Logo

“ओली-नेपाल चर्काचर्की नेपालको असभ्य राजनीतिको बिम्ब”



राजनीतिक विश्लेषक पुनरन्ज आचार्यले नेपाली राजनीतिका विविध पक्षको गहिरो अध्ययन गर्दै आएका छन् । उनले ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै पछिल्लो राजनीतिक परिस्थितिको चिरफार गरेका छन् ।

नेपालका नेताहरु आन्तरिक विवादमा फसेका छन्, के कारणले हो ?
त्यो निरन्तर चलिरहने प्रक्रिया हो । मानिस द्वन्द्वमै बस्न रुचाउँछ । मानिस महत्वकांक्षा हुन्छ त्यो एकअर्कामा मिल्न सक्दैन । एकले अवसर पाउँछ अर्कोले पाउँदैन । एउटा मान्छेले ठूलो पद, प्रतिष्ठा पाउँछ सँगैको साथी पछि परिराखेको हुन्छ । पछाडि पर्नेले अगाडि परेकोलाई खुट्टा तान्छ । यो एउटा नेपाली प्रवृत्ति पनि हो । यो मानव सभ्यतामा निरन्तर चलिरहने प्रक्रिया हो ।

माधव नेपाल र केपी शर्मा ओलीको चर्काचर्की देख्नुभयो ?
त्यो नेपालको असभ्य राजनीतिक विम्ब हो । कम्युनिस्ट आन्दोलन र त्यही ढंगले अगाडि बढेको हो । प्रधानमन्त्री जस्तो पदमा बस्ने मान्छेले ‘तेरो शुभकामना चाहिँदैन’ ‘तँचाहिं मरिहालेस् भन्ने कामना राख्ने मान्छे होस्’ भन्नु अशोभनीय विषय हो । हाम्रो प्रधानमन्त्रीको ओठे जवाफको के टिकाटिप्पणी गर्नु ? उहाँका प्रायः जवाफहरु यस्तै हुन्छन् । पार्टीको आन्तरिक जीवनमा झगडा भयो किन भयो भनेर हामीले टिकाटिप्पणी गरिराख्नुपर्छ जस्तो लाग्दैन ।

माधव नेपालले पनि कडा जवाफ िदनुभयो नि केपी शर्मा ओलीलाई ?
राजनीतिमा सुरक्षा र असुरक्षाको कुरा हुन्छ । माधव नेपाल आफ्नै पार्टींभित्र आपूmलाई असुरक्षित ठानिरहनुभएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष खड्गप्रसाद ओलीले, वामदेव गौतम, ईश्वर पोखरेललगायत सबैलाई आफ्नो फोरममा ल्याउनुभएको छ । माधव नेपाल एकल जस्तो हुनुहुन्छ । उहाँको गुट पनि विस्तारै कमजोर भइरहेको छ । उहाँमा मलाई पेल्यो भन्ने भावना पनि छ । त्यसैले नेताहरु बीचमा मनोमानी, तनाव, एकले अर्कोमा आरोप प्रत्यारोप छ । प्रधानमन्त्रीको स्वास्थ्यअवस्था ठकि छैन उहाँविदेश जानुभएको छ । माधव नेपाललाई लागेको होला मलाई पार्टी अध्यक्ष दिनुपर्छ मै हो वरिष्ठ भनेर । वरिष्ठ पनि उहाँको खोसियो झलनाथ खनाललाई वरिष्ठ दनम्बर तीन दिइएको छ । यसरी सबैतिरबाट लखेटिएको अवस्था भएकाले त्यो तिक्तता आएको हुनुपर्छ ।

माधव नेपाल त पार्टी महासचिव मात्र हुनुभएको हो ?
कम्युनिस्ट पार्टीमा अध्यक्षभन्दा महासचिव नै ठूलो हुन्थ्यो । उहाँ अध्यक्षकै स्टेपको महासचिव बन्नुभएको हो । पछिल्लो समय कम्युनिस्ट पार्टीहरुले विधान परिवर्तन गरेर महासचिवको ठाउँमा अध्यक्ष प्रणालीमा लिएर गएपछि उहाँलाई अध्यक्ष बन्न पनि रहर लाग्ला । अध्यक्ष त मदन भण्डारी पनि महासचिव नै हुन् । अहिलेसम्म उहाँको कृति र नाम नै ठूलो छ । त्यसकारण कुन व्यक्तिले कुन पद पायो पाएन भनेर झगडा गरेर बस्ने हो भने सबैले अध्यक्ष प्रधानमन्त्री पाउँदैनन, मिल्दैन त्यसमा झगडा गरेर बसे हुन्छ ।

नेकपाको जुन द्वन्द्व छ त्यो साम्य होला चर्किएला?
यस्तै किसिमको द्वन्द्व रह्यो भने त चर्केरै जान्छ । एकले अर्काको अस्तित्व स्वीकारेर संयम भएर अगाडि बढे त साम्य भएर जाला । यहाँ त प्रधानमन्त्रीकै स्वभाव हेर्दा झगडा गर्ने खालको देखिन्छ । मसँग जोरी खोज्छस् भने देखाइदिन्छु भन्ने खालको छ । आफ्नो पार्टीका नेता हुन् वा प्रतिपार्टी कांग्रेससँग पनि उहाँको बोली व्यवहार ठीक छैन । यो स्वभावलार्इृ कुनै पनि किसिमले त्यो पदको गरीमा सुहाउँदो भन्न मिल्दैन । घरको मुली नै असभ्य र असहज ढंगले प्रस्तुत भएर द्वन्द्व चर्काउन लाग्छ भने चर्किन्छ । आफ्नो स्वास्थ्यको त्यो अवस्थामा पनि मान्छेमा एउटा सभ्यता आउँदैन भने साम्य कसरी हुन्छ । अपोजिसनमा पनि उहाँको बोली कर्कसै छ । आफ्नो पार्टीहरुका बीचमा पनि उहाँको कर्कसै छ । उहाँको यो अहंकार, दम्भ पद सुहाउँदो देखिँदैन । त्यसैले द्वन्द्व घट्लाजस्तो लाग्दैन । उहाँसंग अहिले दुईतिहाइको सरकार छ । सबै पार्टीका मानिसहरुलाई आफ्नो पोलमा ल्याउने सफल हुनुभएको छ । प्रचण्डदेखि झलनाथसम्म, वामदेवदेखि इश्वार पोखरेलसम्म एक ठाउँमा पार्न सफल हुनुहुन्छ । यसमा माधव नेपालजीको क्रन्दनले खासै अर्थ राख्दैन ।

नेताहरुबीच आन्तरिक तुष किन भयो ?
हाम्रा नेताहरु सिर्जनशील अरु केही काम गर्दैनन् । दशौं वर्षदेखि पार्टीभित्र गुजुल्टिएर बसेका छन् । अरु मुलुकका नेताहरु एकपटक पद पायो, मन्त्री बन्यो, राष्ट्रपति बन्यो, फेरि रिभिजिट गरेर अन्य पेशामा लाग्छन् । जस्तो बारक ओबामा अमेरिकाजस्तो शक्तिसम्पन्न राष्ट्रको दुईपटक राष्ट्रपति भएको व्यक्ति फ्रेसर भएर बसेका छन् । नेपालमा भूपु प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरुको ताँती लागेको छ । अब यिनीहरुको व्यवस्थापनमै देशमा ठूलो समस्या भइसकेको छ । अरु कुनै काम गर्न जान्दैनन् अनि सरकारबाट पाउने पदप्रतिष्ठा, सुविधा, भत्तामा दिनरात आँखा गाँडेर बस्छन् । अनि सुविधायुक्त पदमा सबै पुग्न सक्दैनन् अनि झगडा चलिरहन्छ । यो कांग्रेस, कम्युनिस्ट, चाहे राप्रपा सबैमा यही समस्या छ । यहाँ नेता भएपछि कहिल्यै रिटार्य पनि नहुने असफल पनि नहुने यहाँ बरु देश, पार्टी, सिस्टम असफल हुन्छ तर नेता असफल नहुने । हामीले सिस्टमै त्यस्तै बनाएका छौं । त्यसकारण जुनखालको पार्टी प्रणाली छ, जुनखालको राजनीतिक प्रणाली छ यो विलकुलै दोषी नेताहरुबीच झगडा गराउनको लागि । अब यहाँ जहिले पनि माधव नेपालजी प्रधानमन्त्री बन्न प्रयास गरिरहनुहुन्छ । शेरबहादुरजीको पनि पार्टी असफल हुने, नीति असफल हुने तर उहाँ कहिल्यै असफल नहुने । यस्तो सोच, चिन्तन भएको देशमा मुलुक विधिविधान, प्रक्रियाबाट चल्छ भन्ने सबै पार्टीका नेताहरुको सोच हेर्दा कल्पना पनि गर्न सँिकदैन ।

प्रधानमन्त्रीले ओलीले भारतीय प्रधानमन्त्रीलाई संविधान दिवसमा प्रमुख अतिथिको निमन्त्रणा पठाउनुभएको छ उहाँ आउन सम्भव छ ?
यसमा असम्भव केही छैन । नेपालमा नाकाबन्दी गरेको कोर्ष करेक्सनमा भारत लागेकै छ । भारतमा अहिले जुन सरकार जसको नेतृत्व नरेन्द्र मोदीजीले गर्नुभएको छ । उहाँको ठूलो स्वार्थ नेपालसँग जोडिएको छ । त्यो स्वार्थ भनेको नेपाललाई सांस्कृतिक रुपमा कसरी आफ्नो पोलमा ल्याउने भन्ने हो । दुवैको संस्कृति मिलेकै छ । त्यसैले उहाँ आउनुभयो भने आश्चर्य नमान्दा हुन्छ । एकताका १६ वर्षसम्म भारतका एउटा प्रधानमन्त्री नेपाल आएनन् । जुन बेलादेखि भारतमा मोदीजी प्रधानमन्त्री हुनुभएको छ । उहाँले ३/४ पटक नेपालको भ्रमण गरिसक्नुभयो । अब आउँदा पाँचौं पटक हुन्छ । अहिलेसम्म भारतले नेपालेको संविधानलाई स्वागत गरेको छैन । अब ओलीजीले भारतका प्रधानमन्त्रीलाई संविधान दिवसको उपस्थिति गराउनुभयो भने सफलता मान्नुपर्छ । यसले नेपालको संविधानलाई मानेको पनि हुन्छ । भारत एउटा ठूलो राष्ट्र हो, ऐतिहासिक, सांस्कृतिक, धार्मिक र राजनीतिक दृष्टिकोणले हामी समान पनि छौं । भोलिको महाशक्ति राष्ट्र भनेर संसारले चिनाइरहेको छ चीन र भारतलाई । भारतको त कुरै छोड्यौं यहाँका नेताहरुले पनि यो संविधानलाई स्वीकारिसकेका छैनन् । बनाउने बेलामा सबैले बनाएअहिले आ–आफ्नो धारणा राखेर छिउ किनारामा पुग्न खोजिरहेका छन् । यस्तो अवस्थामा संविधान दिवसमा अन्तर्राष्ट्रिय पहिचान, अन्तर्राष्ट्रिय आकर्षणको लागि पनि धेरै राम्रो हुन्छ । नाकाबन्दीका बेला अहिलेका विदेशमन्त्री त्यहाँका प्रधानमन्त्रीका दूत बनेर आउनुभएको थियो । नेपालमा संविधान आउनु हुँदैन भनेर । त्यसैले यो संविधान भारतले नस्वीकारेको अवस्थाको हो । हिजो जेजस्तो भयो अब नेपालसँग सम्बन्ध राम्रो बनाउनुपर्छ भनेर आउनुहुन्छ भने धेरै राम्रो । र नेपालले बोलाउनुपनि कोर्ष करेक्सन नै हो । यसले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्छ ।

जयशंकरलाई शेरबहादुरले होटलमै गएर भेट्नुभयो प्रचण्डहरु जानुभएन नि ?
मान्छेको आ–आफ्नो स्वभाव र रुचि हुन्छ । भूपु प्रधानमन्त्रीले होटलमै गएर वार्ता गर्नुभयो कांग्रेसको तर्पmबाट । पार्टी सभापति पनि हुनुहुन्छ त्यसले गर्दा उहाँ खासै सानो हुनुहुन्न । कम्युनिस्टहरुमा एउटा कम्पिडिसन छ को कति भारत विरोधी भएको देखाएर जनमत आफ्नो पक्षमा पार्ने ऊ अराष्ट्रवादी म राष्ट्रवादी भन्ने । फेरि त्यसमा जानैपर्छ भन्ने पनि छैन । ठूलो देशको पाहुन आएका छन् हाम्रो छिमेकी पनि हुन् त्यहाँ गएर केहीबिग्रिँदैन । कम्युनिस्टहरुमा सत्तामा नहुँदा दम्भ छ, सत्तामा हुँदा लम्पसारवाद छ । चाहना राख्नेले भटेको राम्रो त्यसमा सानो ठूलो भन्ने हुँदेन ।



प्रतिक्रिया दिनुहोस्