Logo

वरियाता खोसिएपछि माधवको असन्तुष्टी : ओलीको एक पद खोस्ने रणनीति



काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एकपद छोड्न लिखित प्रस्ताव गरेपछि सत्तासीन नेकपाभित्र नयाँ तरङ्ग पैदा भएको छ ।

नेकपा राजनीतिमा समीकरण बद्लिएसँगै असन्तुष्ट नेता नेपालले यस्तो पार्टीमा ७ बुँदे फरक मत राखेका हुन् । लामो विवादपछि नेताहरुको कार्यविभाजन टुंगो लगाएलगत्तै नेता नेपालको क्षेप्यास्त्रले गणितीय आधारमा तत्कालै ठूलो क्षति नपु¥याए पनि नेकपाभित्र भने खैलाबैला मच्चिएको छ ।

नेकपा सचिवालय बैठकले नेता नेपाललाई तेस्रो वरियताबाट झारेर अर्का नेता झलनाथ खनाललाई सो स्थानमा राखेपछि उनले अपमानित महसुस गरेका थिए । सो निर्णयको मसी सुक्न नपाउँदै नेता नेपालले पार्टीमा एक व्यक्ति एक पद हुनुपर्ने मान्यता राखेका हुन् ।

पार्टी विधानमै सो व्यवस्था रहेको भन्दै नेपालले प्रधानमन्त्रीसमेतले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने भन्दै नोट अफ डिसेन्ट लेखेका हुन् । नेपालले यो कदमसँगै नेकपाभित्रै कसैलाई जिम्मेवारीको चर्को भारी त कोही नेताले कुनै जिम्मेवारी नपाएको अवस्थाले निकै चर्चा पाउने देखिन्छ । त्यस्तै नेता नेपालले पार्टी विधान र पद्धतिअनसार नचलेको आरोप लगाउनुभएको छ । उहाँले पार्टी संचालन शैलीविरुद्ध जेहाद छेडेका छन् ।

तत्काल त्यो शैली अन्त्य गर्न पनि माग गरेका छन् ।स्पष्ट र पारदर्शी भएर पार्टी एकताको कामको टुंगो लगाउनु पर्नेमा त्यसो नभएको भन्दै नेता नेपालले आपत्ति जनाएका हुन् ।

उनको अर्को असहमतिको बुँदा वरिष्ठहरुलाई पन्छाइएकोमा छ । प्रदेश कमिटीमा रहेका तथा सिनियरहरुलाई जिम्मेवारीबाट पन्छाइएको उनको आरोप छ । यतिसम्म कि माक्र्सवादको ज्ञान नै नभएकालाई जिम्मेवारी दिइएको संगीन आरोप उनले लगाएका छन् ।

वरिष्ठताको पछिल्लो विवादबारे पनि नेता नेपालले असहमति जनाएका छन् । उनले सुरुमा वरिष्ठ नेता आफूलाई बनाइएको र अहिले अर्का नेता झलनाथ खनाललाई वरियतामा माथि राखेर दुवैको अपमान गरिएको तर्क गरेका थिए ।
उनले आफ्नो फरक मतमा भ्रातृ संगठनहरुको इन्चार्ज तोक्दा वरिष्ठलाई पन्छाइएको आरोप लगाएका छन् र
सर्वत्र सरकारको कामकारवाहीको आलोचना भइरहँदा नेता नेपालले सरकारको कामकारवाहीको समीक्षा गर्न माग समेत गरेका छन् । नेकपाभित्र अहिले नेता नेपाललाई एक्ल्याएर अध्यक्षद्वय ओली, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र बामदेव गौतम अहिले नजिकिएका छन् ।

यो नयाँ गठबन्धनसामु नेता नेपाल तत्कालीन रुपमा कमजोर बनेका छन् ।तर नेपाली राजनीतिमा समन्वयकारी नेताको छवि बनाएका नेपालको यो कदमले नेकपा, सरकार र राष्ट्रिय राजनीतिलाई केही दिन हलचल ल्याउने भने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्