Logo

आन्दोलनको आँधीवेहरी ल्याउँछौं-अनिल झा



राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका नेता अनिल झा स्पष्ट वक्ता हुन् । उनले राजपा आन्दोलनमा जाने चेतावनी दिदै नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग महत्वपूर्ण खुलासा गरेः

देश कसरी चलिरहेछ र तपाईंको पार्टी किन सडक संघर्षको कुरा गरिरहेको छ ?
अहिले देशको राजनीति दुईतिहाइको नाममा एक पक्षीयहिसावले चलिरहेको छ । हामीले विगतदेखि उठाउँदै गरेको मधेसका मुद्दाहरु अहिलेसम्म सम्वोधनहुन गसेको छैन । देशमा शान्तिसुरक्षा, अमनचय, सुशासन, विधिको शासन, कानुनी राज्यलगायत हामीले जुन विषय उठाएका थियौं । यी कुराहरु अहिलेसम्म पुरा हुन सकेको छैन । यसलाई सम्वोधन गर्नका लागि संविधान संशोधनका कुरा मधेस आन्दोलका बेला मारिएकाहरुलाई उचित क्षतिपूर्ति हुनुपर्ने, मधेस आन्दोलनका बेला विभिन्न वहानामा मुद्दा लागेकाहरुको मुद्दा छिनोफानो हुनुपर्ने लगायतका माग रहेका थिए । माननीय रेशमलाल चौधरीलगायत ५०औं जना अहिले पनि जेलमा छन् उहाँको रिहाइका विषय छन् । कतिपय साथीहरु मुद्दा लागेको बहानामा घरबाट र या देशबाटै विस्थापित हुनुपरेको छ यी विषयहरुलाई सम्बोधन हुनुपर्छ ।

पहिला तपाईंहरुले ओली सरकारलाई समर्थन गर्नुभयो अहिले फेरि संविधान संसोधन हुनुपर्छ भन्दा सरकारले त यसको औचित्य छैन भनेको छ नि ?
संधैं संसद्मा बहुमत भएको दलले मात्रै भनेको ठीक हुन्छ भन्ने होइन । कहिलेकाहीं सत्य पनि हार्छ । त्यसकारण त्यसलाई दोहो¥याइ रहनुपर्छ ।

तपाईंहरुले त्यसो भनिरहँदा जनताले पनि विश्वास गर्नुप¥यो नि ?
जनताले त हामीलाई विश्वास गरेका छन् ।

तपाईंहरुको संविधान संसोधनका कुरा त बेमौसमको बाजा हो भन्छन् नि ?
कसैलाई त्यस्तो लाग्न सक्छ । संविधान संसोधनभनेको कुनै गते, वार अथवा महिनामा हुन नहुने भन्ने होइन । यो आवश्यकता अनुसार संसोधन हुन्छ यसको कुनै मौसम हुँदैन । जुन बेलामा संसद्मा दुईतिहाइ बहुमत पुग्छ हुन्छ अनि त्यसको मौसम हुन्छ । अथवा फेरि सडकमा आन्दोलनको आँधीबेहेरी ल्याउनुपर्छ ।

यतिखेर नेपाली जनता सुशासन र विकासको पक्षमा अनि आन्दोलन के का लागि ?
हामीले गरेको आन्दोलन सुशासन र विकासको विपक्षमा होइन । आन्दोलन भन्ने वित्तिकै सडकमै आगो बालिहाल्ने भन्ने होइन । विचारमा हुन्छ, बहसमा हुन्छ, विषयवस्तुमा हुन्छ । र, उचित समय र विषयमा सडकमा पनि हुन्छ । त्यो आन्दोलनमा फेरि पनि जनताको जनसागर सडकमा उर्लने छ ।

सडकमा जनताआउन त तपाईंहरुसँग एजेन्डा हुनुपर्छ ?
हाम्रो एजेन्डा भनेको एकदमै प्रवल हुन्छ । तराइमा भएको आन्दोलन लामो समय लिएको म्याराथन टाइपको हो । फेरि पनि दह्रो एजेन्डासहित आन्दोलन हुन सक्छ ।

तपाईंहरुका एजेन्डा त बाझिएका छन् ? कतै उपेन्द्र यादवको पार्टीसँग वार्ता भइरहेको छ भन्ने, सरकारसँग समर्थन छ भन्ने तपाईंहरुका खास एजेन्डा के ?
हाम्रा आन्दोलनका विषयालाई अरुको पार्टीहरुसँग जोड्न मिल्दैन । जुन बेला मधेसमा खास एजेन्डाको आन्दोलनको भएको थियो । त्यसताका झन्डै दर्जन पार्टी तराईमा थिए । अहिले आएर दुईवटा पार्टी पनि छैन । राजपा बाहेक मधेस आन्दोलनको एजेन्डा उठाने एउटा पनि पार्टी छैन । अरुले मधेसको एजेन्डा छोडिसके । मधेसमा हिजो आन्दोलन गर्ने पार्टीहरुमा केही कांग्रेससँग, केही बाबुरामसँग, केही कम्युनिष्ट पार्टीसँग बिलय भए भने केही राजपासँग एकढिक्का भएर आए । त्यसैले मधेस आन्दोलनको एजेन्डा एउटै पार्टीले उठाइरहँदा त्यो मजबुत हुनुपथ्र्यो । जुन समय विभाजन भएर १२ हाराहारी पार्टी थिए त्यसबेला मधेस आन्दोलन त भयो । त्यो कुरा सत्य हो त्यसैले पार्टीसँग आन्दोलन जोडिएको हुन्छ । तर पार्टीको संख्याले आन्दोलनकारीको संख्यालाई निर्धारण गर्न सक्दैन । अर्को कुरा एकीकरण गर्ने भनेर वार्ता समिति बनाइएको थियो त्यसले पत्रिकामा हल्ला गर्ने बाहेक केही रिजल्ट दिन सकेन । पत्रिकामा हल्ला गरेर एकिकरण हुने होइन । पेपरटाइगर भएर एकता, एकिकरण र मजबुती हुने होइन ।

अहिलेसम्म तपाईंहरुको समाजवादी पार्टी वार्ता भएको छैन ?
वार्ता समितिले भन्छ कुरा भएको छ भनेर तर हामीसँग अहिलेसम्म कुनै कुरै भएको छैन । त्यस समितिका अन्य सदस्यहरुलाई अहिलेसम्म थाहै छैन कुनै वार्ता भएको । वार्ता समितिको अध्यक्ष मण्डलालाई कुनै वार्ता भएको रिपोर्टिंङ अहिलेसम्म भएको छैन । वार्ता समितिले काम गरेन कुरा मात्रै ग¥यो त्यसले रिजल्ट आएन । वार्ता समितिले कामगर्दा राज्य पुर्नसंरचना अनुसार प्रदेश, स्थानीय र संघीय ढाँचा अनुसारको कार्य विभाजन गर्नुको कुनै विकल्प छैन । जसको आधारमा महाधिवेशनको तयारी गर्न सजिलो हुन्छ ।

तपाईंहरु अहिले वार्ता, संवाद, एकताको मजबुतीभन्दा पनि महाधिवेशन केन्द्रित हुनुभयो ?
हो, हामीहरु अहिले महाधिवेशनमा केन्द्रित छौं ।

महाधिवेशन कसरी हुन्छ वार्ता त राम्रो हुन सकेको छैन ?
वार्ता भइरहन्छ । एकता हुनु, वार्ता हुनु, राम्रो कुरा हो तर पार्टी बलियो बनाउन महाधिवेशन आवश्यक छ । महाधिवेशनले वार्ता, एकता र व्यवस्थित बनाउन रोक्दैन ।

नेपाल–भारत सम्बन्धको कुरा गरिँरहँदा जय शंकर नेपाल आउनुलाई कसरी लिनुभएको छ ?
नेपालको परिप्रेक्ष्यमा कुरा गर्दा स्वभाविक पनि लाग्छ । किनभने यहाँ व्यक्ति, परिवार, संस्था, सेना, पार्टी, प्रहरी आदि सबैक्षेत्रमा सम्बन्ध जोडिएको छ । पहिलादेखि नै भारतमा नयाँ, प्रधानमन्त्री, राष्ट्रपति, विदेशमन्त्री हुने बित्तिकै नेपाल आउने चलन थियो । यसपटक भारतीय विदेशमन्त्री आउनु अत्यन्तै सुखद् कुरा हो । भारतले जसले जे भने पनि नेपालसँग आफ्नो सम्बन्ध राम्रो रहिरहोस् भनेर विदेस मन्त्री पठाएको छ । यसले पातलिँदै गएको सम्बन्धलाई फेरि प्रगाढ गर्ने काम गरेको छ । बाँकी भ्रमणहरुलाई पुनः निरन्तरता दिने । यसले आउँदा दिनहरुमा नेपाल–भारत सम्बन्धलाई अझ बढी प्रगाढ बनाउन मद्दत गर्दछ ।



प्रतिक्रिया दिनुहोस्