Logo

ओली र प्रचण्डको सम्पत्ति छानविन गर्नुपर्छ : डा. लोहोनी (भिडियोसहित)



काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले नेकपाको सरकारले कुनै पनि हालतमा विकास र समृद्धि हासिल गर्न नसक्ने ठोकुवा गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै लोहोनीले सरकारले नै भ्रष्टाचारीलाई संरक्षण गरेको जिकिर गर्दै विकास गर्न नसक्ने बताएका हुन् ।

सत्तारुढ दल नेकपाले नै देश विगारेको आरोप लगाउँदै उनले केपी ओली नेतृत्वको सरकारलाई नालायक भनेका छन् । लोहोनीले प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालकोसमेत सम्पत्ति छानविन गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी अहिलेका मन्त्रीहरु सबै भ्रष्ट भएको उनले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको उदाहरण दिँदै लोहोनीले मन्त्रीहरुले नै भ्रष्टाचार गरेको आरोप लगाए ।

अकुत सम्पत्ति कमाउने सबैलाई जेल हाल्नुपर्छ भन्दै उनले अख्तियारले खुट्टा कमाउन नहुनेमा जोड दिए ।

लोहोनीले अब देशमा राजसंस्था ल्याउनुपर्ने र हिन्दुराष्ट्र बनाउनुपर्ने पनि बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्