Logo

रवि लामिछाने पक्राउ प्रकरणमा नेकपा र कांग्रेस नेताहरुको धारणा एउटै (भिडियोसहित)



काठमाडौं, २ भदौ । न्यूज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने यतिवेला प्रहरी हिरासतमा छन् । आफ्नै पूर्व सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा नाम मुछिएपछि लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । अदालतले पाँच दिनको म्याद थपेर अनुशन्धान गर्न अनुमति दिईसकेको छ ।

तर, लामिछानेको पक्ष र विपक्षमा यतिवेला चितवनमा नारा, जुलुस र दिनहुँ प्रदर्शन भैरहेका छन् । लामिछानेका समर्थकहरुले उनलाई फसाएको हो भन्दै विरोध गरिरहेका छन् । चितवनमा अहिले पुडासैनीले न्याय पाउनुपर्छ र यो प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ भनेर स्वतन्त्र युवा समूहलेपनि प्रदर्शन जारी राखेको छ ।

यही सन्दर्भमा प्राईम टाईम्स टेलिभिजनको नियमित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानसँग कुराकानी गरेका छन् ।

धमलाले सुरुवातमै पत्रकार रवि लामिछाने यतिवेला प्रहरी हिरासतमा हुनुहुन्छ ? यसमा कांग्रेस र कम्युनिष्टको दृष्टिकोण के हो ? भनेर प्रश्न तेर्साएका थिए । धमलाको प्रश्नमा नेकपा नेता हरिबोल गजुरेलले भने,‘अहिले यो विषय अदालतमा गएको हुनाले हामीले केही बोल्न मिल्दैन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण आफैंमा दुःखद् घट्ना हो । पत्रकार भनेको त अरुलाई सजग गराउनुपर्ने व्यक्ति हो, आफैं आत्महत्या गर्नुपर्ने स्थिति किन आयो ? त्यो त अदालतले आफ्नो प्रक्रियाबाट छानबिन गर्ला । को दोषी हो ? वा होईन भनेर टुँग्याउला । अहिले केही भन्ने अवस्था छैन् ।’

धमलाले नेता गजुरेलले यो प्रकरणमा तपाईको पार्टी कता छ ? भनेर पनि सोधेका थिए । यो प्रश्नमा उनले आफ्नो पार्टी यो विषयमा कतैपनि नरहेको भन्दै न्यूट्रल रहेको जिकिर गरे । उनले भने,‘यस्तो विषयमा कुनैपनि पार्टी कतै भएर बोल्दैन् । बोल्न पनि मिल्दैन् ।’ त्यस्तै, गजुरेलले पक्ष वा विपक्षमा नारा र जुलुस गर्दा अदालतको छानबिन प्रक्रियामा हस्तक्षेप हुने धारणा राखे ।

कांग्रेस नेता भीमसेनदास प्रधानले आफ्नो पार्टीपनि कसैको पक्षमा नरहेको जनाउँदै यो प्रकरणमा निश्पक्ष र पारदर्शी रुपमा छानबिन हुनुपर्ने अडान रहेको सुनाए । तर, पक्ष वा विपक्षमा जेसुकैमा जुलुश निकाल्दा सरकारले दमन गर्न नहुने आफूहरुको धारणा रहेको प्रधानले स्पष्ट पारे ।

सभापति शेरबहादुर देउवाले दुत पठाएको र रवि लामिछानेदलाई समर्थन छ भनेको कुरामा पनि कुनै सत्यता नरहेको उनले स्पष्ट पारे । सभापतिसँगको आफ्नो छलफलमा देउवाले यो विषयमा बोल्न आवश्यक नै नरहेको सुझाएका थिए ।

सरकारले आफ्नो विधि र प्रक्रियाअनुसार छानबिन गर्नुपर्ने कांग्रेसको अडान रहेको उनले सुनाए । उनले थपे,‘यसमा कुनैपनि पार्टीले प्रभावित पार्ने काम गर्न हुँदैन् । सरकारले सत्य, तथ्य जनतासामू ल्याईदिनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्