Logo

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गराउन बिहीबार सिङ्गापुर जाने



काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर जाने भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै आफू स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जान लागेको जानकारी गराएका थिए।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले आफू सिंगापुर जानेबारे सर्वदलीय बैठकमा जानकारी गराएका थिए । उनले भने,“चिकित्सकको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिङ्गापुर जान लाग्नुभएको हो, प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य छ ।”

बैठकमा उपस्थित राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामनासमेत गरेका थिए । यसअघि प्रधानमन्त्री ओली साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्किएका थिए ।

प्रधानमन्त्री बिहीबार सिंगापुर जाने निधो भएपनि कहिले फर्किने भन्नेबारे अहिलेसम्म कुनै निश्चित नभएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी गराएका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका लागि त्यसतर्फ प्रस्थान गर्न लागेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्