Logo

लोकसेवा अध्यक्षको तलब तोकियो



loksewa logo

काठमाडौं । प्रदेश नं ५ लोकसेवा आयोगको अध्यक्ष नियुक्त भएको झण्डै एक महीनापछि अध्यक्षको पारिश्रमिक र सेवा सुबिधाको व्यवस्था गरिएको छ ।

आयोगका अध्यक्षको पारिश्रमिक, सेवा, शर्त र सुविधा निर्धारणसम्बन्धी ब्यवस्था गर्न कानून नै निर्माण गर्नुपर्ने भए पनि प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले तत्काललाई राजपत्रमा सूचना प्रकाशित गरी व्यवस्था गर्ने निर्णय गरेको भएको हो ।

सरकारको निर्णयसँगै आयोगका अध्यक्षले नेपाल सरकारको विशिष्ठ श्रेणि स्तरको सेवा सुविधा पाउने व्यवस्था गरिएको छ ।

आयोग अध्यक्षले मासिक ६४ हजार ४२० रुपैयाँ पारिश्रमिक, रु एक हजार विशेष भत्ता, आवाश सुविधा रु १७ हजार ९५०, विद्युत्, पानी, टेलिफोन मासिक एक हजार ५००, सवारी इन्धन मासिक ८० लिटर डिजेल, पाँच लिटर मोविल, पोसाक भत्ता वार्षिक रु १० हजार लगायतको व्यवस्था गरिएको छ ।

बैठकले प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका लागि शर्त सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

यो कानून निर्माणपछि मात्र प्रदेश सरकारले लोकसेवा आयोगमार्फत कर्मचारी दरबन्दी स्वीकृत गरी आवश्यक कर्मचारी भर्नाका लागि बाटो खुल्ने छ ।

यस्तै बैठकले प्रदेश मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन २०७५ को अनुसूची हेरफेर गरी पारिश्रमिक वृद्धि गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

प्रदेशमा मुख्य न्यायाधिवक्ताको अब मासिक पारिश्रमिक विशिष्ठ श्रेणी सरह रहने गरी मासिक रु ६४ हजार ४२० पाउने व्यवस्था गरिएको छ । बैठकले प्रदेश सरकारले प्रदान गर्ने प्रदेश बिभूषण सिफारिस गर्न एक समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्