Logo

नेपाल–भारत संयुक्त आयोगको बैठक राम्रो र सकारात्मक हुन्छ : डा. भट्टराई (भिडियोसहित)



‘प्रधानमन्त्री ओली फलो–अपको लागि सिंगापुर जान लाग्नुभएको हो’

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भोलिबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्धिपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने स्पष्ट पारेका छन् । बैठक राम्रो र सकारात्मक हुने उनको विश्वास छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले भारतीय विदेशमन्त्री डा. सुव्रमन्यम जयशंकरको नेपाल भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेपाल–भारतबीच बहुपक्षीय, फराकिलो र नजिकको सम्बन्ध रहेकोले छलफलको लागि धेरै विषयहरु रहेको सुनाए । यद्धपी उनले कतिपय विषयहरु समाधानउन्मुख रहेका पनि जिकिर गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भारत र नेपाल दुवै देशमा स्थिर सरकार आएकोले दुई देशबीचको सम्बन्ध सुमधुर र सवल हुने राम्रो आधार तय भएको विश्वास दिलाए । उनले भने,‘हाम्रो दुई देशबीच अहिले सुमधुर सम्बन्ध छ, नेताहरुबीच पनि विश्वासको वातावरण बनेको छ । अहिले सघन कुराहरु हुन थालेका छन् । समग्रमा अहिले दुई देशबीच राम्रो आधार बनेको छ ।’

भारतसँग नेपालको ऐतिहाँसिक सम्बन्ध रहेको सुनाउँदै उनले आगामी दिनमा अझै सिर्जनात्मक र सकारात्मक दिशातर्फ डोर्याउनेगरि छलफल केन्द्रित हुने बताए । उनले भने,‘भारतसँग हाम्रो दुई तिहाईको व्यापार हुन्छ, शिक्षा, पर्यटन, धार्मिकलगायत सबै क्षेत्रमा सुमधुर सम्बन्ध छ । सिमा, डुबानलगायत १९५० को सन्धि र ईपिजीको प्रतिवेदनबारे पनि छलफल हुन्छ । यो महत्वपूर्ण फोरम हो । हामीबीच रहेका सबैखाले समस्याहरुलाई कुटनीतिक पहलमार्फत समाधान खोज्छौं ।’

उनले विगतका समस्याहरु समाधान गर्दै आजको युग र परिवेश सुहाउँदो विदेश सम्बन्ध बनाउनुपर्ने र विदेश सम्बन्धका आधारभुत कुराहरुमा अघि बढाएर अघि बढ्ने सुनाए । उनले भने,‘वर्तमान सरकार त्यसतर्फ उन्मुख भएको छ ।’ नेपाल–भारत संयुक्त आयोगको बैठक राम्रो र सकारात्मक हुने पनि उनले विश्वास दिलाए । भारतीय विदेशमन्त्री जयशंकर अनुभवी र कुटनीतिक करियरबाट आएकोले उनले सोहीअनुसार नेपाल–भारत सम्बन्धलाई सही र सकारात्मक दिशातर्फ डोर्याउनेपनि बताए ।

भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ई.पि.जी) महत्वपूर्ण प्रयास र पहलकदमी भएकोले प्रतिवेदनमा आफूहरुले दुई देशबीचका महत्वपूर्ण विषयहरु समावेश गरेकोले दुवै देशका प्रधानमन्त्रीले प्रतिवेदन बुझेर कार्यान्वयनमा जानुपर्नेमा जोड दिए । ‘हामीले २ वर्ष लगाएर राम्रो प्रतिवेदन तयार पारेका छौं’ उनले भने,‘भारतबाट यो प्रतिवेदन बुझ्ने काम हुनेछ भन्ने हाम्रो विश्वास छ ।’ उनकाअनुसार प्राविधिक कारणले गर्दा भारतीय पक्षले प्रतिवेदन बुझ्नमा ढिलाई गरेको हुनसक्छ । तर, प्रतिवेदन नै बुझ्दैनौं भनेर भारतीय पक्षले अहिलेसम्म नभनेको उनको दाबी छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ईपिजीको प्रतिवेदन बुझ्नेमा आफू ढुक्क रहेको भट्टराईको भनाई छ । उनले भने,‘दुवै देशका प्रधानमन्त्रीले यो प्रतिवेदनलाई गम्भिर रुपमा लिनुभएको छ । यसमा फरक मत छैन् । त्यसैले प्रतिवेदन बुझ्दैनन कि भनेर आशंका नगरौं ।’

भारतको कश्मिरको बारेमा नेपालले किन आफ्नो धारणा सार्वजनिक नगरेको ? भनेर बाहिर चर्चा भएको छ नि भनेर सोधिएको प्रश्नमा उनले हरेक घट्नामा हरेक देशले टिप्पणी गर्नुपर्छ भन्ने नभएको स्पष्ट पारे । उनले थपे,‘सबै विषयमा टिप्पणी गर्नुपर्छ भन्ने छैन् ।’

डा. भट्टराईले प्रधानमन्त्री ओली भदौ ५ गते स्वास्थ्य चेक–अप (फलोअप) को लागि सिंगापुर जान लागेको जानकारी दिए । उनले भने,‘उहाँ फलो–अपको लागि सिंगापुर जाँदैहुनुहुन्छ । औषधीको मात्रा मिलाउनुपर्ने भएकोले जान लाग्नुभएको हो ।’ उनले फेरि मृगौला प्रत्यारोपण हुने हो कि भनेर गरिएको हल्लामा कुनै सत्यता नरहेको जिकिर गरे । उनले जाने मिति तय भएपनि उताबाट प्रधानमन्त्री कहिले फर्किने भन्ने मिति अहिलेसम्म तय नभएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्