Logo

मन्त्री अधिकारीको निधन भएको सात महिना भइसक्दा सल्लाहकारका रुपमा गौतमको रजाईँ



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लक्ष्मण गौतमको रजाईँ अझै चलिरहेको छ । तत्कालिन मन्त्री रवीन्द्र अधिकारीले आफ्नो सल्लाहकारका रुपमा गौतमलाई नियुक्त गरेका थिए । तर, मन्त्री अधिकारीको निधन भएको सात महिना भइसक्दा पनि सोही पदमा सेवा सुविधा लिइरहेका छन् ।

मन्त्री अधिकारीको निधनसँगै उनले आफ्ना लागि नियुक्त गरेका सल्लाहकारको पद स्वतः जानुपर्ने हो । तर, गौतमले तलब, भत्ता, गाडी र चालकसहितको सुविधा लिइरहेका छन् । उनी दिवंगत मन्त्री अधिकारीको सल्लाहकार भएजस्तै वर्तमान मन्त्री योगेश भट्टराईको पनि सल्लाहकार हुँ भनी हिंड्छन् । कुनैपनि जिम्मेवारी नपाएका उनले तलब, भत्ता, सेवा र सुविधा मात्र प्रयोग गर्छन् । उनका लागि मात्र पर्यटन बोर्डले गाडी र चालक गरी मासिक ७० हजार रुपैयाँ छुट्याउँदै आएको छ । गाडी र चालक पाउनका लािग उनलाई पर्यटन बोर्डको वरिष्ठ प्रबन्धक पद देखाइएको छ । सोही पदमा दुई दर्जनजति बोर्डमा रहेपनि कसैलाई गाडी दिइएको छैन ।

२०७५ वैशाख २१ म नियुक्ति भएका उनले डेढ वर्षयता विशेषज्ञ भन्दै लाभ लिइरहेका छन् । रिपोर्टर्स नेपाललाई प्राप्त उनको नियुक्ति पत्रको प्रतिलिपिमा पर्यटन क्षेत्रको नीति तथा योजना कार्यान्वयन, पर्यटनको, कुटनीतिक नियोगहरुसँग सहकार्य, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरुसँग साझेदार विस्तारका लागि सल्लाहकारका रुपमा नियुक्ति दिएको उल्लेख छ ।

उनको पर्यटन क्षेत्रमा खासै अनुभव र योग्यता देखिदैन । उनले नियुक्तिका लागि पेश गरेको अनुभव पत्रमा कञ्चन ट्राभल्स एण्ड टुर्स प्रा.लि.मा काम गरेको उल्लेख छ । जसमा नारायणप्रसाद बास्ताकोटी प्रबन्ध निर्देशक भएको देखिन्छ । उनले त्यहाँ काम गरेको भनी झुक्याएर अनुभव पत्र लेखेको भेटिएको छ ।

पर्यटन बोर्डबाट गाडी लिन उनले मन्त्रालयबाट पत्र समेत तयार गर्न लगाएका थिए । पत्र तयार गरेर गाडी लिन दबाब समेत दिन लगाएका थिए । पर्यटन बोर्डमा हाजिर गरेर मन्त्रालयभन्दा बाहिर हिंड्ने गर्दै आएका थिए । गौतमलाई गाडी लिने र दिने गरेर अख्तियारको दुरुपयोग भएको छ । फर्जी विवरण पेश गरेर पर्यटन क्षेत्रमा सरकारी नियुक्ति पाएका उनका कारण पर्यटन क्षेत्र र बोर्डलाई समेत टाउको दुखाई भइरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्