Logo

दुई तिहाई ल्याएर नेपाललाई ‘हिन्दु राष्ट्र’ बनाउने रणनीति



रिपोर्टर्स नेपाल विशेष । देशमा हिन्दु धर्मको एजेन्डा बलियोसँग स्थापित हुँदै गएको छ । चीयागफ र धार्मिक संघसंस्थामा सिमित यो एजेन्डा अब जिम्मेवार राजनीतिक दलहरुभित्र स्थापित हुन खोज्दैछ । यसले नेपाली राजनीतिलाई नयाँ मोडमा पुर्याउने निश्चित भएको छ ।

नेपाली काँग्रेसभित्र हिन्दु राष्ट्रको एजेन्डा बलियो बन्दै गएको छ । यही एजेन्डाबाट पार्टीले आगामी चुनाव लड्नुपर्ने आवाज केन्द्रीय कार्यसमितिमा उठेको छ । सभापति शेरबहादुर देउवा यसबारे मौन भएपनि पर्ख र हेरको रणनीतिमा छन् । महामन्त्री डा.सशांक कोइराला हिन्दु राष्ट्रको एजेन्डा बोकेर जानुपर्ने पक्षमा छन् । काँग्रेसभित्र महासमितिमा बहुमत संख्या हिन्दु राष्ट्रको पक्षमा रहेको विगतको हस्ताक्षर अभियानले पुष्टि गरिसकेको छ । यसको मतलब काँग्रेसले आगामी चुनावमा हिन्दु राष्ट्रको एजेन्डा बोक्ने बलियो सम्भावना देखिएको छ । यही एजेन्डा लिएर चुनावमा गएमा ८० प्रतिशतभन्दा बढी हिन्दु र ९० प्रतिशतभन्दा बढी ओमकार परिवारका जनताको मत आउनसक्ने विषय काँग्रेसभित्र उठेको छ । काँग्रेसले धर्मको एजेन्डा उठाएमा व्यापक समर्थन मिल्ने सम्भावना उत्तिकै बलियो छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र उसबाट अलग भएका केही दलहरुले हिन्दु राष्ट्रलाई राजनीतिक एजेन्डा बनाउँदै आएकोमा जनताले उनीहरुप्रति खासै विश्वास गरेनन् । कमल थापाले पहिलो संविधानसभा चुनावमा हिन्दु राष्ट्रको एजेन्डा अगाडि सारेर समानुपातिकतर्फ राम्रो मत ल्याउन सके । तर, दोस्रो संविधानसभा चुनावमा उनले ठूलो धक्का खाए । समानुपातिकमा सून्य राप्रपाले झापाबाट राजेन्द्र लिङ्देनलाई जिताउन सकेर बीऊ मात्र जोगियो । कतिपयले हिन्दु राष्ट्रको एजेन्डालाई जनताले नरुचाएको तर्क गरे । वास्तवमा एजेन्डामा धोका दिएको भन्दै कमल थापाको दललाई जनताले विश्वास नगरेकामात्र थिए ।

काँग्रेसले हिन्दु राष्ट्रको एजेन्डा उठाउने सम्भावना बढेसँगै कम्युनिष्टहरु शतर्क भइसकेका छन् । उनीहरुले सम्भावित चुनौतीको सामना गर्न रणनीति बनाइसकेका छन् । हिन्दु धर्ममा लगेर राष्ट्रियता घुसाउन थालिसकेका छन् । यसको उदाहरण हो पशुपतिनाथको साँझको आरतीमा राष्ट्रिय धुन बजाउने शुरुवात । सत्तारुढ नेकपाका नेता समेत रहेका संस्कृतिमन्त्री योगेश भट्टराईले यसमा बठ्याई गरेका छन् । सँसारमा कुनैपनि धार्मिक अनुष्ठानमा राष्ट्रिय गान, धुन या झण्डा राखिदैन । धर्मको विषयलाई बरु राष्ट्रिय विषयसँग जोडिन्छ । उदाहरणका लागि मुस्लिम देशहरुले हरियो झण्डा अनिवार्य राखेका छन् तर मस्जिदमा आफ्नो देशको झण्डा र धुन राखेका छैनन् । भारतमा पनि कुनैपनि धार्मिक कार्यक्रममा त्यहाँको गाना र झण्डा राखिएको छैन । हिन्दु धर्मका संघसंस्थालाई यसको विरोध गरिहाल्न कठिन भएको छ । विरोध गर्दा धार्मिक संघसंस्थामाथि राष्ट्रियताविरोधी हुन् भन्ने सन्देश जानसक्छ । हिन्दु एजेन्डालाई राजनीतिमा हावी हुन नदिन यस्ता रणनीतिहरु देखिदै जानसक्छन् । किनभने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले बुझेका छन् कि हिन्दुको एजेन्डा बोकेर काँग्रेस अगाडि बढ्यो भने उसका लागि कठिन चुनौती बन्नसक्छ ।

हिन्दुको मत एकै ठाउँमा झर्दा भारतमा भारतीय जनता पार्टीले सानदार जीत निकालेको देखियो । नेपालमा गैरहिन्दुहरुको सक्रियताले हिन्दुहरु सतर्क भएको अवस्था बन्दैछ । यसले पनि हिन्दुहरु विस्तारै एकजुट भइरहेको घटनाक्रमले देखिदैछ । हिन्दु धर्मका संघसंस्था पनि एक हुँदै गएका छन् । यसले राजनीतिमा धर्मको एजेन्डा बलियो हुनसक्ने छाँटकाँट देखिदैछ । यो नेपाली राजनीतिलाई नयाँ दिशा दिने घटना बन्नसक्छ । हिन्दु राष्ट्र पुर्नस्थापित गर्न सजिलो छैन तर असम्भव होइन भन्ने निष्कर्ष नेपाली काँग्रेसभित्रको हिन्दु राष्ट्रका पक्षधरहरुले देखिसकेका छन् । तर, काँग्रेसको राजनीतिक एजेन्डा नै हिन्दु राष्ट्र बनाउन उत्तिकै कठिन छ । जब काँग्रेसले राजनीतिक एजेन्डा बनाउँछ तब यसको सम्भावना बलियो हुन्छ । उसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय दबाबले हिन्दु राष्ट्रको एजेन्डा उठाउन कठिन भएपनि जर्बजस्त उठिरहेको यो एजेन्डालाई बेवास्ता गर्न नसक्ने अवस्थामा छ काँग्रेस । त्यो चुनौतीको सामना गर्न सक्यो भने दुई तिहाईको सम्भावना उत्तिकै बलियो छ । काँग्रेसले त्यो जोखिम उठाउला नउठाउला ? तर, कम्युनिष्टहरुसँग आगामी चुनावी प्रतिष्पर्धा गर्न उसका लागि यो भन्दा उत्तम एजेन्डा अरु नभएको निष्कर्ष काँग्रेसभित्रै उठिरहेको छ । जसको नेतृत्व सशांक कोइराला देखि शंकर भण्डारीसम्मका संगठनमा पकड भएका नेताहरुले गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot