Logo

संघीय संसदले खरिद गरेको गाडीमा कमजोरी देखियो



काठमाडौं, १७ भदौ । संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानवीन समितिले सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको स्पष्ट पारेको छ । संसदीय समितिका सभापतिहरुले चढ्ने गरेको गाडीमा समस्या आएपछि अध्ययन गर्न गठित छानवीन समितिले आज (मंगलबार) प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई प्रतिवेदन बुझाएको हो ।

सभामुख महरालाई बुझाईएको प्रतिवेदनमा संघीय संसदले खरिद गरेको ११ वटा गाडीमा सामान्य प्राविधिक कमजोरी पाइएको उल्लेख गरिएको छ । सामान्य प्राविधिक त्रुटि भेटिएका गाडी एक हप्ता भित्र मर्मत गरी संसद सचिवालयमा बुझाउन र कामै नलाग्ने अवस्थामा रहेका ३ वटा गाडी आपूर्तिकर्तालाई नै तत्काल फिर्ता गराउन पनि संसद सचिवालयलाई निर्देशन दिइएको सो छानवीन समितिका संयोजक रामनारायण बिडारीले पत्रकार ऋषि धमलालाई जानकारी दिए।

छानवीन समितिको सो प्रतिवेदन ग्रहण गर्दै सभामुख महराले त्यसको अध्ययन गरी कार्यान्वयनमा लैजाने विश्वास दिलाएका हुन्। संघीय संसद सचिवालयले संसदीय समितिका सभापतिहरुको प्रयोजनको लागि खरिद गरिएका गाडीमा समस्या आएपछि छानवीनका लागि सांसद बिडारी संयोजक तथा सांसदहरु तारादेवी भट्ट, कृष्णभक्त पोखरेल, भरतकुमार शाह र कृष्णप्रसाद दाहाल सदस्य रहेको छानवीन समिति गठन गरेको थियो। छानवीन समितिले सभामुख महरालाई बुझाएको प्रतिवेदनमा सो गाडी खरिद प्रक्रिया भने कानुनसम्मत रहेको उल्लेख गरिएको छ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्