Logo

नेकपा सचिवालयमा ‘एक्लिए’ माधव नेपाल



काठमाडौं ३ भदौ ।  पार्टी भित्र वरीयता घटाइएपछि पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता माधव नेपालले सोमबार जनकपुर पुगेर आफूलाई अपमान भएको सार्वजनिक रुपमै बताए । यसले उनी पार्टी भित्र निकै कर्नरमा पर्दै गएको संकेत देखिएको छ । उनको असहमति रहँदारहँदै पार्टी सचिवालयका अन्य नेताहरु एकातर्फ उभिएपछि नेपाललाई अष्ठ्यारो पर्‍यो ।

त्यसैले उनले झलनाथ खनाललाई तेस्रो वरीयतामा राख्ने विषयको विरोध गरेनन्। तर उनी निर्णयहरुमाथि ‘नोट अफ डिसेन्ट’ भन्दै बैठकबाट हिँडे। नेकपाको सविचलायको शक्ति सन्तुलनभित्र सोमबारको बैठकमा नेपाल अहिले एक्लै जस्तो देखिए। सचिवालयमा नौ जना नेता छन्। त्यसमध्ये पछिल्लो कार्यविभाजनमा अरु सबै एकातिर जस्तो देखिएका छन्।

पहिला खनाललाई, अब मलाई अपमानित गरियो : नेपाल

पछिल्लो कार्यविभाजनमा ओलीले आफूसँग असन्तुष्ट सबै नेतालाई मिलाएका छन्। पार्टीमा कुनै जिम्मेवारी नदिइएको भन्दै रुष्ट रहेका गौतमलाई उपाध्यक्ष बनाउन ओली र दाहालले प्रस्ताव गरेका थिए। ओलीले अझ गौतमलाई कास्की-२ मा चुनाव लड्नसमेत अफर गरिरहेका छन्। त्यस्तै स्कुल विभागको जिम्मेवारी मागेका ईश्वर पोखरेललाई केही दिन छलफल लम्ब्याएर भए पनि ओलीले त्यही विभाग दिलाएका छन्। जुन विभागको विवाद हुँदा नेपाल समूहले पोखरेलको सट्टा अन्य विकल्पमा जान सकिने धारणा राखेको थियो। पोखरेल पनि पछिल्लो समय ओलीसँग केही असन्तुष्ट थिए।

एकताका क्रममा आफ्नो वरीयता तल झारिएकामा खनाल रुष्ट थिए। उनको बढुवा गरेर ओलीले खुसी पार्ने प्रयास गरेका छन्। पूर्वमाओवादी समूह अहिले पनि पार्टीभित्र एउटै जस्तो छ। नौ सदस्यीय सचिवालयमा रहेका पूर्वएमालेका ६ जनामध्ये ५ जना एकातिर र नेपाल मात्र अर्कोतिर देखिन पुगेका छन्।

नेता नेपालले आइतबार आफूलाई कर्नर गर्ने गरी निर्णय हुनेभएपछि सचिवालयमा काउन्टर प्रस्तावका रूपमा तत्कालीन एमालेमा आफ्नो समूहबाट उपाध्यक्ष जितेका तीन नेता भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्य बनाउन प्रस्ताव गरेका छन्।

नेता नेपालले पूर्वएमालेमा हुँदाको वरिष्ठताक्रमका आधारमा जाने हो भने त्यो बेला तल्लो वरीयतामा रहेका नेताहरूलाई अहिले पनि त्यही स्थानमा राख्नुपर्ने धारणा बैठकमा राखेका थिए। तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल एकीकरणपछि सचिवालयमा रहँदा महाधिवेशनबाटै निर्वाचित तीन उपाध्यक्ष बाहिर रहेकाले वरीयता सच्याउन त्यहीँबाट सुरु गर्नुपर्ने नेपालको धारणा थियो।

उनले निर्वाचित ५ उपाध्यक्षमध्ये विद्यादेवी भण्डारी राष्ट्रपति, गौतम पुनः पार्टीको उपाध्यक्ष बन्दा अन्य तीन जनामाथि चाहिँ अन्याय भएको भन्दै रावल, शाक्य र ज्ञवालीलाई ल्याउनुपर्ने धारणा राखेका थिए। यी तीन जना अहिले स्थायी समिति सदस्य मात्र छन्। रावल सुदूरपश्चिम प्रदेशको इन्चार्ज, शाक्य प्रदेश ३ इन्चार्ज र ज्ञवालीलाई हालै स्थानीय तह विभागको प्रमुखको जिम्मेवारी दिइएको छ।
नेपालले तीन जनाको प्रस्ताव ल्याएपछि अर्का नेता गौतमले तत्कालीन एमालेका एक उपमहासचिव पौडेललाई सचिवालयमा ल्याइसकेपछि अर्का उपमहासचिव घनश्याम भुसाललाई पनि सचिवालय सदस्य बनाउनुपर्ने प्रस्ताव गरेका थिए। नेपाल र गौतमको प्रस्तावमा मंगलबारको बैठकमा छलफल हुनेछ।

आइतबारको बैठकमा नेता नेपालले अध्यक्ष ओलीलाई पार्टीका काम छोड्न भनेका थिए। सरकारको काममा केन्द्रित हुन र अध्यक्षका रूपमा पार्टी कामको जिम्मेवारी दाहाललाई छाड्न आग्रह गरेका थिए। नेपालको आग्रह ओलीले मानेनन्। बरु अर्का अध्यक्ष दाहालले नै ओली पनि अध्यक्षको भूमिकामै रहने धारणा राखिएदिए।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्