Logo

संविधान दिवसमा मोदी आउलान् ?



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएमा पाचौं पटकको नेपाल भ्रमण हुनेछ । दोस्रो कार्यकालमा पहिलो हुनेछ । यसअघि उनी पहिलो कार्यकालमा दुईपटक राजकीय र सार्क शिखर सम्मेलन र बिमस्टेक शिखर सम्मेलन गरी चारपटक भ्रमण गरिसकेका छन् ।
३ असोजको संविधान दिवसमा मुख्य अतिथिका रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिइएको छ । भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकर नेपाल भ्रमणमा रहँदा उनीमार्फत् निम्तो दिइएको हो । मोदी नेपाल आउने सम्भावनाबारे भारतीय उच्च स्रोतले असम्भव नभएको तर कठिन रहेको जानकारी दियो ।

२०७२ मा संविधान जारी हुँदा भारतले संविधानको स्वागत गरेको थिएन । उसले अझै पनि खुलेर स्वागत नगरेकाले मोदी संविधान दिवसमा आउनु भनेको यसको स्वागत गर्नु हो भन्ने सन्देश जान सक्छ । त्यसैले प्रधानमन्त्री ओलीले संविधान दिवसमा प्रमुख अतिथिका रुपमा भारतीय प्रधानमन्त्रीलाई निम्तो दिएका हुनसक्छन् ।

मोदी सबैलाई चकित पार्ने कदम चाल्छन् । उनले विगतमा पकिस्तानको भ्रमण अप्रत्याशित रुपमा गरेका थिए । घरेलु राजनीतिमा उनको शैली यस्तै छ । नोटबन्दी र काश्मिरबारे निर्णय लिंदा यस्तै गरे । नेपाल भ्रमणमा पनि उनको यस्तै निर्णय आउनसक्छ ।

तर, भारत काश्मिर मामलामा नेपालले प्रष्ट धारणा बाहिर नल्याएकाले चिन्तित छ । नेपालसँग सबैभन्दा नजिकको सम्बन्ध रहेपनि नेपालबाटै समर्थन नपाउँदा विरोध जस्तो सन्देश बाहिरी विश्वमा गएको बुझाई भारतीय पक्षको छ । बँगलादेश, मालदिभ्स, अफगानिस्तान, श्रीलंका जस्ता सार्क मुलुकहरुले काश्मिरबारे भारतले लिएको निर्णय आन्तरिक मामला भनिसके । नेपालको मौनताले भारतीय पक्ष खुशी छैन । यस्तो अवस्थामा भारतीय प्रधानमन्त्री मोदी नेपाल आइहाल्ने अवस्था नरहन सक्छ ।

मोदीको दोस्रो कार्यकालमा नेपाल भ्रमण सजिलै नहुन सक्छ । जसरी उनी पहिलो कार्यकालमा नेपाल आउने जाने गरे त्यो अब नरहन सक्छ । कर्मचारीतन्त्र नेपाल मामलामा सक्रिय भइसकेको छ । त्यो सन्देश नवनियुक्त रअ प्रमुख सामन्त गोयलको चर्चामा आएको नेपाल भ्रमणले देखाइसकेको छ । पूर्व विदेशसचिव एस जयशंकरलाई विदेश मन्त्रालयको जिम्मेवारी दिएर मोदीले विदेश सम्बन्धमा कर्मचारीलाई प्रभावशाली बनाइसकेका छन् । यसबाट अब राजनीतिक तहमा भन्दा कर्मचारी तहबाट भ्रमण र वार्तालाप हुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्