Logo

झापामा पिउने पानीको उद्योग फस्टाउँदै



–चन्द्रकला भण्डारी : बोतल र जारको पानीमा उपभोक्ताको रुचि बढेसँगै झापामा करोडौँ लगानीमा ‘पिउने पानी’को उद्योग सञ्चालनमा आएका छन् । ‘मिनरल वाटर’को नाममा खुलेका यस्ता उद्योगबाट उत्पादित प्रशोधित पिउने पानीको बजार निकै फस्टाएको छ ।

पछिल्लो समय लहरकै रुपमा खुलेका त्यस्ता उद्योगले सरकारले तोकेको मापदण्ड पूरा गरेर जमीनमुनिदेखि झरनाबाट बगेको पानीलाई समेत आधुनिक प्रविधिबाट प्रशोधन गर्दै आएका छन् । उद्योगले सयौँ स्थानीयवासीलाई रोजगारीसमेत प्रदान गरेको छ ।

बुद्धशान्ति गाउँपालिका–७ मा रु दुई करोड ५० लाखको लगानीमा मीनप्रकाश मैनाली, सागर मैनाली, हरि मैनाली र सुनिल भण्डारीले साझेदारीमा सुनमाई वाटर उद्योग सञ्चालनमा ल्याएका छन् । छ महीना अघिमात्र खुलेको यो उद्योगले इलामको रोङ गाउँपालिकामा रहेको सुनमाई झरनाको पानीलाई प्रशोधन गरेर पिउने पानीको रुपमा उपभोक्ताको ओठसम्म पु¥याउँछ ।

इलामको रोङ गाउँपालिका–३ मा मुहान रहेको सो उद्योगको दैनिक एक हजार कार्टुन पानी उत्पादन क्षमता भए पनि हाल ६०० देखि ६५० कार्टुन मात्र उत्पादन गरिरहेको सञ्चालक मैनालीले बताए । उनले झरनाबाट उत्पादन हुने पानी यो नेपालको ११ औँ र प्रदेश नम्बर १ को पहिलो भएको दाबी गरे ।

मैनालीले झरनाबाट खसेको पानीलाई प्रशोधन गरिएको हुँदा यो पानी महँगो, शुद्ध र मीठो हुने दाबी गरे। पानीको मूल्य प्रतिकार्टुन रु १४० रहेको छ । बोतलको एक लिटरदेखि जारमा २० लिटरसम्म उत्पादन भइरहेको सुनमाई वाटर उद्योग प्रालिमा २० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

हाल झापा, मोरङ सुनसरी, इलाम, पोखरा, काठमाडौँसम्मको बजारमा उपलब्ध यो पानीलाई निकट भविष्यमा विदेशसम्म पु¥याउने लक्ष्य लिएको मैनालीको भनाइ छ । कमल गाउँपालिका–६ मा भवीन्द्र भण्डारीले रु नौ करोडको लागतमा इस्टर्न फुड एन्ड बेभरेज प्रालि सञ्चालनमा ल्याएका छन् । गत हप्तादेखि सञ्चालनमा आएको यो उद्योगले ‘बेला’ नामको शुद्ध प्रशोधित पिउने पानी उत्पादन गर्दै आएको छ ।

उनले खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागबाट अनुमति लिएर उच्च गुणस्तरको प्रशोधित पानी उत्पादन गर्न थालिएको बताए। दैनिक तीन हजार कार्टुन पानी उत्पादन क्षमता भएको उद्योग झापाकै ठूलो पानी उद्योग भएको उनको दाबी छ । पानी शुद्ध छ छै्रन भनी जाँच गर्ने आफ्नै ल्याबसहित शुरु भएको यो उद्योगले बोतल र बिर्कोसमेत आफैँ उत्पादन गर्दै आएको छ । उद्योगमा स्थानीय ४० जनाले रोजगारी पाएका छन् ।

मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विजय डालमियाले मेचीनगर–६ काँकडभिट्टामा अक्वाटप मकालु पानी उद्योग सञ्चालन गरिरहनुभएको छ । डेढ वर्ष अघि रु २५ लाखबाट शुरु गरेको उद्योगमा हाल डेढ करोड बढी लगानी भइसकेको उनको भनाइ छ । उद्योगले पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी ‘पर्यटन वर्ष २०२०’को लोगो अङ्कित मिनी बोतलमा पिउने पानीको उत्पादन भर्खरै थालेको छ । तीन सय एमएलको यो मिनी बोतलको पानी पर्यटन प्रवद्र्धनका लागि उत्पादन गरेको उनले बताए।

प्रदेश नं। १ को १४ जिल्लामा डालमिया ब्रान्डको आफ्नो उत्पादन पु¥याउँदै आएको उद्योगले एक लिटरको बोटलसँगै २० लिटरसम्मको जारमा पिउने पानी बिक्री गर्दै आएको छ । उनले आफ्नो उद्योगमा ४० जनाले रोजगारी पाएको बताए । उद्योगमा दैनिक एक हजार कार्टुन पानी प्रशोधन क्षमता रहेको छ । कोल्ड जारमा पानी बेच्न झापामा पहिलोपटक आफूले शुरु गरेको दाबी गर्दै डालमियाले बजारमा गुणस्तरीय र सस्तो मूल्यमा पानी बेचिरहेको बताए। उनले प्रतिकार्टुन रु ११५ र प्रति जार रु २४० मूल्य कायम गरेको बताए ।

झापाको विर्तामोड र दमकमा डेढ दर्जन पानी उद्योग सञ्चालनमा रहेका छन् । दुई वर्ष अघि मात्र पानी व्यवसायी सङ्गठित भए पनि हाल निष्कृय रहँदा मूल्यमा एकरुपता नभएको उद्योगी डालमियाको भनाइ छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भद्रपुरका प्रमुख भरत पुरीले पिउने पानी स्वच्छ र गुणस्तरीय हुनुपर्ने बताउँदै हालसम्म पानी उद्योगमा गएर अनुगमन गर्न जनशक्ति अभाव रहेको बताए। उनले एक अधिकृत, दुई प्राविधिक र एक सहयोगीको दरबन्दी भए तापनि कार्यालयमा हाल आफू एकजना मात्र कर्मचारीले कार्यालयको सबै जिम्मेवारी धान्नु परिरहेको बताए।

होटल, हस्पिटलदेखि पैदलयात्रीसम्मले दैनिकरुपमा पिउनका लागि मिनरल वाटर भन्दै पिउने बोतल र जारको पानी यस्तै उद्योगबाट आपूर्ति हुँदै आएको छ । बोतल र जारको पानीको बजार फराकिलो बन्दै गएको देखेपछि उद्योगी यतातिर लगानी गर्न तम्सिएका छन् तर गुणस्तर अनुगमनमा भने सरकारी निकायले ध्यान पु¥याउन सकेको छैन । कतिपय उद्योगले धारा र ट्यबेलको पानीलाई प्रशोधन नगरी सिधै बोतलमा शिलबन्दी गरेको आरोप लाग्ने गरेको हुँदा सरकारी अनुमगनलाई प्रभावकारी बनाउन जरुरी देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्