Logo

नेपाल भ्रमण वर्ष असफल बन्ने संकेत



काठमाण्डौ । सरकारले अघि सारेका अधिकांश योजना र लक्ष्य पूरा भएको पाइदैन । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुरुप नेपाल भ्रमण बर्ष घोषणा गरेको छ । तर पर्यटक नेपाल आउने विगतभन्दा फरक आधार केही पनि तय भएको पाइदैन ।

नेपाल भ्रमण वर्ष सुरु हुन ४ महिना मात्रै बाँकी छ । तर वर्षभरीमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यअनुसार सरकार सक्रिय हुन सकेको छैन । भ्रमण वर्ष सफल बनाउनका लागि सरकार र निजी क्षेत्रबीच समन्वय हुनुको विकल्प छैन । तर त्यस्तो देखिदैन ।

नेपाल घुम्न आउने पर्यटक एकमात्र अन्तराष्टिय विमानस्थल त्रिभुवन विमानस्थल हुँदै काठमाण्डौ ओर्लिन्छन् । न विमानस्थल व्यवस्थित छ न काठमाण्र्डाै सहर । वातावरण प्रदुषण मात्रै होइन, पर्यटक आकर्षित गर्ने सम्पदा अस्तव्यस्त छ । भूकम्पले क्षति पुर्याएका अधिकांश सम्पदा पुनः निर्माणसमेत हुन सकेका छैनन् । न यातायात सुविधा राम्रो छ, न खुला ठाउँमा सरसफाई । प्रचार प्रसारलाई पनि सरकारले प्राथमिकतामा नराखेको ट्रेकिङ एसोसिएसन नेपालका अध्यक्ष नवराज दाहालको जिकिर छ । पर्यटन व्यवसायीहरु पर्यटकलाई के देखाउने भन्नेमा चिन्तित छन् ।

यता सरकार भने भ्रमण वर्ष सफल बनाउने पर्याप्त तयारी गरिरहेको दावी गर्छ । नेपाल पर्यटन बोर्डले भने २०२० मा २० लाख पर्यटक भित्र्याउन सम्भव रहेको दावी गरेको छ । लक्ष्य पूरा गर्नका लागि आवश्यक सबै काम भइरहेको बोर्डका प्रवक्ता आदित्य बरालको दावी छ ।

नेपाल आफैँमा पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्य मुलुक हो । त्यसैले भ्रमण वर्ष सफल बनाउन धेरै कठिन पनि छैन । सहरी क्षेत्रका पर्यटकीय नगरी अस्तव्यस्त भए पनि प्राकृतिक सुन्दरता भने बेजोड छ । त्यसैले सर्वसाधारण केही आशावादी छन् ।

पक्कै पनि काठमाण्डौ सहरको अस्तव्यस्तालाई मात्रै हेरेर भ्रमण वर्ष असफल हुन्छ भन्न मिल्दैन । देशभरका खोला नाला, ताल, झरना, मठ मन्दिर, निकुञ्ज जस्ता क्षेत्रमा पर्यटक घुमाउन ठूलो समस्या छैन ।

त्यसैले भएका सम्भावनाको भरपूर प्रयोग र कमी कमजोरी सच्याउने हो भने नेपाल भ्रमण वर्ष सफल हुन सक्छ ।



प्रतिक्रिया दिनुहोस्