Logo

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा, विमानस्थलमा सचिव र राजदुतद्वारा स्वागत



काठमाडौं, ४ भदौ । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिनको लागि भारतीय विदेशमन्त्री डा. एस. जयशंकर काठमाडौं आईपुगेका छने् । बुधबार अपराह्नदेखि काठमाडौंमा प्रारम्भ हुने बैठकमा भाग लिनको लागि जयशंकर काठमाडौं आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपालका परराष्ट्र सचिव शंकरदास बैरागी, नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरी, भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले स्वागत गरेका थिए । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पु¥याउन मद्दत पुुग्नेगरी गहन विचारविमर्श हुनेछ ।

तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हरप्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनका साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षाबारे विचारविमर्श हुनेछ । भारतीय विदेशमन्त्री जयशंकरले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्