Logo

‘जनताको नायकलाई जबरजस्ती खलनायक बनाउने काम गर्नुभएन’ : दिपकराज गिरी (भिडियोसहित)



काठमाडौं, ७ भदौ । हाँस्यकलाकार, अभिनेता तथा फिल्म निर्माता दिपकराज गिरीले रवि लामिछाने भोलि रिहाई हुने कामना गरे । उनले भने,‘अब रविजीको बारेमा बोल्दाखेरि, मैले मेरो मुहारपुस्तिकामा पनि लेखेको थिएँ, पछिल्लो कारण आयो, त्यसमा बोल्न चाहन्छु । त्यस्तै पीडाबाट म पनि गुज्रिरहेको व्यक्ति हुँ । आत्महत्या गर्नेप्रति मेरो समवेदना छ । चलचित्र प्रदर्शनको सिलसिलामा एक जना भाई यही पीडाबाट गुज्रिनुपर्यो । त्यो पीडा मैले नजिकबाट आत्मसात गरेको छु । संसार एउटा महाभारत हो । हरेक प्रकारका युद्धको सामना गर्नुपर्छ । अन्याय हुन्छ भने कानूनको ढोका ढकढकाउनुपर्छ । जीवनको नाम संघर्ष हो ।’

उनले रवि लामिछानेको लागि यति धेरै समर्थन रहेको पनि सुनाए । उनले भने,‘उहाँको पक्षमा ठूलो समर्थन छ । चासो छ । अहिले हामीले कानून संशोधन गरेका छौं । म त कानूनमै दोष देख्छु । आक्षेप लगाउने मान्छे १०० प्रतिशत सत्य हुँदैन् । कानून सुधार गर्नुपर्छ । यदि कोही मान्छेले म त मर्छु र अरुलाई पनि दुःख दिन्छु भन्यो भने धेरै मान्छे कष्टडीमा हुन्छन् ।’

उनले आफू र रवि लामिछानेबीच निकै लामो मित्रता रहेको सुनाए । उनले भने,‘मित्रताको कारणले म यहाँ आएको होईन । म सत्यको पक्षमा बोलुँ भनेर सधैं कोशिस गर्छु । रवि निर्दोष छ । म यहाँ क्लबमा आउँदै गर्दा सडकमा रविलाई रिहाई गर भनेर अहिलेपनि जाम छ । रविजीले सामान्य मानिसको आवाज उठाईदिनुभयो, त्यसैले आज न्याय पाउनुपर्छ । भोलि नजिर बस्न सक्छ, जिन्दगीबाट हारेको मान्छेले आरोप लगाएर मरिदिनसक्छ । यत्रो प्रेसर दिँदाखेरि त रविजी दश दिन बसिसक्नुभयो । कसैले कसैलाई अन्याय गरेको छ भने रविजीलाई भेट्नुपर्छ भन्ने अवस्था छ । आम मानसिले अहिले चलचित्रमा हामीले देखाउने नायक र नायकत्व रविजीमा पाउनु भएको थियो ।’

गिरीले आत्महत्या भनेको आफैंमा अपराध भएको सुनाए । ‘यो केशमा भोलि न्याय हुनेछ । रविजीले भोलि न्याय पाउनुहुन्छ ।’–उनले थपे । उनले कानूनमै सुधार गर्नुपर्नेमा जोड दिए । उनले भने,‘राज्यले रविजीलाई न्याय दिनेछ । रिहाई भएर जनताको आवाज लिएर फेरि आफ्नो कर्ममा फर्किनुहुन्छ । राज्यले पनि गम्भिर विचार गर्नुपर्छ । जनताको नायकलाई जबरजस्ती खलनायक बनाउने काम गर्नुभएन ।’

तर, उनले भीडले न्याय नदिने कुरामा आफू विश्वस्त रहेको सुनाए । यद्धपी उनले हिजो राजाको शासनको पालामा भीडले परिवर्तन ल्याएको कुरा बिर्सन नहुने सम्झाए । उनले भने,‘तर, काराणसहितको भीड हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्