Logo

हाम्रै सिफारिशमा प्रधानमन्त्री सिंगापुर जानुभएको हो, एन्टीबडीको मात्रा बढि देखिएको छ : डा. शर्मा (भिडियोसहित)



काठमाडौं, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीका निजि चिकित्सक डा. दिलिप शर्माले मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले थप उपचारका लागि सिंगापुर जानुपरेको स्पष्ट पारेका छन् । उनले आफूहरुकै सिफारिशमा प्रधानमन्त्री ओली सिंगापुर गएको बताए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै डा. शर्माले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बाहिर हल्ला भएजस्तो र टिकाटिप्पणी भएजस्तो यथार्थ नभएको जिकिर गरे । प्रधानमन्त्रीको एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री सिंगापुर गएको उनको स्पष्टोक्ति थियो । उनकाअनुसार प्रधानमन्त्री ओलीको सिंगापुर बसाई ७ देखि १० दिनसम्म हुनेछ । प्रधानमन्त्री ओलीको साथमा उनको निजी चिकित्सक डा. दिव्या सिंह सँगै गएकी छिन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै डा. शर्माले सिंगापुरमा रहँदा नेश्नल युनिभर्सिटी अस्पतालमा नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञ टोलीले प्रधानमन्त्रीको मिर्गौलाका थप परीक्षण गर्ने र क्षमता अभिवृद्धि गर्नेका आवश्यक उपचार समेत गरिने जनाए । उनकाअनुसार प्रधानमन्त्रीको क्रेटिनाईन अहिले २ को हाराहारीमा छ । उनले भने,‘उहाँको मृगौला स्थिर छ ।’ सिंगापुरको नेश्नल युनिभर्सिटी अस्पतालमा उच्चतम प्रविधि र यन्त्र भएकोले प्रधानमन्त्री उपचारको लागि त्यसतर्फ गएको उनको भनाई छ ।

कार्यक्रममा डा. शर्माले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे जारी गरिएको प्रेस वक्तव्यपनि वाचन गरेका थिए । विज्ञप्तीमा भनिएको छ,‘गत श्रावण महिनामा १८–२७ गतेसम्म सम्मानीय प्रधानमन्त्रीज्यूको सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण र उपचार गरिएको थियो । त्यस क्रममा प्रारम्भिक परीक्षणबाट वहाँको शरीरमा मृगौलासम्बन्धी केही एण्टीबडीहरुको मात्रा बढि देखिन गएको पाईएको छ । ती एण्टीबडीहरुलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार शुरु गरिएको र उपचारको सोही क्रमलाई निरन्तरता दिन र थप आवश्यक परीक्षण गर्न वहाँ आज पूनः सिंगापुरतर्फ जान लाग्नुभएको हो । सिंगापुरमा रहँदा वहाँको साथमा विज्ञ चिकित्सक टोलीहरुद्धारा मृगौलाको थप परीक्षण र उपचारको क्रममा देखिने विभिन्न प्रकारका प्रभावहरुको सूक्ष्म अध्ययन तथा मृगौलाको क्षमता अभिवृद्धिका लागि समेत उपचार गरिनेछ ।’

उनले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण र उपचारका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य स्थिति र उपचारका क्रमहरु आफुहरुले नेपाली जनतालाई अवगत गराईरहनेपनि विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्