Logo

एसियन भलिबल कन्फेडेरेसन : नेपाल पाँचौं स्थानमा



काठमाडौं, ६ भदौ । नेपालले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा पाँचौं स्थान हासिल गरेको छ । शुक्रबार भएको पाँचौं स्थानको प्ले अफ खेलमा अफगानिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै नेपाल पाँचौं भएको हो ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा नेपालले अफगानिस्तानलाई २५-२३, २३-२५, २५-१८ र २६-२४ को सेटमा पराजित गर्यो । प्रतियोगितामा नेपालको यो सान्त्वना जित समेत हो । यसअघि नेपाल जितविहीन बन्दै समूह चरणबाट बाहिरिएको थियो ।

समूह ‘ए’ मा रहेको नेपालले समूह चरणमा किर्गीस्तान र माल्दिभ्ससँग ३-० को सोझो सेटमा हार व्यहोरेको थियो । नेपालसँगको हारसँगै अफगानिस्तानले छैटौं स्थानमा रहेर प्रतियोगिता सकाएको छ । अफगानिस्तानले समूह चरणमा १ जित निकालेको थियो । प्रतियोगिताको फाइनलमा भने शनिबार उज्वेकिस्तान र किर्गीस्तानबीच खेल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्