Logo

“ऐनसेलमा व्यापक भ्रष्टाचार भएको जगजाहेर छ”



नेपाली काँग्रेसका नेता रामकृष्ण यादवले मन्त्रीका रुपमा समेत अनुभव हालि गरेका छन् । लेखा समितिको सभापति समेत बनिसकेका उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलाले गरेको कुराकानी:

तपाईं त लेखा समितिमा सभापतिको भूमिका काम गर्नुभयो, सर्वोच्च अदालतले एनसेलको निर्णयलाई कसरी लिनुहुन्छ ?
हामी लोकतान्त्रिक गणतन्त्रलाई विश्वास गरेका मान्छे । विधिको शासन मान्ने मान्छे त्यसैले सम्मानित अदालतले गरेको निर्णयलाई लिएर मेरो केही भन्नु छैन ।
यो निर्णयले देशलाई त घाटा भयो नि ?
देशलाई हुने घाटा र नाफा आफ्नो ठाउँमा होला तर सम्मानित अदालतले गरेको निर्णयलाई ठिक मान्नुपर्छ । जुन कुरा संविधानमै व्यवस्था गरेको छ । त्यसमा कानुनको व्याख्या, विश्लेषण गर्ने काम अदालतलाई जिम्मा दिएको संविधानले । मेरो व्यक्तिगत, पार्टीको धारणाहरु हुन्थ्यो होला पहिला । तर, जब कानुनी राज्यको विश्वास गर्ने पार्टीको कार्यकर्ता भएको नाताले सम्मानित अदालतले जे निर्णय गरेको त्यसलाई कुनै विमति राख्ने कुरै आउँदैन ।
यसले देशलाई करोडौंको घाटा भयो भन्ने जनगुनासो छ नि ?
एनसेलको विषयलाई लिएर पहिलो देखि नै जनतामा त्यो धारणा छँदैछ । एनसेलमा धेर्र भ्रष्टाचार, अनियमितता भएको सबै जनतालाई थाहा भएको कुरा हो । यो निर्णय हुनु पहिला एनसेलप्रति हाम्रो असमति थियो अब अदालतबाट निर्णय भइसक्यो त्यसमा केही भन्नुछैन । तर एनसेलको कारणले मुलुकलाई कति घाटा भएको भन्ने सबैलाई थाहा भएकै कुरा हो ।
हरेक ठाउँमा काण्डैकाण्ड एनसेल काण्ड पनि चोख्याउने काम भएको हो ?
यसमा सरकारको जिम्मेवारीको कुरा हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो सरकार हो यो । जनताकोबीच जुन खालको प्रतिबद्धता जनाएको थियो । जुन सरकार बाहिर हुदा त्यो सब सरकारमा गएपछि बिर्सिएको छ । अब हुँदाहुँदा प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक पनि विदेशबाटै गर्न थालिसक्नुभयो ।
यसले त प्रधानमन्त्री देश र जनताप्रति चिन्तित भएको देखिन्छ नि ?
लोकतान्त्रिक विधि र पद्धतिमा त्यो कति जायज हुन्छ जनताले मुख्याकन गरिहाल्छन् । कति चिन्तित हुनुहुन्छ भन्ने कुरा वाइडवडीका कुरा, बालुवाटार जग्गा प्रकरणबाटै छर्लङग भइसकेको छ । दिनप्रतिदिन विधेयक पनि विभिन्न रुप लिएर आइरहेको छ । भ्रष्टाचारले मुलुक आक्रन्त छ । अनियमितता जताततै छताछुल्ल छ । शान्तिसुरक्षाको स्थिति दिनप्रतिदिन खस्किँदै गएको छ । महंगी र भ्रष्टाचारले जनता प्रताडित भएका छन् । संवैधानिक अंगका प्रमुखहरुलाई पनि प्रधानमन्त्रीको निगरानीमा राख्ने प्रयास भइरहेको छ । करको दोहोरो मारमा जनता परेका छन् । करबाट उठाइएको पैसाको ब्यापक रुपमा दुरुपयोग भइरहेको छ । सुविधासम्पन्न महंगा हेलिकप्टर, हजाज दरिद गर्ने, अफिस सजावट गर्ने काममा खर्च गरिएको छ । सरकारका कारणले व्यापारीहरु भागाभागको अवस्थामा पुगेका छन् ।
यसमा त कांग्रेसले पनि मिलेर खाएको छ भनिन्छ नि ?
आपूm दोषि भएपछि अरुलाई दोषी देखिन्छ । नेपाली कांग्रेस जस्तो जिम्मेवार पार्टीलाई खाली विगतका कुरा लिएर दोष दिन मिल्दैन । विगतमा पनि नेपाली कांग्रेसले राम्रा काम गरेको छ । मुलुकलाई यहाँसम्म ल्याउन त नेपाली कांग्रेसको ठूलो हात । मुलुकको अर्थनीति, विकास निर्माणमा कुरामा कांग्रेस धेरै अगाडि छ । शान्तिसुरक्षादेखि लोकतन्त्रलाई बलियो बनाउने काम कांग्रेसको भूमिका महत्वपूर्ण छ । तर आजको अवस्था हेर्दा सर्वत्र चिन्ताको विषय बनेको छ । पटक–पटक विभिन्न काण्ड मच्चाएर यो सरकार लोकतन्त्रलाई भित्रभित्रै कमजोर बनाउँदैछ । संघीयलाई फेल बनाउने काममा सरकार लागिरहेको त्यसै मधेसवादी दलहरु पनि होमाहो मिलाइरहेका छन् ।
प्रतिपक्षको काम सरकार आलोचना मात्रै गर्ने हो ?
हो, अहिले सरकारमा रहेका पार्टीका मानिसहरु पनि त्यही भनिरहनुहुन्छ । नेपाली कांग्रेसले खाली विरोध मात्रै गर्छ । नेपाली कांग्रेस भनेको जिम्मेवार पार्टी हो । कांग्रेस देशामा शान्तिसुरक्षा, अमनचयन, विधिको शासन र जनताको स्वतन्त्रताको पक्षमा सधैं लडिरहने पार्टी हो । कांग्रेसकै अगुवाइमा २४० वर्षको राजतन्त्रको अन्त्य भएको हो । लोकतान्त्रिक संविधान निर्माण पनि कांग्रेसकै अगुवाइमा भएको हो । हाम्रो अगुवाइमा मूलुकमा ठूलो परिवर्तन भयो मुलुकमा । त्यसपछि हामीले भनेका थियौं सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्छ तर त्यो भएको छैन । जनताले भनिरहेका छन् यो सरकारले संघीयतालाई कार्यान्वयन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, शान्तिसुरक्षा कायम गर्ने काम गर्न सकेको छैन ।
अहिले आएको भूमी विधेयकमा तपाईको विमति छ ?
निर्णय हुनुअगाडि विमति थियो । म नेपाली नागरिक पनि भएको नाताले मेरो विमति थियो । अब त्यसमा सम्मानित अदालतबाट निर्णय नै भइसकेपछि मेरा व्यक्तिगत रुपमा टिप्पणी छैन ।
जमिनदारको हितमा छ कि जनताको हितमा छ भूमिविधेयक ?
हाम्रो दशका बहुसंख्यक जनता कृषिमा आधारित छन् त्यसैले भूमि विधेयक ल्याउँदा जनताको समस्या पनि बुझेर ल्याउनुपर्छ । भूमि विधेयक ल्याउँदा जमीनदारको हितमा नभएर आमजनताको हितमा हुनुपर्छ । कसैको व्यक्तिगत जग्गा छ भने त्यसलाई सरकारको मतहतमा ल्याउनु राम्र्रो होइन । उसको सम्पत्ति नै त्यही जग्गा हो । व्यक्तिगत सम्पत्तिमा सरकारले हनन् गर्नुहुँदैन । त्यस्तो भयो भने त्यो लोकतान्त्रिक विधिसुहाउँदो हुँदैन ।
विकासमा त नेपाली कांग्रेस पनि चुकेको छ नि ?
२०४६ साल अगाडि नेपाली जनताको अवस्था कस्तो थियो । २०४८ आमनिर्वाचनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले साढेतीन वर्षमा आमूल परिवर्तनका काम गरेको छ । प्रत्येक टोलटोल विद्यालयहरु स्थापना भए । मेडिकल कलेजहरु स्थापना भए । बाटो, बिजुली विस्तार भयो । वित्तीय संस्थाहरु च्याउसर उम्रने मौंका पाए । वैदेशिक रोजगारीको व्यवस्था गरिएयो जसको कारण गरीब, निमुखा जनताले विदेश गएर रोजगारी प्राप्त मौका पाए । मेनपावर कम्पनी, सहकारीको विकास, सञ्चारक्षेत्रको विकास सबै नेपाली कांग्रेसले गरेको हो । अहिले त्यसैको जगमा टेकेर सबैले व्यापार गरेका छन् । वैदेशिक रोजगारीको अवसरले देश र जनताको आर्थिक उन्नति भएको छ । ग्रामीण स्वावलम्बनका कारा होस् या अन्य अधिकारका कुरा हुन् ती सबै त कांग्रेसकै नेतृत्वका सरकारले ल्याएको हो । म भन्दिँन कि त्यो समयमा कमीकमजोरी भएको छैन । आफ्नै कमजोरीका कारणले पाँच वर्ष चल्ने सरकार साढे तीन वर्षमै भंग गर्नुपर्यो । तर जनताको अहितमा कुनै काम भएको छैन । जेजति भएको जनताको पक्षमै कामहरु भएका थिए त्यति बेला । त्यसकारण अहिले नेपाली जनताहरु पछुताइरहनु भएको नेपाली कांग्रेसलाई रुखचिन्हमा भोट नहालेर गल्ती गरियो भनेर । आउने निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउँछ त्यो जनताले दिन्छन् ।
नेपाली कांग्रेसका कार्यकर्ता नै पार्टी नेतृत्वप्रति असन्तुष्ट छन् नि ?
पार्टीभित्र आन्तरिक कुरामा केही कमीकमजोरी भएको होला । हाम्रा भ्रातृसंस्थाहरुको कुरा होला । पार्टी राम्रोसँग अगाडि बढाउन नसकेको विषयलाई लिएर । ती हाम्रा आन्तरिक पार्टीभित्रका भ्रातृ, सुभेच्छुक संस्थाभित्रका कुरा भए । तर जनतालाई अहित हुने कांग्रेसले कहिल्यै गरेको छैन । नेपाली कांग्रेस जनताको हितमा छ । संसद् र संसद् बाहिर कुरा उठाइरहेका छन् । देश संघीय संरचनामा गइसकेपछि पार्टीको संरचनालाई पनि त्यही ढाँचामा लानुपर्ने कुराहरु उठेका छन् । प्रजातान्त्रिक पार्टीभित्र केही असहमति, बहस, छलफल हुन्छन् त्यसलाई सामान्य रुपमा लिनुपर्छ । अहिलेको संघीय लोकतान्त्रिक व्यवस्थाको सरकारले जसरी अलोकतान्त्रिक क्रियाकलापहरु देखाएको छ । त्यो स्थानीय, प्रदेश र संघ तिनै तहमा एकलौटी जस्तो गरेको छ । जसको कारणले जनता रुष्टछन् त्यसलाई उजागर गरेर हामी जनतासमक्ष जान्छौं ।



प्रतिक्रिया दिनुहोस्