Logo

नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा छ : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं, २ भदौं  । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारले जम्मू कश्मीर मामिलालाई नजिकबाट नियालिरहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।

भदौ ४ र ५ गते हुने नेपाल–भारत संयुक्त बैठकका बारेमा जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बैठकमा कश्मीर मामलाले स्थान भने नपाउने प्रष्ट गरे । जम्मू– कश्मीर क्षेत्रमा रहेका नेपालीको सुरक्षाबारे दिल्लीस्थित नेपाली दूताबासले काम गरिरहेको जानकारी दिँदै उनले उनीहरु सुरक्षित रहेको बताए ।   सार्कको अध्यक्षसमेत रहेको नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा रहेको भन्दै मन्त्री ज्ञवालीले क्षेत्रीय शान्ति खलबलिन नदिन आग्रह पनि गरे । भारतले पनि यसलाई गम्भीरतापूवर्क लिन्छ भन्ने विश्वास रहेको उनको भनाइ थियो ।

गिरिको अभिव्यक्ति सरकारलाई अस्वीकार्य रहेको भन्दै उनले भने,‘उहाँले यस्तो बोल्नुभयो होला भनेर पत्याउन सकिन्न । भन्नुभएको भए हामीलाई अस्वीकार्य हुन्छ ।’ नेपाल सधैं अविभाज्य र स्वतन्त्र मुलुक भएको भन्दै हल्ला टिप्पणी नगर्न उनले नेताहरुलाई सम्झाए । नेपाल भारतबीच सुमधुर सम्बन्ध भएका बेलामा यस्ता टिप्पणीले असर पर्नेतर्फ उनले ध्यानकर्षण गराएका हुन् ।

भदौ ४ र ५ गते हुने नेपाल–भारत संयुक्त बैठकमा जलवायु परिवर्तनले सृजना गराएको समस्याले विशेष प्राथमिकता पाउने पनि उनले बताए । बैठकमा नेपालको तर्फबाट विभिन्न मन्त्रालयका ३५ सदस्यीय टोली सहभागि हुनेछ भने भारतकातर्फबाट विदेशमन्त्री डा. एस जयशंकरसहित २१ जना हुनेछन् । भारतीय प्रतिनिधिमण्डलले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्नेछ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्