Logo

रवि लामिछानेले न्याय पाउनुपर्छ, तर छानबिनमा दबाब नदिऔं : धमला (भिडियोसहित)



काठमाडौं, ७ भदौ । चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । उनीहरुले लामिछानेको रिहाईको माग गरे । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकारहरुले यस्तो बताएका हुन् । कार्यक्रमको सुरुवातमै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आफू पनि रवि लामिछानेले न्याय पाउनुपर्ने पक्षमा रहेको सुनाए ।

उनले भने,‘रविजी पक्राउ परेपछि, उहाँको बारेमा पहिलोपटक मिडियामा बोल्ने व्यक्ति हुँ । तपाईहरु यो कुरा युट्युवमा पनि हेर्न सक्नुहुन्छ । म रविजीको पक्षमा छु । रिहाईको लागि म आग्रह गर्दछु । तर, मुलुकमा कानूनको शासन छ । म न्यायमूर्तिप्रति विश्वास राख्दछु । भोलि रविजीको रिहाईको कामना गरौं ।’ उनले स्वतन्त्र र निश्पक्ष रुपमा छानबिन गर्न दिनुपर्ने भन्दै दबाब र भीडले छानबिन प्रक्रियामा असर पुर्याउन नहुनेतर्फ सचेत गराए ।

धमलाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनको लागि यसको पक्षमा सबैभन्दा बढि बहस गराउने थलो पनि रिपोर्टर्स क्लब भएको सुनाउँदै उनले भने,‘क्लब परिवर्तनको पक्षमा थियो र छ, यसको लागि पक्षमा बहस गर्ने फोरम पनि यही क्लब बनेको थियो । हामी विधिको शासनमा विश्वास गर्छौं । अहिले रविजीलाई भेट्न ऋषि धमला किन चितवन गएन ? भनेरपनि बहस भएको छ, म चितवन जान तयार छु ।’

धमलाले निर्दोषले सजाय पाउन नहुने र दोषी उम्कन नहुने धारणा राखे । उनले भने,‘यदि यो प्रकरणमा रविजी निर्दोष हुनुहुन्छ भने उहाँले न्याय पाउनुपर्छ, तर गलत काम गरेको छ भने दण्डितपनि हुनुुपर्छ । म व्यवसायिक पत्रकार हो । निर्दोषले न्याय पाउने हो । दोषी दण्डित हुनुपर्छ ।’ उनले पत्रकार शालिकराम पुडासैनीको परिवारले पनि न्याय पाउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्