Logo

मैत्रीपूर्ण फुटबलमा नेपालको कप्तानी सुजल श्रेष्ठले गर्ने



काठमाडौं, ६ भदौ । मलेसियन क्लब जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण फुटबलमा नेपालको कप्तानी सुजल श्रेष्ठले गर्ने भएका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले मलेसियन क्लबविरुद्ध नेपाली टोलीको कप्तानी सुजललाई दिएको हो ।

नेपालको नियमित कप्तान विराज महर्जन र उपकप्तान किरण चेम्जोङ टिमबाहिर रहेपछि नेपाली टोलीको कप्तानको जिम्मेवारी सुजललाई दिइएको हो । कप्तान विराज को फिटनेसको समस्या देखिदा टिममा नपरेका हुन् । यस्तै किरण जापानको जे लिग क्लबमा ट्रायलका लागि गएका छन् ।

मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग नेपालले सोमबार उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले मलेसियन क्लबसँग खेल्ने २३ सदस्सीय टोलीको घोषणा यसअघि नै गरिसकेको छ । मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको टिममा फरवार्ड विमल घर्ती मगर, दिनेश राजवंशी र हेमन गुरुङले पुनरागमन गरेका छन् ।

कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।

नेपालले कुवेतसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाली टिममा गोलकिपर : विकेश कुथु, एलन न्यौपाने,विशाल श्रेष्ठ, डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल, मिडफिल्डर : सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई, फरवार्ड : विमल घर्तिमगर सहित विमल राना, अभिषेक रिजाल र नवयुग श्रेष्ठ  रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्