Logo

राष्ट्रिय धुनलाई अस्त्र बनाएर धार्मिक परम्परामाथि नियोजित आक्रमणको आरोप



काठमाडौं । पशुपतिनाथमा साँझको आरतीमा राष्ट्रिय धुन बजाउनुपर्ने निर्देशनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई विवादमा परेका छन् । विश्वभरका हिन्दुहरुको पवित्र तीर्थस्थल पशुपतिनाथमा आदिकाल देखि चल्दै आएको आरतीमा राष्ट्रियधुनलाई अस्त्र बनाएर आक्रमण गर्न खोजिएको भन्दै विरोध भएको छ ।

१३ भदौबाट पशुपतिनाथको आरती राष्ट्रिय धुनबाट शुरुवात गर्न लगाइएको छ । लगत्तै धार्मिक संघसंस्थाहरु यसबारे गम्भीर छलफलमा जुटेका छन् । उनीहरुले आफ्नो धारणा बनाउन थालेका छन् । कतिपयले राष्ट्रिय धुनलाई अस्त्र बनाएर धर्म, संस्कृति र वैदिक परम्परामाथि सुनियोजित आक्रमण गर्न खोजिएको बताएका छन् ।

विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले राष्ट्रियधुन जस्तो पवित्र विषयलाई सनातन संस्कृतिमाथिको आक्रमणको अस्त्र बनाइएकोले गम्भीर भएको बताए । उनले भने, ‘सनातन संस्कृतिलाई खुम्च्याउने र सिध्याउने खेलमा राष्ट्रियधुनको प्रयोग गरिदैछ ।] हिन्दु धर्मालम्बीलाई अराष्ट्रिय देखाउने रणनीतिका साथ चालिएको कदमको भण्डाफोर गर्ने चेतावनी समेत दिए । उनले भने, ‘परम्परा र संस्कृति मेटदै जाने चलखेल भइरहेको छ ।’

मिसन एकता नेपालको राष्ट्रिय संयोजक खेम आचार्य राष्ट्रिय धुन राष्ट्रियताका दृष्टिले सकारात्मक रहेपनि धार्मिक र परम्पराका दृष्टिले उचित नभएको बताउँछन् । उनी आशंका व्यक्त गर्दै भन्छन्, ‘स्वतन्त्र र हिन्दुहरुको आस्थाको केन्द्र भएको तीर्थस्थललाई संकुचित गराउन त खोजिएको होइन ?’ भारतमा रहेका हिन्दु धार्मिक तीर्थस्थलको आरतीमा त्यहाँको राष्ट्रिय धुन बजाउने नगरिएको बताउँछन् ।

आचार्यले धर्म नीरपेक्ष भन्दै हिन्दु धर्मका वैदिक परम्परामाथि सुनियोजित रुपमा आक्रमण भइरहेको बताए । उने भने, ‘मस्जिद र चर्चका गतिविधिमा केही नगर्नेहरु हिन्दुको परम्परा माँस्न लागिपरे ।’

विश्वका एक अरबभन्दा बढी मानिसहरु हिन्दु धर्म मान्दछन् । उनीहरुको राष्ट्र र राष्ट्रियता फरक छ । त्यसमा पनि पशुपतिनाथ हिन्दुहरुका लागि विशेष पवित्र तीर्थस्थल हो । पशुपतिनाथको आरतीमा नेपालको राष्ट्रिय धुन सर्वप्रथम राखिदा अरु देशका हिन्दु धर्मालम्बीको मन चसक्क हुनेतर्फ सचेत हुनुपर्ने बताउँछन् डा. अधिकारी । उनी भन्छन्, ‘भारतको हिन्दु तीर्थस्थलमा त्यहाँको राष्ट्रिय धुन बजायो भने हाम्रो मन बिझाउँँदैन ?’

विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले राष्ट्रिय गानलाई वैदिक परम्परामाथि आक्रमणको अस्त्र बनाइएको आरोप लगाए । उनले भने, आरती अगाडि राष्ट्रिय गान राखियो भन्ने सुन्दा राम्रो लाग्छ, तर यसमा धर्म संस्कृतिमाथि ठाडो आक्रमण गर्ने रणनीति लुकेको छ । वैदिक परम्परामा कुनै खलल पुग्न नहुने भन्दै राष्ट्रिय धुनको आफ्नै स्थान र महत्व घटाउने क्रियाकलाप सह्य हुननसक्ने बताए ।

पशुपतिनाथमा विगतमा पनि नेपाली भट्ट राख्ने प्रयास विवादमा परेको थियो । त्यतिबेला कम्युनिष्ट सरकार नै थियो । निकै विवादमा परेको यो घटना र अहिले कम्युनिष्ट सरकारका पालामा आरती भन्दा अगाडि धुन राख्ने निर्देशन मिल्दोजुल्दो देखिएको छ । विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारी कम्युनिष्ट सरकारका पालामा चालिएको पछिल्लो कदमले गम्भीर शंका उत्पन्न गरेको बताउँछन् । उनी भन्छन्, ‘कम्युनिष्टहरु धर्म विरोधी हुन्, उनीहरुलाई धर्म, संस्कृतिमाथि खेलवाड गर्ने कुनै अधिकार छैन ।’ उनले पशुपतिनाथको वैदिक परम्परालाई प्रभावित पार्न खोज्नुले गम्भीर परिणती उत्पन्न हुने चेतावनी दिए । उनले भने, ‘राष्ट्रिय धुन वैदिक परम्परामा घुसाएर सनातन संस्कृतिमाथि आक्रमण हुनु राष्ट्र राष्ट्रियतामाथि सुनियोजित आक्रमण हो ।’

यसैगरी सामाजिक सञ्जालमा डा. बिनोद आचार्यले मसजिदमा अजान दिनुभन्दा अगाडि या चर्चमा प्रार्थना गर्नुभन्दा अगाडि राष्ट्रिय धुन बजाएर देखाउन चुनौती दिएका छन् । सँसारभर परापूर्वकाल देखि चल्दै आएको धार्मिक संस्कारमा राष्ट्रिय धुन बजाउने प्रचलन छैन । मन्त्री भट्टराईले लोकप्रीय हुन यो निर्देशन दिएपछि धार्मिक संस्कार बिगार्न खोजिएको आरोप समेत लाग्न थालेको छ ।

यसैगरी, पशुपति क्षेत्र विकास कोषले नभई वागमती नीति आरती परिवारले गर्दै आएको आरती कोषलाई चलाउन लगाउने प्रयास भएको छ । आरती कोषको मातहतमा ल्याउन अनेकन चलखेल भइरहेको बताउँन् खेम आचार्य । यसमा ठूलो पैसाको खेल रहेको बताउँछन् युवा हिन्दु संघका अध्यक्ष सागर थापा । आर्थिक चलखेल र धर्ममाथि नियोजित आक्रमणको उद्देश्यले गतिविधिहरु भइरहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्