Logo

जसलाई आफ्नै भाञ्जाले गोली ठोकेर मारे



माथवरसिंह थापामा अङ्ग्रेज चालचलनको प्रभाव थियो । भेटमा हात मिलाउने, घोडा चढेर युद्ध गर्ने, कुकुर पाल्ने, दाह्री पाल्ने, घरमा र कार्यालयमा कुर्ची र तखताको प्रयोग गर्ने, राति सुत्ने बेलामा हल्का कपडा लगाउने, नमस्कारको सट्टा एक हात हल्लाउने, सैन्यशक्ति बढाउने, आफ्ना समर्थकहरूलाई बढ्ता महत्व दिने गर्दथे ।

तर, उनी अङ्ग्रेजी अलिअलि बुझे पनि बोल्न र लेख्न भने जान्दैनथे । ‘फलामले फलाम काट्छ’ भनेझै अङ्ग्रेजी ढाँचाको सैन्यसङ्गठनले अङ्ग्रेजलाई तर्साउन धेरै सजिलो पर्छ भन्ने उनलाई जनरल भीमसेन थापाले सिकाएका थिए । भीमसेन थापालाई माथवरसिंह थापा नमुनायोग्य व्यक्ति मान्दथे र उनकै नीतिअनुरूप राजकाजमा हात बलियो पार्ने काम गर्र्दै आएका थिए ।

अङ्ग्रेजहरूलाई पनि माथवरसिंह थापाले प्रभाव पारेका थिए । उनी भारतमा बसेका भए अङ्ग्रेजहरूले महिनाको हजार दिएर दश हजार सिपाहीको नेतृत्व दिने कुरा थियो । अंग्राजहरु उनको क्षमताबाट प्रभावित थिए ।

उनी कूटनीतिमा पनि दक्ष रहेको कुरा भीमसेन थापा जेलमा पर्दा आफू पनि पक्रियपछि तराईमा सेतो हात्ती पसेको हल्ला चलाई खर्चबर्चसहित मुग्लान पसेको कुराबाट चाल पाइन्छ । यद्यपि उनी कायर षड्यन्त्रमुलक कूटनीतिभन्दा हाकाहाकी काम गर्न रूचाउँथे । नेपालमा फर्केपछि उनलाई पद, मान, शक्ति र शारीरिक शक्तिसँग अभिमान बढ्न थाल्यो । उनले कमजोरलाई गन्नै छोडे, आफ्नो कुराबाहेक अरूको कुरा पनि खान छोडे । एक किसिमले उनी मातेको हात्तीझैँ भए । उनीभन्दा माथि नेपालमा कोही नभएझैँ ठान्न थाले ।

राजा, रानी, भारदारका सल्लाहले जङ्गबहादुर र गगनसिंहले पर्दापछाडि लुकेर प्रधानमन्त्रीलाई हनुमानढोका राजदरबारमा गोली हान्ने षड्यन्त्र भयो । जङ्गबहादुर उनकै भाञ्जा थिए । तदनुसार वि.सं. १९०२ जेठ २ गते (१७ मे १८४५) राति ११ बजे ‘महारानीलई पेटमा शूल उठी बेहोस भएर घाट लानुपर्ने भएकोले तुरून्त दरबार जाऔँ’ भनी कुलमानसिंह बस्न्यात बोलाउन गए । सोझा माथवरसिंह आडपहरिया पनि नलई दरबारमा एक्लै राति गए ।

रानीको कोठामा जानै लाग्दा दाहिने कोखाको पर्दापछिबाट ३ गोली चलेर कञ्चट, कोखा र काँधमा लाग्यो माथबरसिंह थापालाई पक्का मर्ने भएँ भन्ने ठानी दुई हात जोडी राजारानीसामु पुग्दा राजाले मुखमा थुके भने पछाडिबाट तरबारले रोपी पेटै छेड्यो, राजाको खुकुरीले एक आठपहरियाले । अनि त बाँच्ने कुरै भएन, माथवरसिंह थापाका हात काटिए, लडे अनि उनको लासलाई च्यादरमा लपेटी झ्यालबाट चोकमा खसालियो । राति नै उनको लास जलाइयो जुन कुरा देख्नेसुन्नेलाई बाहेक अरूलाई थाहै भएन । त्यसैले ‘दरबार कि तरबार’ भनेको हो ।

प्रतिक्रिया दिनुहोस्