Logo

गणतन्त्रको भूतले नेकपा–कांग्रेस एक ठाउँमा उभिने प्रयास



काठमाण्डौ । राजनीतिक दलहरुबीच बेमेल र कटुताले जनतालाई झन निराश बनाएको छ । तर राजनीतिक नेतृत्वले यो परिवेश बुझेको आभाष हिजो गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा २०६२-६३ को परिवर्तनबाट प्राप्त उपलब्धी रक्षार्थ सबै दलहरु एक ठाउँमा उभिने सन्देश दिनुभएको छ । सानातिना कमजोरीको दोष व्यवस्था र पद्धतिलाई नै थोपर्ने खोज्नेहरु सक्रिय हुँदैगएको आशंका गर्दै उहाँले महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिका साथ अघि बढ्ने उदघोष गर्नुभएको छ ।

पछिल्ला समय लोकतान्त्रिक शासन व्यवस्थालाई निष्तेज बनाउदै राजतन्त्र फर्काउने कसरतमा विभिन्न व्यक्ति तथा समुहहरु सक्रिय देखिएको आशंका सरकारले नै गर्न थालेको छ । कतिपय समूहले संसदिय शासन पद्धतिलाई हिंसाको माध्यमबाट चुनौति दिइरहेका छन् । यो चिन्ताले नागरिकलाई मात्र नभई मुलुककै कार्यकारी प्रमुख अर्थात प्रधानमन्त्री ओलीलाई समेत छोएको छ ।

त्यसैले मंगलबारको सर्वदलिय बैठकमा प्रधानमन्त्रीले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दलहरु एक हुन आह्वान नै गर्नुभयो । प्रधानमन्त्रीको आह्वानपछि सरकारलाई अधिनायकवादतर्फ जान लागेको भन्ने आरोप लगाउने प्रमुख प्रतिपक्षी दलसमेत लचक देखिएको छ ।

मानवअधिकार, मिडिया काउन्सिललगायतका विधेयकप्रति गम्भीर अहसमति राख्दैआएको कांग्रेसले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर परिवर्तन संस्थागत गर्न यो संविधान ल्याउने आन्दोलनकारी शक्ति एक हुनुपर्ने बताएपछि त्यो कदमलाई सकारात्मक भनेको छ ।

त्यस्तै गरी सरकार गठन हुँदा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिए पनि पछिल्ला दिनमा सरकारप्रति आक्रामक राष्ट्रिय जनता पार्टी पनि प्रधानमन्त्रीको आग्रहमा प्रतिवद्ध देखिएको छ ।

राजनीतिक दलहरुले गणतन्त्रको रक्षाका लागि एक हुने धारणा व्यक्ति गरिरहदाँ राजनीतिकशास्त्रका प्राध्यापक डाक्टर लोकराज बराल भने दलहरुकै कमजोरीले राजतन्त्रवादी सलबलाएको र आपराधिक गतिविधि बढेको बताउँछन् ।

उनले जुनसुकै परिवर्तनको स्थायित्व बोली, भाषण र कागजभन्दा पनि त्यसबाट जनतामा हुनुपर्ने डेलिभिरीमा भरपर्ने बताए । त्यसका लागि सरकारको काम प्रभावकारी र राजनीतिक शक्तिहरुबीच जनमुखी हुनुपर्ने बरालको मान्यता छ ।

संसदिय व्यवस्था र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरु प्रतिबद्ध भएको बताउदै आएका छन् । तर प्रमुख दलहरुभित्रैका केही नेताहरु हिन्दुराज्यको पक्षमा सोझै र राजतन्त्रको पक्षमा घुमाउरो बाटोबाट वकालत गरिरहेका छन् । त्यसैले परिवर्तनलाई स्थायित्व दिन प्रमुख दलहरुले आफ्नै क्रियाकलापमा सुधार गर्न पनि जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्