Logo

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता सुरु



काठमाडौं, ४ भदौ । भारतीय विदेशमन्त्री डा. एस. जयशंकर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । काठमाडौं ओर्लिएलगत्तै भारतीय विदेशमन्त्री जयशंकरले पहिलो भेटवार्ता प्रधानमन्त्री ओलीसँग गरेका हुन् । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिनको लागि उनी आज अपरान्ह काठमाडौं ओर्लिएका हुन् ।

भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपालका परराष्ट्र सचिव शंकरदास बैरागी, नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरी, भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले उनलाई स्वागत गरेका थिए ।

द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पु¥याउन मद्दत पुुग्नेगरी गहन विचारविमर्श हुनेछ । तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हरप्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनका साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षाबारे विचारविमर्श हुनेछ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्