Logo

कोमल ओली पोइल नजाने, भनिन्,’मरिहत्ते गर्ने धेरै आएपनि विवाह गरिनँ’



लोकप्रीय गायिका कोमल ओलीले ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि तीज विशेष कुराकानी गरेकी छिन् । आफ्नो जीवनमा विवाहका लागि धेरै पुरुषले मरिहत्ते गरेपनि आफूले नगरेको बताउने उनले तीजमा ब्रत बसेपनि निराहार नबस्न भनिन् । उनीसँगको कुराकानीः

यतिबेला दाङमा हुनुहुन्छ ?
हो म दाङमा छु ।
तीजको उपलक्ष्यमा दाङबाट के सन्देश दिनुहुन्छ नेपाली महिलाहरुलाई ?
सर्वप्रथम त देश विदेशमा रहनुहुने आमा, दिदी बहिनीहरुलाई नेपाली नारीहरुको महान पर्व तीजको उपलक्ष्यमा हार्दिक शुभकामना दिन चाहन्छु । आज ब्रत बस्नुहुन्छ होला । बिरामी हुनुहुन्छ भने निराहार नबस्नुहोला । ब्रत बसेर मात्रै भगवान खुशी हुने होइनन् । आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला भन्न चाहन्छु । त्यसैगँग एक लाइन तीजको गीत पनि गाउन चाहन्छु ।
‘‘माया लाग्छ बहिनीको अतिनै,
आफनै पराणन जतिनै,
छड्के तिलहरी,
घिनघिनाघिन मादलु
नाच्देउ बहिनी मायालु
आहै लरीबरी’ ।
तीजको मात्रै कति गीत गाउँनुभयो ?
मैले तीजका मात्रै तीन दर्जन गीत गाइसकँे ।

तपाईं गायन क्षेत्रमा कहिलेदेखि आउनुभयो ?
२०५० सालदेखि ।

तपाईंको सबैभन्दा राम्रो गीत ?
मैले गाएका तीज गीतमध्ये मलाई राम्रो लागेको । एकलाइन गाउँछु ।
मत नाच्दिँन केरे, मेरो म्यारी मायाले नहेरे,
यो तीजमा सुनको चुरा किनेकै छ साथी ।
लगाएर ज्यानमायालाई देखाउन बाँकी ।।
हो, हो यो तीजमा सुनाको चुरा किनेकै छ साथी,
लगाएर ज्यानमायालाई देखाउन बाँकी ।।।
मत नाच्दिँन केरे, मेरो म्यारी मायाले नहेरे,
तपाईंलाई मायाले हेर्नेहरु पनि धेरै छन् ।
अहिले देशको लागि काम गर्दै छु । त्यसैले सम्पूर्ण देशवासी जनताले मायाले हेर्नुहुन्छ ।

तपाईंको जीवन माया गर्नेहरु धेरै आए तर विवाह गर्ने त आएनन् नि ?
विवाह गर्ने पनि धेरै आएका थिए । तर, मैले नै विवाह नगरेको हो ।

अब बिहेको कुरा टरेको हो ?
विवाह गर्ने फुर्सद पहिला पनि पाइएन अहिले पनि छैन । जीवनमा विवाह गरेर मात्रै सफल भइन्छ भन्ने पनि होइन । त्यसैले विवाह टरेकै भन्नुपर्छ । अब मेरो हृदयमा देशको सेवा भाव आएको छ ।

विवाह टर्यो भन्नुभयो ‘पोइल जान पा’म’ भन्ने गीत गाउनुसन ?
हिजोको तुलनामा हामी छोरी चेलीहरु पनि प्रगतिमा धेरै अगाडि आइसकेका छौं । नेपाली दिदी बहिनीहरु धेरै शिक्षित भइसक्नुभएको छ । जति पनि गाउँघरमा हुनुहुन्छ उहाँहरुलाई पनि आफ्नो जीवनको निर्णय गर्न सक्ने हुनहोस् । सक्षम हुनको लागि शिक्षा, स्वास्थ्यमा ध्यान दिनुहोस् । अधिकारको लागि सधैं सजग रहनुहोस् भन्दै यो गीत सुनाउन चाहन्छु ।
‘तीजैमा ब्रत बसेँ, पूजा गरेँ भगवान्,
आश गर्छु अब त बनोस् मेरो काम,
सधैंंभरी माइती घरमा बस्ने मलाई मन छैन,
अहिलेकै सालमा पोइल जानपा’म,
पोइल जान पा’म शिव पोइल जानपा’म
पोइ पाइयोस् भनेर जप्छु तिम्रै नाम
अहिलेकै सालमा पोइल जान पा’म, पा’म, पा’म, ।

तीज नेपाली नारीहरुको लागि खुशीको क्षण हो ?
अवश्य पनि तीज नेपाली नारीहरुको लागि महान चाड हो । हिजो हामी अधिकारीको लागि आन्दोलनमा थियौं भने आज अधिकारीको साथसाथै जिम्मेवारी बोध गर्ने स्थानमा पुगिसकेका छौं । अब जिम्मेवारी बहन गर्न सक्षम छौं भनेर विश्वब्यापी रुपमा महिलाहरु अगाडि आइरेका छन् । त्यसकारण यो तीजको ठूलो महत्व छ । हिजो महिलाहरुले राजनीतिक, सामाजिक, आर्थिक परिवर्तका लागि तीज पर्वलाई प्रयोग गर्ने गरेका थिए । आज महिला सशक्तिकरणका लागि छोरी, चेलीहरुले तीजलाई प्रयोग गरिरहेको अवस्था छ । त्यसैले जसरी समाज रुपान्तरित भयो, महिलाहरु पनि आफ्नो अधिकार र समाजको लागि रुपान्तरित भएका छन् । उनीहरुमा हिजोको जस्तो अवस्था छैन । अब तीज पनि विश्वव्यापीकरण भएको छ । आपसी सद्भाव कायम गर्ने, पारिवारिक उन्नति प्रगति चाहनेलगायतका हरेक दृष्टिकोणबाट तीजको बढो महत्व गरीमा रहेको छ ।

नेपालीहरुको मन छुने एउटा गीत गाइदिनुस् न ?
‘सात भाइ छोरा भए पनि एउटै घरमा अटाउने,
एउटी छोरी भए पनि डाँडै कटाउने’,
‘हामी पनि सक्छौं बाबा इन्जिनियर पढन,
हामीलाई पनि मन छ बाबा अघि बढन, ।
यो तीज नारी सशक्तिकरणको कोसेंढुंगा सावित होस् । सबै छोरीचेलीहरु सिंहमा नपरुन् । यसको लागि शिक्षामा जोड दिन आग्रह गर्दछु ।



प्रतिक्रिया दिनुहोस्