Logo

प्रधानमन्त्री ओलीको स्वास्थ्योपचार सुरु



काठमाडौं, ७ भदौ । उपचारको लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले दिएको जानकारीअनुसार प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण र सोहीअनुसारको उपचार सुरु भएको छ । प्रधानमन्त्री ओली उनका निजी चिकित्सकको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा छन् ।

उनका निजी चिकित्सडक डा. दिलिप शर्माका अनुसार यसपटक प्रधानमन्त्रीको सिंगापुर बसाई ७ दिनदेखि १० दिनसम्मको हुनेछ । प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको छ । डा. शर्माका अनुसार एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री सिंगापुर गएका हुन्।

सिंगापुरमा रहँदा नेशनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौलाको थप परीक्षण सुरु भएको हो । अब मृगौलाको क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार पनि छिट्टै सुरु हुनेछ । प्रधानमन्त्री ओली सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्