Logo

विदेशमा पैसा लुकाउनेको खोजी गर्न सरकार असफल



काठमाण्डौ । अन्तराष्ट्रिय खोज पत्रकारिता केन्द्रले स्वीस बैंकमा ५५ नेपालीका नाममा ४६ करोड ८ लाख २१ हजार स्वीस फ्यांक अर्थात् ५२ अर्ब ७ करोड २७ लाखभन्दा बढी नेपाली रकम रहेको खुलासा गरेको छ महिना बितिसकेको छ ।

कानुनतः नेपालमा कमाएको धन विदेशमा लगानी गर्न पाईदैन । तर, खुलमखुल्ला विदेशमा रकम जम्मा गर्ने तत्वहरु सक्रिय भएको बारम्बार सार्बजनिक भईरहदा पनि ती व्यक्तिहरुको छानविन हुन सकिरहेको छैन ।

विहिबारमात्रै सांसदहरुले स्वीस बैंकमा लुकाएर राखेको ५२ अर्ब रुपैयाको खोजि किन गरिएन भनेर सरकारलाई प्रश्न गरे । जवाफ दिँदै अर्थ मन्त्री डा. युवराज खतिवडाले अवैधरुपमा विदेशमा पैसा लुकाएर राख्ने नेपालीको बारेमा अनुसन्धान भईरहेको जवाफ दिए ।

प्रधानमन्त्रीदेखि अर्थमन्त्री र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका उच्च अधिकारी सबै अनुसन्धानमात्रै भईरहेको बताउँछन् । तर, छानबिनको दायराभित्र ल्याउन नसक्दा करमुक्त र नियमन क्षेत्र खुकुला भएका देशहरुमा रकम लुकाउनेक्रम निरुत्साहित हुन सकिरहेको छैन । कति नेपालीले विदेशका बैंकहरुमा लगेर रकम जम्मा गरेका छन् सो बारेमा स्वयं सरकारलाई नै थाहा छैन ।

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१ ले विदेशमा नेपालीलाई लगानी गर्न रोक लगाएको छ । तर, कानुनी व्यवस्था विपरीत ५५ जनाभन्दा बढी नेपालीले विश्वका विभिन्न बैंकमा अवैध रकम राखेको खुलासा भएको थियो । ठूलो उद्योगी, गैरआवासिय नेपाली, प्राध्यापक, डाक्टर, पूर्वसांसद, नेता र चर्चामै नआएका व्यक्तिहरुले विदेशमा अवैध सम्पत्ति थुपारेको पाइएको थियो । तर यस विषयमा सरकारले खोजी गर्न भने नसकेको अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउँछन् ।

ऐनअनुसार नेपाल राष्ट्र बैंकको स्वकृति नलिई विदेशमा लगानी गर्न पाईदैन । नेपाली नागरिकले विदेशमा आर्जन गरेको सम्पत्ति ३५ दिनभित्रै नेपाल नल्याए त्यो रकम जफत गरी कारवाही गर्ने कानुनी व्यवस्था छ । तर, सरकारले विदेशमा अवैध धन जम्मा गर्ने नेपालीको सङ्ख्या अझै यकिन गर्न सकेको छैन ।
विदेशमा लुकाएर नेपाली धन राख्ने व्यक्तिहरुको नाम सार्वजनिक हुदा पनि कारवाही हुन नसक्नु सरकारको कमजोरी हो । छानबिनको दायरासम्म ल्याउन पनि किन सरकार चुकिरहेको छ ? प्रश्न गम्भिर छ ।



प्रतिक्रिया दिनुहोस्