Logo

दिनभरमा कति हिंड्नुपर्छ ? चिकित्सकको सल्लाह यस्तो छ



काठमाडौं, ३ भदौ । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिलले दिनभरिमा कति हिँड्नुपर्छ भनेर नयाँ टिप्स दिएका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दिनभरिमा कति हिँड्दा फाईदा हुन्छ ? भन्नेबारे टिप्स सार्वजनिक गरेका छन् । उनले प्रत्येक दिन कति हिँड्दा फाईदा हुन्छ र नहिँड्दा के बेफाईदा हुन्छ ? भन्नेबारे पनि खुलासा गरेका छन् । उनले विश्व स्वास्थ्य संगठनको डाटा सार्वजनिक गर्दै चार मध्ये एक जनाको हिँडाई पर्याप्त नभएको सुनाएका छन् ।

उनले भनेका छन्- “विशेष गरेर किशोर अवस्थाका बालबालिकाहरु ८० प्रतिशतभन्दा बढि पर्याप्त रुपमा हिँड्दैनन् । यसको कारणले मुटु रोग र कम उमेरमा मर्नेको जोखिम २० देखि ३० प्रतिशतले बढ्ने गर्छ । यो भनेको शारिरीक निस्क्रियताले मात्रै हुने जोखिम हो ।”

उनकाअनुसार दैनिक शारिरिक गतिविधिमा व्यस्त हुने व्यक्तिको शारिरीक अवस्थामात्रै नभएर मानिसक अवस्था पनि स्वस्थ हुन्छ । मुटु रोगका धेरै करणहरुलाई हिँडाईले मात्रै नियन्त्रण गर्न सकिने उनको तर्क छ । त्यतिमात्रै नभएर प्रेसर, सुगर, कोल्स्टोल, मस्तिष्कघात, हृदयघातजस्ता रोगहरुको सम्भवानालाई शारिरिक सक्रियताले घटाउन सक्ने उनको भनाई छ । विभिन्न किसिमका क्यान्सरका जोखिमहरु पनि शारिरिक व्यायामका माध्यमबाट घटाउन सकिनेछ । दैनिक हिड्ने व्यक्ति शारिरीक रुपमा मात्रै नभएर मानसिक रुपमा पनि हेल्थी हुने र उसको जीवनमा अर्के किसिमको फुर्ति र जोश उत्पन्न गदर्छ ।

कति हिँड्न जरुरी छ ?

दैनिक कति हिँड्नुपर्छ ? भन्नेबारे धेरैलाई जानकारी नहुन सक्ने उनको धारणा छ । यदि कोही व्यक्ति लामो समयदेखि निस्क्रिय रहे उसलाई अचानक मृत्युको जोखिम हुने पनि उनले सुनाएका छन् । विलाषी जीवनका कारण अधिकांश मानिस अहिले निस्क्रिय बन्दै गैरहेको र यसले मानिसमा जोखिम बढाउने गरेको उनको तर्क छ । उनले आफूले पढेको एक लेखअनुसार मानिसको शरिर प्रति दिन ६० किलोमिटर हिँडनेगरि रचना भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार एउटा स्वस्थ व्यक्तिले प्रत्येक दिन कम्तिमा छिटो छिटो ३० मिनेट हिँड्नुपर्ने छ । त्यो भनेको तीन किलोमिटर हो । त्यस्तै माशंपेशीको व्यायाम पनि हप्तामा एकदेखि दुई पटक हुनुपर्छ । उमेर बढ्दै जाँदा रोगहरु पनि बढ्दै जाने उनको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्