Logo

‘सरकार अधिनायकवादतर्फ उन्मुख छ, भारतसँग कुरा गर्दा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्नुपर्छ’



काठमाडौं, ३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख हुन लागेको आरोप लगाएका छन् ।  मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । सरकारले मिडिया काउन्सिल विधेयक पनि प्रेसविरोधी ल्याउन लागेको बस्नेतको आरोप थियो ।

क्लबका उपाध्यक्ष बैकुण्ठ ढुंगानाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले मिडिया काउन्सिल विधेयक ल्याएर प्रेस जगतलाई नै समाप्त पार्न लागेको आरोप लगाए । विश्वबाट लोप हुदै गएको कम्युनिष्ट नेपालमा दुई तिहाईको सरकार बनाउन सफल भएपछि अधिनायकबादतिर उन्मुख हुन लागेको उनको आरोप थियो ।

उनले कांग्रेसको महाधिवेशन आएको बेलामा सरकारले दुई तिहाईको दम्भमा ज्यादती गरेको आरोप लगाए । उनले भने,‘हामीले संघीय संविधानलाई स्विकारेका छौं । प्रधानमन्त्रीले सुरक्षा परिषद गठन गरेर प्रशासनलाई आफ्नो नियन्त्रणमा लिन खोज्नुभयो । मिडिया काउन्सिल विधेयकमार्फत पत्रकारहरुलाई विभिन्न आरोप लगाएर १० वर्षसम्म जेल सजाय दिन खोजिएको छ ।’ सरकारले संविधानको आडमा बसेर त्यसलाई भत्काउने काम गरेको समेत उनले आरोप लगाए ।

मुलुक संघीय संरचनाअनुसार अघि बढिसकेकोले अब कांग्रेस पनि सोही मर्म र भावानाअनुसार अगाडि बढ्ने उनले विश्वास दिलाए । उनले पार्टीको संरचनालाई स्थानीय, प्रदेश र संघ गरी तीनै तहमा संगठनलाई सुदृढिकरण गर्ने प्रस्ट पारे । नेपाली कांग्रेसले देशभर राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको बताए । त्यस्तै उनले आगामी २०७७ फागुनसम्ममा पार्टीको महाधिवेशन गरिसक्ने पनि ठोकुवा गरे । उनले पार्टीले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गर्न जानेको बताए ।

उनले यही भदौ २४ गतेबाट पार्टीले दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने पनि जानकारी दिए । उनकाअनुसार सरकारले गरेका सबैखाले गलत कामकारकाहीलाई जनतासामू सुसुचित गर्नको लागि पनि यो अभियान महत्वपूर्ण साबित हुन्छ । बस्नेतले मुलुकले अब कुनैपनि प्रकारको द्वन्द्व पचाउन नसक्ने धारणा राखे ।

मुलुकमा यतिवेला आर्थिक अराजकता सुरु भएको उनको टिप्पणी थियो । जनताले चाहेअनुसार निर्णायक भूमिका निर्वाह गर्ने एकमात्रै पार्टी नेपाली कांग्रेस भएको जनाउँदै उनले आगामी निर्वाचनमा विजयी हाँसिल गर्ने विश्वास दिलाए ।

फरक प्रसँगमा उनले भारतीय विदेशमन्त्री एस. जयशंकरको नेपाल भ्रमणबारे टिप्पणी गर्दै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर र प्रगाढ बनाउनुपर्नेमा जोड दिए । नेपालको राष्ट्रिय झण्डाले झुक्न नपर्नेगरि राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्ने उनको सुझाव छ । बस्नेतले ‘साथी फेर्न सकिने तर छिमेकी’ फेर्न नसकिने बताए ।

मित्र राष्ट्रसँग सम्बन्ध राख्दा मेरो सरकार ढल्छ वा मेरो पद जान्छ कि भन्ने हिसावले सम्बन्ध नराख्न पनि उनले सुझाव दिए । छिमेकी कमजोर भयो भने अर्को छिमेकीलाई पनि असर पर्नेतर्फ उनले ध्यानाकार्षण गराए । उनले भने,‘हामी असल छिमेकी भएर अघि बढ्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्