Logo

नेकपा सचिवालयमा तत्काल सदस्य नथपिने



काठमाडौं, ५ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सचिवालयमा सदस्य थपका लागि प्रस्ताव गरिए पनि तत्काल थप नहुने भएको छ । यही भदौ १ गतेको सचिवालय बैठकमा वरियतामा छलफल हुँदा वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन नेकपा (एमाले) मा रहेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्यमा थप गरिनुपर्ने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न सचिवालय बैठकपछि पत्रकारको जिज्ञासामा सचिवालय सदस्य वामदेव गौतमले भने, “सचिवालयमा सदस्य थप्ने अहिले सोचाइ छैन र पार्टीमा कुनै त्यस्तो विवादको अवस्था छैन । पार्टीमा पूर्व एमाले र पूर्व माओवादीको गुट छैन, नेकपाको एउटै गुट छ ।”

भदौ १ गतेकै बैठकले अध्यक्षद्वयपछिको पहिलो वरिष्ठ नेतामा भलनाथ खनाल र त्यसपछिको वरिष्ठमा नेता नेपाल रहने निर्णय गरेको थियो । त्यसअघि नेता नेपाल वरिष्ठतामा भने पहिलो वरियतामा थिए । नेता खनालले तत्कालीन एमालेमा आफू निवर्तमान अध्यक्षका हैसियतमा पहिलो वरिष्ठ नेताका रुपमा रहेकाले एकीकरणपछि पनि सोही वरियता हुनुपर्ने माग गर्दै आएका थिए

हाल नेकपामा तत्कालीन एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु खनाल, नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल तथा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासहित नौ सदस्यीय सचिवालय छ ।

तत्कालीन एमालेमा रहेका उपाध्यक्षमध्ये गौतम मात्र र उपमहासचिव रहेका पौडेल एकतापछिको सचिवालयमा पर्नु तर अन्य उपाध्यक्ष नपर्नुले पूर्ववत् वरियताको स्पष्ट मापदण्ड नभएको नेता नेपालको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्