Logo

मोदी नेपाल आउने



रिपोर्टर्स नेपाल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । ३ असोजमा संविधान दिवसको अवसरमा उनी प्रमुख अतिथिका रुपमा नेपाल भ्रमणमा आउने भएका हुन् ।

दिल्लीस्थित विश्वस्त स्रोतले जानकारी दिए अनुसार भ्रमणको लागि आन्तरिक तयारी अगाडि बढेको छ । मोदीले संविधान दिवसको अवसरमा विशेष सम्बोधन गर्ने तयारी समेत भएको छ । उनी लुम्बिनी भ्रमणमा समेत जानेछन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विदेशमन्त्री एस. जयशंकरमार्फत् संविधान दिवसमा प्रमुख अतिथिका लागि निम्तो पठाएका थिए । यसलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको थियो ।

संविधान दिवसमा मोदीको भ्रमण उपयुक्त र सही हो भनी भारतीय जनता पार्टीका नेपालबारे जानकारहरुले सुझाव दिएपछि भ्रमणको सम्भावना बलियो भएको हो । भारतीय पक्षले विगतका कमी कमजोरी सच्याएर अगाडि बढ्ने चाहना व्यक्त गरेपछि मोदीको भ्रमणको सम्भावना देखिएको हो । मोदीको भ्रमणबारे भारतीय पक्षले केही दिनमै औपचारिक जानकारी दिने बुझिएको छ ।

मोदी नेपाल आएमा पाचौं पटकको नेपाल भ्रमण हुनेछ । दोस्रो कार्यकालमा पहिलो हुनेछ । यसअघि उनी पहिलो कार्यकालमा दुईपटक राजकीय र सार्क शिखर सम्मेलन र बिमस्टेक शिखर सम्मेलन गरी चारपटक भ्रमण गरिसकेका छन् ।

२०७२ मा संविधान जारी हुँदा भारतले संविधानको स्वागत गरेको थिएन । उसले अझै पनि खुलेर स्वागत नगरेकाले मोदी संविधान दिवसमा आउनु भनेको यसको स्वागत गर्नु हो भन्ने सन्देश जान सक्छ । त्यसैले प्रधानमन्त्री ओलीले संविधान दिवसमा प्रमुख अतिथिका रुपमा भारतीय प्रधानमन्त्रीलाई निम्तो दिएका हुनसक्छन् ।

मोदी सबैलाई चकित पार्ने कदम चाल्छन् । उनले विगतमा पकिस्तानको भ्रमण अप्रत्याशित रुपमा गरेका थिए । घरेलु राजनीतिमा उनको शैली यस्तै छ । नोटबन्दी र काश्मिरबारे निर्णय लिंदा यस्तै गरे । नेपाल भ्रमणमा पनि उनको यस्तै निर्णय आउनलागेको हो ।



प्रतिक्रिया दिनुहोस्