Logo

‘प्रहरी सेवाको प्रभावकारिता बढाउन भौतिक पूर्वाधार अपरिहार्य’



पोखरा, ३ भदौ । सङ्घीय प्रहरी एकाइ कार्यालयका लागि साढे दुई तल्ले १६ कोठे आधुनिक सुविधासम्पन्न भवन निर्माण गरिएको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको रु दुई करोड ७८ लाख ७० हजार २९६ को लागतमा सो भवन निर्माण गरिएको हो ।

सोही कार्यालयको हातामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको रु तीन करोड २५ लाखसात हजार ५८६ को लागतमा ब्यारेक भवन निर्माण गरिने भएको छ । आव २०७६/७७ सम्ममा निर्माण गरिने लक्ष्य रहेको तीनतल्ले सुविधासम्पन्न उक्त भवनमा ब्यारेकसहित भान्छा, स्नानगृह, शौचालयलगायत अन्य आवश्यक पूर्वाधार रहनेछन् ।

नवनिर्मित उक्त भवन आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सेवाको प्रभावकारिता बढाउन भौतिक पूर्वाधार अपरिहार्य भएको बताएका हुन् । समाज एवम् राष्ट्रको शान्तिसुरक्षामा नेपाल प्रहरीले निरन्तर महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ भन्दै उनले शान्ति र सुक्षाको प्रभावकारिताका लागि नवनिर्मित भवन बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे ।

पर्यटकीय नगरी पोखराको लेकसाइडमा केही समययता देखिएका विकृतिजन्य क्रियाकलाप तथा सुरक्षासँग सम्बन्धित समस्या समाधानका लागि स्थानीय तहसँग समन्वय गर्न प्रहरी महानिरीक्षक खनालले प्रहरीलाई निर्देशन दिए ।उनले निकट भविष्यमा सोही कार्यालयको हाताभित्र निर्माण गरिने ब्यारेक शिलान्यास गरे ।



प्रतिक्रिया दिनुहोस्