Logo

भरतपुरलाई वैकल्पिक आन्तरिक विमानस्थल बनाइने : मन्त्री भट्टराई



काठमाडौं, १२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भरतपुर विमानस्थललाई काठमाडौँ बाहिरको वैकल्पिक आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भरतपुर विमानस्थललाई रात्रिकालीन बनाउने, धावनमार्ग थप गर्ने, ट्रमिनल भवन आधुनिक र व्यावसायिक बनाउने जानकारी दिए ।

नेपालभरका विमानस्थलको स्तर वृद्धि गर्ने तयारी भएको भन्दै उनले काठमाडौँ उपत्यका नजिकै रहेको यो विमानस्थलको विस्तार छिटो गर्ने गरी काम अगाडि बढ्ने उल्लेख गरे । विमानस्थलको उत्तरतर्फ रहेको नेपाली सेनाको व्यारेक र घोडा प्रजनन् क्षेत्रले केही समस्या दिए पनि त्यसलाई केही दिनभित्रै समाधानको बाटोमा लैजाने गरी अगाडि बढेको उनको भनाइ थियो ।

उनले भने,“अबको १० दिनभित्रमा नेपाली सेनाको प्रमुख, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, जिल्लाका सरोकारवालाबीच संयुक्त बैठक बसेर यो समस्या समाधान गर्नेछौँ ।” नेपाली सेनालाई उचित स्थानमा स्थानान्तरण गरी विमानस्थलको धावनमार्ग विस्तारको काम हुने उनको भनाइ थियो । विमानस्थलमा ठूला जहाज ल्याउनका लागि पहिलो चरणमा विमानस्थल विस्तारलाई जोड दिइने मन्त्री भट्टराईले बताए ।

भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुने बताउँदै उनले विमानस्थलको स्तरोन्नति गरिने बताए । भ्रमण वर्ष सफल पार्न गर्नुपर्ने पूर्वाधार निर्माण, विदेशमा प्रचारप्रसार जस्ता काम भइरहेको उनले जानकारी दिए ।

अर्काे प्रसङ्गमा मन्त्री भट्टराईले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई भाडादरमा ५० प्रतिशत छुट दिने विषयमा निजी विमान कम्पनीले आनाकानी गर्न नहुने बताए । उनले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु राज्य र निजी क्षेत्र सबैको दायित्व भएकामा जोड दिए । रासस



प्रतिक्रिया दिनुहोस्