Logo

सरकारका प्रवक्ता बास्कोटाले ढाँटे



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुर उपचारका लागि जानुअघि मन्त्रिपरिषद्को बैठक भिडियो कन्फेरेन्सबाट गर्ने निर्णय गराए । उनले सिंगापुरबाट भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद्को बैठक राखे । बैठकको तस्वीर सार्वजनिक भयो । त्यसको सत्तापक्ष र विपक्ष दुवैबाट आलोचना भयो ।

भिडियो कन्फेरेन्सलाई प्रविधिको उच्चतम प्रयोग भनी ओली निकटस्थले बचाऊ गरे । तर, मन्त्रिपरिषद् बैठक नै नबसेको दाबी सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले गरे । उनले प्रतिनिधिसभा बैठकमा सभामुखसँग विशेष समय मागेर भने, जे कुरा हुँदै भएको छैन, त्यसमा भ्रममा पर्न आवश्यक छैन । त्यो मन्त्रिपरिषद बैठक होइन ।

सरकारका प्रवक्ता बास्कोटाले मन्त्रिपरिषद बैठक नभएको दाबी गरिरहँदा भिडियो कनफेरेन्समा सरकारका मन्त्रीहरु सामूहिक रुपमा बसेर भिडियोमा प्रधानमन्त्रीतर्फ हेरिरहेको दृश्य बाहिर आयो । तस्वीर प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिजालले बाहिर सार्वजनिक गरेका थिए । त्यो दृश्य देखेपछि क्याबिनेट बैठक भिडियो कन्फेरेन्समार्फत् गर्दा देशको गोपनीयता भंग हुने भन्दै आलोचना भयो । कानुनी प्रश्न देखि गोपनीयताको विषय समेत उठेपछि सरकारका प्रवक्ताले भिडियो कनफेरेन्सबाट क्याबिनेट नै नबसेको दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओली स्वास्थ्योपचारका लागि सिंगापुरमा रहँदा अनेकन आशंकाहरु बढिरहेका छन् । उनले भिडियो कन्फेरेन्सबाट क्याबिनेट बैठक राखेपछि आलोचनाहरु उत्तिकै बढेका छन् ।



प्रतिक्रिया दिनुहोस्