Logo

नेपाली जहाजमाथीको प्रतिवन्ध हट्न सक्ने



काठमाडौँ । अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एसिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकको ५६ औँ सम्मेलन नेपालमा हुनु लाभदायक भएको छ । ६ भदौमा सम्पन्न सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालको हवाई क्षेत्रलाई युरोपेली यनियन (इयू)को कालोसूचीबाट हटाउन प्रस्ताव राखेकोे जनाइएको छ ।

प्राधिकरणले सम्मेलनको अवसरमा इयूका पदाधिकारीबीच दुईपक्षीय कुराकानी गरेको र नेपालले आफ्ना विषयवस्तु स्पष्ट ढङ्गले राखेको जनाएको छ । इयूले उडान सुरक्षा मापदण्ड परिपालना नगरेको भन्दै सन् २०१३ देखि नेपाली हवाई जहाजलाई युरोप प्रवेशमा रोक लगाउँदै आएको छ । उसले प्राधिकरणलाई कानूनीरूपमा नियामक र सेवाप्रदायक छुट्टाछुट्टै निकायको रूपमा स्थापित गर्न भनेको छ । तर, यही विषयले मात्र नभई अन्तर्रा्ष्ट्रिय उड्डयन संस्थाको मापदण्डअनुरूप सेवा सञ्चालन नभएको प्रश्न उठाएको छ ।

सम्मेलनमा खासगरी उडान सुरक्षा, हवाई सुरक्षा सुविधा, एयर नेभिगेसन सेवा, हवाई वातावरणसम्बन्धी विषय, प्राविधिक सहयोग, क्षेत्रीय सहकार्यलगायत विषयमा छलफल भएको जानकारी गराइएको छ ।

आइकाओले भने सुरक्षा परीक्षणमा नेपालले आधारभूत विश्वव्यापीस्तर पार गरेको भन्दै सन् २०१७ मै नेपाली वायु सेवालाई राखेको गम्भीर सुरक्षा चासोको सूचिबाट हटाइसकेको छ । उसले सुरक्षा परीक्षणमा निर्धा्रित प्रक्रिया पालना नगरेको भन्दै सन् २०१३ मा नेपाललाई गम्भीर सुरक्षा चासोको सूचिमा राखेको थियो ।

कालोसूचिबाट नेपाललाई हटाउने सन्दर्भमा इयु र नेपाली उड्डयन अधिकारीबिच गत जनवरी १९ मा दुईपक्षीय वार्ता समेत भएको थियो । तर, अहिलेसम्म कुनै प्रगति भएको छैन । आइकाको अर्काे वर्षको सम्मेलन बङगलादेशमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्