छ, कसरी पार्टी चलाई राखेका छन् भनेर । तर हिजो सुनियो माधव नेपालले पहिला यस्तो नगर्नुपर्थ्यो तर मैले हुन्न भनिनँ त्यतिबेला मैले नै अस्वीकार गर्नुपर्ने रहेछ भनेर सर्वसम्मतिबाटै यो काम अगाडि बढेको छ । यो तरिकाले पार्टी चलाउनु हुदैन कहिले कसैलाई माथि कहिले कसैलाई तल उचाल्ने र पछार्ने तरिकाले पार्टी चल्दैन । देश पनि चल्दैन भाडभैलो यहीबाट सुरु हुन्छ । अन्र्तर विरोध बढेर जान्छ त्यसो भएको हुनाले एउटा विधि एउटा नियम थियो त्यो क भने पहिले एमालेमा केपी कमरेड महाधिवेशनबाट अध्यक्ष भएको हुनाले नै अहिले पनि उहाँ अध्यक्ष हुनुहुन्छ । हामी स्थायी कमिटीमा थियौ अहिले पनि स्थायी कमिटीमा छौ । हिजो केन्द्रिय कमिटीमा भएका साथीहरु अहिले पनि केन्द्रीय कमिटिमा हुनुहुन्छ । त्यही अनुसार एकीकरणको काम अगाडि बढ्यो र सबै कुरा त्यही अनुसार गर्नुपर्थ्यो । हिजो जुन आधारमा केपी कमरेड अध्यक्ष हुनुभयो प्रधानमन्त्री हुनुभयो त्यही आधारमा अन्यन्त्र अरु ठाउँमा, जिल्लामा, केन्द्रमा, हरेक नेताहरुको सवालमा पनि त्यसलाई आधार मानेर नै सबै चीज अगाडि बढाउने तरिकाले जाँदा सहजै सजिलै समस्याको समाधान हुन्थ्यो र एउटा पार्टी राम्रोसँग अगाडि बढ्ने स्थिति रहन्थ्यो । त्यसो नभएर जुनियरलाई सिनियर बनाएको छ सिनियरलाई जुनियर बनाएको छ कतिपय विधानमा नभएका कुरा ल्याएको छ । त्यो तरिकाले अगाडि बढ्दा एउटा अराजकता, अन्र्तर विरोध, भद्रगोल सिर्जना हुन्छ ।

तर हिजोको जुन निर्णय भयो त्यसमा माधव कुमार नेपालको असहमति छ ?
मैले उहाँसँग कुरा गरेको त छैन तर मिडियामा आए अनुसार कार्य विभाजनको सन्दर्भमा नोट अफ डिसेन्ट लेखेको भन्ने छ । तर बरियताको क्रममा पहिला मैले मागेको पनि होइन नेतृत्वले प्रस्ताव ल्यायो पास गरेर गयो अहिले आएर मलाई तल झार्ने काम भएको छ पहिला यो नगर्नु पर्नेथियो उहाँले भन्नुभयो भन्ने कुरा आइरहेको छ । वरियताको सवालमा अब त्यस्तो समस्या रहेन जस्तो मलाई लाग्छ ।

त्यसो भए झलनाथ खनाललाई बढुवा गर्नुमा माधव कुमार नेपालको असन्तुष्टि छैन ?
अहिले उहाँहरु दुई जनाले हात मिलाउनु भयो भन्ने कुरा पनि आएको छ । पछि यो गर्नु नहुने थियो भयो भनेर स्वीकार गरेर अगाडि आएको कुरा छ । वरियताको कारणले अब अन्र्तर विरोध रहिरहनु पर्ने कुनै आवश्यकता छैन र अब मिलेर नै अगाडि बढ्नुपर्छ । हिजो जहाँ गल्ती भयो दुनियाँले देखिराखेको कुरा हो । हामी नेताहरु केमा शर्तक हुनुपर्छ भने आफू कमसेकम एउटा सिस्टम, आचरण, मूल्य मान्यतामा दृढतापूर्वक उभिनुपर्छ । त्यसो भयो भने अरुले पनि सिक्ने कुरा हुन्छ र हामी पनि कतिपय कुरामा लचिलो भयौं, मूल्य मान्यतालाई उछिन्ने कुरा त्यसलाई उल्लघन गर्ने कुरामा सहयोगी बन्न पुग्यौ भने यसले अप्ठ्यारो स्थिति सिर्जना गर्छ । त्यसो भएको हुनाले यी सबै घटनाक्रमबाट हामी के प्रस्ट हुन जरुरी छ भने हरेक नेता,कार्यकर्ता एउटा विधि मूल्य मान्यताको आधारमा मात्र चल्नुपर्छ । विधि ठीक छैन भने विधि सच्याउनुपर्यो सम्बन्धित निकायले । जस्तो संविधान सबैले मान्न पर्यो । देशको संविधान गलत छ भने संसदको दुई तिहाई बहुमतबाट संविधान संशोधन गर्न सकिन्छ । होइन भने सबैले संविधान मान्नु पर्यो सबैले कानुन मान्नु पर्यो । त्यस्तै पार्टीमा पनि एउटा विधान एउटा नियम बनाई सकेपछि त्यसलाई सबैले मान्नुपर्छ ।

त्यसो भए कार्य विभाजनमा माधवकुमार नेपालको असन्तुष्टि छ ?
उहाँको असन्तुष्टि छ । नोट अफ डिसिजन छ भन्ने कुरा बाहिर आइरहेको छ ।

त्यसो भए किन पार्टीभित्र नेताहरुको वीचमा मनमुटाव, द्धन्द्ध छ किन ? एकताबद्ध भएर पार्टी अगाडि बढ्न सकेन ?
अन्र्तर विरोध त पार्टीमा रहिरहन्छ । यस्ता विभिन्न विषयहरु आईरहन्छन् यसलाई पार्टीभित्र समाधान गर्नुपर्छ । जति पनि निर्णयहरु भएका छन् पार्टी एकीकरणको काम करिब करिब अन्तिम अवस्थामा पुगेको छ । यो सकरात्मक कुरा हो तर धेरै ढिलो भएर यसले नोक्सान गरिसकेको छ । ढिलो एकीकरणको काम सम्पन्न भयो । केन्द्रिय कमिटीका सदस्यहरुले काम नपाएर चौध पन्ध्र महिना बस्नुपर्ने एउटा स्थिति भयो र यसले पार्टीमा एउटा ठूलो क्षती भईसकेको छ । त्यो क्षति पूरा गर्नको लागि सक्रियताका साथ एकताबद्ध भएर दृढतापूर्वक नयाँ अभियानका साथ अगाडि बढ्नुपर्छ । होइन भने यसले गरेको क्षतिपूर्ति पूरा गर्न गाहे हुन्छ । नभन्दै अब स्थानीय तहको चुनाव आउँछ । त्यसछि संसदको चुनाव आउँछ समय कम छ तर पनि यो जुन समय छ त्यसलाई भरपुर रुपमा प्रयोग गरेर अगाडि बढ्नुपर्छ चाहे सरकार सञ्चालनमा होस चाहे पार्टी सञ्चालनमा होस् सामुहिक बुद्धिको आधारमा सामुहिक नेतृत्वका आधारमा पार्टीलाई एकताबद्ध बनाएर सरकार पार्टी दुबैलाई ठीक ढंगले सञ्चालन गर्नुपर्ने दिशातिर जानुपर्छ । जनताको अपेक्षा अनुसार सरकारले हरेका कामहरु अगाडि बढाउनुपर्छ । विधिलाई स्वीकार गर्ने र विधिलाई मानेर सबे अगाडि बढ्नुपर्छ ।

हिजो प्रधानमन्त्रीले प्रस्ट रुपमा भन्नु भएको छ अर्को निर्वाचनसम्म म नै हुँ प्रधानमन्त्री ।
अहिलेको सरकार पाँच वर्षलाई भनेको हो । पाँच बर्षलाई बनेको सरकार हुनाले आवश्यकता अनुसार व्यक्ति हेरफेर हुन सक्छ तर कम्युनिष्ट पार्टीको सरकार पाँच बर्ष चल्छ र अहिलेको प्रधानमन्त्री हुनुहुन्छ उहाँलाई पनि पार्टीले बनाएको हो र जनताले निर्वाचित गरेर पठाएको, संसदले पनि निर्वाचन गरेर पठाएको हो त्यसो भएको हुनाले उहाँले पाँच वर्ष चलाउने स्थिति रहन सक्छ ।

त्यसो भए अहिले प्रधानमन्त्रीको परिवर्तनको आवश्यकता छैन ? आलोपालोमा सहमति भएको पनि होइन,केपी शर्मा ओली नै पाँच बर्षसम्म प्रधानमन्त्री बन्नुहुन्छ उहाँले भन्नु भएको छ धैर्य गर्नुहोस् ।
उहाँहरु दुई जना अध्यक्षको वीचमा आलोपालो भन्ने सहमति भएको छ भने र आवश्यक छ भने अहिलेको आवश्यकता के हो त्यो हेर्नुपर्छ । लिखित रुपमा या मौखिक रुपमा सहमति भएको हो त्यो पनि हेर्नुपर्ने हुन्छ । हिजो सहमति भयो तर आज आवश्यकता छ कि छैन । यदि अहिले पार्टीले आवश्यक ठान्छ,यदि त्यो सहमति भएको हो भने आवश्यकता अनुसार परिवर्तन हुन पनि सक्छ । पार्टीले आवश्यकता नठानेको अवस्थामा निरन्तर रुपमा केपी ओली नै प्रधानमन्त्री रहन सक्ने अवस्था रहन्छ ।

त्यसो भए पार्टीभित्र द्धन्द्ध हुदैन ? प्रचण्डले केपी ओलीलाई समर्थन गर्नुहोला पाँच बर्षसम्म ?
यसमा कुनै द्धन्द्ध गर्नुपर्ने विवाद छैन । उहाँहरु दुई जना आपसमा विवाद गर्नुपर्ने आवश्यक छैन यसलाई पार्टीको एजेण्डा बनाउनुपर्यो पार्टीमा छलफल गर्नुपर्यो । यदि परिवर्तन गर्नुपर्ने हो भने त्यो विषय पार्टीमा आउनुपर्यो संगठन कमिटीको बैठकमा छलफल गर्नुपर्यो र त्यसले निर्णय गर्नुपर्यो । हैन त्यो आवश्यक छैन भने उहाँ निरन्तर रहनुहुन्छ । त्यो आवश्यकता अनुसार गर्ने कुरा हो ।

त्यसो भए मन्त्री मण्डल पुर्नर गठनको सम्भावना कति छ ?
मन्त्रीमण्डल पुनः गठन पनि प्रधानमन्त्री र पार्टीले बुझ्ने कुरा हो । म के भन्छु भने यदि आवश्यक छ भने व्यक्ति परिवर्तन हुन सक्छ तर प्रधानमन्त्रीले भर्खरै एउटा नयाँ कामको तयारी सुरु गर्नुभएको छ त्यो के हो भने प्रधानमन्त्रीले मन्त्रीहरुसँग सम्झौता गर्ने मन्त्रीहरुले सचिवहरुसँग सम्झौता गर्ने र सहमति गर्ने । निश्चित कामहरुको लक्ष्य उद्देश्य योजना बनाउने त्यो योजना अनुसार काम गर्ने भनेर नयाँ काम र तरिका सुरु गर्नुभएको छ । त्यसको अर्थ के हो भने अहिले तुरुन्तै मन्त्रीमा हेरफेर भइहाल्ने अवस्था देखिदैन । आवश्यक गर्छ जरुरी हो भने परिवर्तन हुन पनि सक्छ । आवश्यक छैन भने यथावतै काममा लगाउने अगाडि बढाउने बरु कामका कमीकमजोरी त्रुटिहरु कहाँ भएको छ त्यसलाई सच्चाएर अगाडि बढ्नुपर्छ । व्यक्ति परिवर्तन गर्ने कुरा ठूलो होइन मुख्य हामी कसरी सरकार सञ्चालन गछौ,कुन तरिकाको आधारमा चलाउँछौ, कस्तो योजनाको आधारमा चलाउँछौ त्यसमा निर्भर रहने कुरा हो ।

त्यसो भए बामदेव गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने सहमति भएको हो अब ? विवाद छैन ?
हाम्रो विधानमा उपाध्यक्षको व्यवस्था छैन । सुरुमा विधान बनाउँदा महासचिब पनि नराख्ने दुईटा अध्यक्षले चलाउने भन्ने सहमति भएको थियो । पछि पार्टी घोषण गर्दा अचनाक नेतृत्वले महासचिव चाहिन्छ भनेर प्रस्ताव आयो र त्यसमा विरोध भएन । त्यही अनुसार महासचिवको व्यवस्था गर्यो र अगाडि बढ्यो । यदि उपाध्यक्ष बनाउनुपर्ने हो त्यो आवश्यकता हो भने सचिवालयले प्रस्ताव तयार गरेको छ भन्ने सुनिन्छ अब स्थायी कमिटी, केन्द्रीय कमिटीमा आउनुपर्यो । त्यहाँ छलफल गरेर पास गरेर हाम्रो विधान संशोधन गर्नुपर्यो अर्थात विधानमा उपाध्यक्षको व्यवस्था गर्नुपर्यो त्यसपछि मात्र बामदेब गौतम बरिष्ठ नेता हुनुहुन्छ यदि कमिटीले आवश्यक ठान्यो भने उहाँलाई उपाध्यक्ष बनाउन सक्छ ।

त्यसोे भए अहिलेसम्म बामदेब गौतम पार्टीको उपाध्यक्ष बन्नु भएको छेैन ?
अहिले सचिवालयले प्रस्ताव मात्र बनाउने हो पास गरेर हुदैन विधान संशोधन गर्नुपर्छ ।

विधान संशोधनमा सहमति होला कि विमति ?
त्यो कमिटीको बैठकमा आएपछि थाहा हुन्छ । दुई पटक उपाध्यक्ष भइसक्नु भएको हो । उहाँ जत्तिको सिनियर मान्छेलाई फेरी पनि उपाध्यक्ष बनाउने ठूलो कुरा होइन । तर त्यसमा कमिटीले निर्णय गर्नुपर्यो ।

त्यसो भए तपाईहरु उपाध्यक्ष हुनुहुन्थ्यो पूर्व एमालेमा । तपाई, भिम रावल, अष्टलक्ष्मी शाक्य उहाँहरुलाई पनि सचिवालयमा लिएर जाऔ भन्नु हुन्छ माधव कुमार नेपाल ।
जुन सिस्टमको आधारमा केपी ओली अध्यक्ष हुनुभयो त्यही सिस्टमको आधारमा बकाईदा देशभरका जनप्रतिनिधिहरुले चुनेर हामी उपाध्यक्ष भएका हौँ । हामी त्यत्तिकै मागेर भएका हाइनौ र उहाँ अध्यक्ष हुनुभयो हामी उपाध्यक्ष भयौं । अब पार्टीलाई अगाडि बढाउँदा हामी स्थायी कमिटीमा छौ हामी उपाध्यक्ष पदमा छैनौ । हामीले पार्टी एकताको जुन महान काम गदैछौ त्यसको लागि पद ठूलो होइन भन्ने ठानेर हिजो अध्यक्ष, उपाध्यक्ष, सचिव जुनसुकै पदमा भए पनि आज हामी सदस्य भएर पनि काम गर्नुपर्छ यसमा असन्तुष्टि मान्नु पर्ने आवश्यकता छैन भन्ने ठानेर हामी अहिले स्थायी कमिटीको सदस्य भएर काम गरिरहेका छौ । आवश्यक पर्छ हामीलाई सचिवालयमा लग्दा पनि हुन्छ तर मलाई व्यक्तिगत रुपमा हो भने मेरो माग छैन ।

तर पार्टीभित्र एउटा बहस सुरु भएको छ बामदेब गौतम पछि युवराज ज्ञवाली हो वरियताको कुरा गर्दा ?
त्यो त दुनियाँलाई थाहा छ नि । पार्टीमा मैंले कहिले देखि र कसरी काम गरें भन्ने कुरा । आठौँ महाधिवेशन बकाइदा निर्वाचित भएर म सचिव भएको हो । नवौ महाधिवेशनले निर्वाचित भएर उपाध्यक्ष भएको हो । तर स्थायी कमिटीमा २० बर्ष लगातार काम गरेको छु । केन्द्रीय कमिटीमा लगातार ३० बर्ष काम गरेको छु । म हरेक महाधिवेशनबाट निर्वाचित भएर आएको हुँ । महाधिवेशन र पार्टीले आवश्यक ठान्यो जे जिम्मा दिन्छ त्यो काम गर्ने हो । अहिले पार्टी एकीकरणको सन्दर्भमा सबै सहमत भएर बस्नुपर्छ भन्ने स्थिति आएको हुनाले सहज रुपमा खुशी राजिकासाथ अहिले स्थायी कमिटीको सदस्य भएर पनि काम गरिरहेको छु । कमिटीले आवश्यक ठान्यो भने सचिवालयमा जान पनि सकिन्छ । यहाँ म जानैपर्छ भनेर कसैलाई भनेको पनि छैन भन्दा पनि भन्दिन र त्यो पार्टीका नेताहरु सबैलाई मेरो योगदान के हो सबै थाहा छ त्यो आधारमा मुल्यांकन गरेर सचिवालयमा जान सकिन्छ आवश्यक गरेमा । आवश्यक नपरेपछि स्थायी कमिटीमा बसेर पनि असन्तुष्टि हुनुपर्ने आवश्यक छैन ।

त्यत्ति बेला तपाईको पनि वरियता घटेको थियो हैन ?
एकीकरणको बेला बरियता घटेको हो । केपी कमरेड अध्यक्ष हुनुहुन्छ हामी उपाध्यक्ष सदस्य भएपछि त वरियता घट्यो । अहिले केही पनि निश्चित छैन । हाम्रो पार्टीमा त्यो निर्धारण गरिएको छैन । विधानमा बरियताको क्रम तोक्ने आधार भनिएको छ तर अहिलेसम्म सचिवालयका सदस्यको वरियता तोकिएको छ तर हामी स्थायी कमिटी र केन्द्रिय कमिटीका सदस्यको तोकिएको छैन । त्यसो भएको हुनाले वरियताको तलमाथि भन्ने केही निश्चित भएको छैन हाम्रो सन्दर्भमा ।



प्रतिक्रिया दिनुहोस्