Logo

‘नेपाली काँग्रेस हिन्दु राष्ट्रको एजेन्डामा जाँदैन’



गुरुराज घिमिरे, नेपाली काँग्रेसका उदयीमान नेता हुन् । नेविसंघका पूर्व अध्यक्ष उनी बौद्धिक नेताको परिचय बनाउन सफल छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

तपाईहरु गणतन्त्रवादी कि राजसंस्थावादी ?
हामी गणतन्त्रवादी ।

नेपाली कांग्रेसले फेरि पनि राजसंस्था ल्याउनुपर्छ भनेर किन वहस सुरु गरिरहेको छ ?
नेपाली कांग्रेसभित्र राजतन्त्रको बारेमा बहसै भएको छैन ।

कांग्रेसभित्र राजतन्त्रको मुद्दा जसले बोक्छ आगामी सभापति त्यही हुन्छ भन्ने गरिन्छ नि ?
बिलकुल होइन । हिन्दू धर्मको कुरा चाहिं उठेको छ । महासमिति बैठकमा पनि उठेको थियो । ७/८ महासति सदस्यहरुले हस्ताक्षेर गरेर यो विषयमा बहस थाल्नुपर्छ भन्नुभयो । तर, राजसंस्थाको बारेमा कहींकतै कुरा उठेको छैन । केन्द्रीय समिति बैठकमा पनि राजसंस्थाको बारेमा कुरा उठेको छैन ।

त्यसो भए कांग्रेसका कुनै नेताले राजसंस्था ल्याउनुपर्छ भनेका छैनन् ?
भनेका छैनन् । व्यक्तिगत कसैलाई लागेको हुनसक्छ । यसलाई औपचारिक रुपमा कसैले पनि अभिव्यक्त गर्नुभएको छैन । हिन्दू धर्मको बारेमा चाहिं धर्म सापेक्ष राष्ट्र हुनुपर्छ । हाम्रो पार्टीको झन्डामा अंकित भएका चारवटा तारामध्ये एउटा धार्मिक स्वतन्त्रता हो । अर्को देशको प्रतिक हो । धर्म निरपेक्षता हाम्रो सिद्धान्त होइन । त्यसैले धर्म निरपेक्षतामा गएर गल्ती भयो । धार्मिक स्वतन्त्रता संविधानमा व्यवस्था हुनुपर्छ भन्ने कुरा अहिले नेताहरुले भन्न थाल्नुभएको छ ।

त्यसो भए तपाईंहरु राजसंस्थाको पक्षमा हुनुहुन्न ?
बिलकुलै छैनौं । यो अब इतिहासको विषय भइसक्यो । हुन त जनताले चाहेमा जुनसुकै राजनीतिक व्यवस्था परिवर्तन भएर नयाँ व्यवस्था आउन सक्छ । त्यो जनताको चाहना र राष्ट्रको आवश्यकमा निर्भर गर्छा । तर, अहिले राजसंस्था आउने कुरा बिलकुलै मनगढन्ते र काल्पनिक हो ।

नेपाली कांग्रेसका नेताहरुले हिन्दू धर्मको कुरा गरिरहँदा महामन्त्री डा. शशांक कोइरालाले राजसंस्था पनि फर्कन सक्ने संकेत गर्नुहुन्छ ?
राजा फर्कन सक्दैसक्दैन यो ढुंगाको अक्षर हो भनेर त कसले भनेको छ र ? संघीय गणतान्त्रिक लोकतन्त्र असफल भयो । व्यापक रुपमा कमीकमजोरीहरु देखिए । यो व्यवस्थालाई जनताको चाहना अनुसार सफलतापूर्वक हामीले सञ्चालन गर्न सकेनौ । जनताको विश्वासको केन्द्र यो व्यवस्थालाई बनाउन सकेनौ भने भोलि अर्को व्यवस्थाको लागि त जनता आफै अग्रसर हुन्छ । त्यतिबेला राजा अथवा कुनै अर्को व्यवस्था आउन सक्ला बेग्लै कुरा हो । तर, हामीले स्थापना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनानु हामी सबैको कर्तव्य हो । संविधानमा त्यही व्यवस्था छ । संविधानमा भएको व्यवस्थालाई फेर्न त ठूलो राजनीतिक परिवर्तनको लागि आन्दोलन हुनुपर्यो । विद्यमान व्यवस्थाविरुद्ध ठूलो जनमत उत्रनुपर्यो । हाम्रो असफलताका कारणले त्यस्तो स्थिति आयो भने नयाँ व्यवस्था आउँछ नि । त्यो अवस्था जे पनि हुनसक्छ । तर, अहिले नै त्यस्तो परिस्थिति बिलकुलै देखिँदैन ।

तपाईंहरुले सिस्टमै विकल्पमा बहस गर्न शुरु गर्नुभएको हो ?
यो स्टिमको विकल्पमा बहस प्रारम्भ गर्नै हुँदैन । कुनै कुनाबाट कसैले गरेको छ भने त्यो नेपाली कांग्रेसको आधिकारिक कुरा बिलकुलै होइन । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा खतरा उल्पन्न भएको सरकारको कारणले हो । यो राजावादी वा राजा कसैबाट भएको होइन । पूर्वराजाले त जनताको नासो जनतालाई बुझाएँ भनेर छोडेर गएका हुन् नि । राजा त श्रीपेज नै बुझाएर हाँसिहाँसी गाडी चढेर गएका हुन् । त्यसैले पूर्वराजाले कुनै कुरा चित्त बुझेन भनेर आवाज उठाउँदैमा आपत्ति जनाउनुपर्ने आवश्यकता पनि छैन ।

पूर्वराजाको गतिविधि त बढेको छ नि ?
उहाँ पनि पूर्व राष्ट्र प्रमुख हो । २४० वर्षको आफ्नो पारिवारिक इतिहास भएको मान्छे । राजकाज चलाएको परिवारको व्यक्तिले आफ्नो देशमा घुम्न, डुल्न र गफगाफ गर्न नपाउने भन्ने हुँदैन । त्यसको मतलब फेरि राजतन्त्र बोक्ने र राजा नै ल्याउने भन्ने पनि होइन । यो व्यवस्थाको विरुद्ध प्रश्न उठाने ठाउँ अहिलेको सरकारले दिएको हो । सरकार आफै सर्वदलीय बैठक बोलाएर यो व्यवस्था खतरामा पर्यो भन्छ । कसका कारणले यो व्यवस्था खतरामा पर्यो त ? सरकार नेकपाले चलाइराखेको छ । दुईतिहाईको सरकार छ । स्थानीयतहमा उसैको ठूलो मेजेरेटी छ । संघीय, प्रदेश, स्थानी, राज्यको संयन्त्रलगायत सबै क्षेत्रमा नेकपाकै हालिमुहाली छ । ऊभन्दा क्रान्तिकारी अरु कोही छैन, कांग्रेस सिद्धियो भनेर उसैले भनिरहेको छ । अनि व्यवस्था खतरामा कसको कारणले पर्यो ? त्यसैले यो व्यवस्था खतरामा परेको छ भने अहिलेको सरकारको कारणले हो अरु कसैको कारणले होइन ।

अहिले हिन्दु राष्ट्रको कुरा गरिरहँदा संविधानमा जे लेख्नुभयो त्यो गलत साहित भएको हो ?
नेपाली कांग्रेस जस्तो बृहत प्रजातान्त्रिक मूल्य/मान्यतालाई विश्वास गर्ने पार्टीभित्र विभिन्न मुद्दाहरु आउने त्यसमा ब्यापक छलफल हुने कुरालाई अस्वभाविक रुपमा लिनुहुँदैन । हिन्दु राष्ट्रको मु्द्दा भनेको पार्टीको औपचारिक एजेन्डामा छैन । यो एजेन्डा पनि होइन । केन्द्रीय कार्यसमितिमा नेताहरुले उठाएको । केन्द्रीय कार्यसमितिमा प्रवेश गराउन खोजेको विषय हो । जबरजस्त जनमतको आधारलाई टेकेर उहाँहरुले उठाउनुभएको कुरा हो । अहिले हामी हिन्दु राष्ट्र, राजा, राजसंस्था जस्ता तपशिलका कुरामा अलमलिनु हुँदैन ।

केन्द्रीय समितिको बैठकमा त हिन्दू राष्ट्रको बारेमा बहस सुरु भयो नि ?
बहस गर्न त पाइन्छ ।

भ्रष्टाचार, अनियमितता, अराजकताको बारेमा बोल्नुको सट्टा कांग्रेस निदाइरहेको छ भनिन्छ नि ?
अहिले मुलुकमा ब्यापक रुपमा भएको भ्रष्टाचार, अशान्ति, अनियमितता, हत्या, हिंसा, बलात्कार यी जेजति कुरा छन् । पछिल्लो समय नयाँ कुराहरु आइराखेका तपशिलका विषय हुन् । यसलाई छोडेर राष्ट्रलाई समृद्ध कसरी बनाउने । व्यवस्थालाई बलियो कसरी बनाउने । त्यसलाई कसरी संस्थागत गर्ने भन्ने जल्दाबल्दा विषयमा पो हामीले आफ्नो शक्ति खर्च गर्ने हो । धर्म निरपेक्ष, सापेक्षका कुरालाई महत्वमा राखेर समय र शक्ति खर्च गर्नुहुँदैन । रह्यो हिन्दूधर्मको मुद्दा त्यो किन आयो केन्द्रीय समितिमा भन्नुभयो । अगाडि नै भनिएको यो महासमितिमा आएको छ । त्यसलाई केन्द्रीय समितिमा छलफलमा नेताहरु ल्याउनुभएको छ । अहिले नै पार्टी यसलाई मुल मुद्दा बनाएर हिड्ने सम्भावना देखिँदैन । राष्ट्रलाई आवश्यक अरु चल्दाबल्दा मुद्दालाई नै महत्व दिएर हामीले छलफल गर्नुपर्छ ।

जनताका जीवनसँग जोडिएका एजेन्डा छोडेर हिन्दू राष्ट्र बनाउनतिर लाग्नुभएको छ नि ?
हिन्दू राष्ट्र बनाउने कुरा होइन । धर्मको विषयमा कुरा उठ्यो भने जनमत संग्रहमा पनि जानुपर्ने हुन सक्छ भनेर महामन्त्रीले बारम्बार भन्दै आउनुभएको छ । उहाँले नेपाल हिन्दु राष्ट्र नै बनाउनुपर्छ भने चाहिं मैले सु्नेको छैन । यसमा एकदमै जनमत बढेर आएको खण्डमा मात्र जनमत संग्रह गर्नुपर्ने हुनसक्छ भन्नुभएको छ । हाम्रा नेताहरुको केन्द्रीय समितिमा आएको धारणा पनि हामीले धार्मिक स्वतन्त्रताको पक्षमा उभिनुपर्छ भन्ने छ । हिन्दू राष्ट्र बनाउनैपर्छ भन्ने निष्कर्षका साथ उहाँहरु आउनुभएको जस्तो मलाई लाग्दैन । पार्टीको आधिकारिक मुद्दा र एजेन्डामा पनि यो होइन । पार्टीको आधिकारिक मुद्दा भनेको मुलुकमा मौलाएको भ्रष्टाचार, बालुवाटार जग्गा प्रकरण, वाइवडी काण्ड, बेरोजगारी, निर्मला पन्त हत्या प्रकरणदेखि सुनकान्ड, होलीवाइनदेखि लिएर यति विवादहरु अहिले उत्पन्न भए छन् । यी विवादहरुमा मुलुकलाई फस्न दिनुहुँदैन । मुलुकमा अहिले जेजस्ता समस्याहरु देखिएका छन् । त्यसलाई समाधान गर्नेतिर नेपाली कांग्रेसले आफ्नो संलग्नता देखाउनुपर्छ भन्ने नै हाम्रा मुख्य एजेन्डा हुन् । प्रधान विषय यी हुन् अहिलेका अरु सबै तपसिलका कुरा हुन् ।

नेपाली कांग्रेसका नेताहरु राजसंस्था र हिन्दु राष्ट्रका बारेमा अब बहस गर्दैनन् ?
हिन्दु धर्मका बारेमा त बहस गर्छन् । राजसंस्थाको बारेमा त कसैले उच्चारण पनि गरेको छैन । हिन्दु धर्मको कुरा गर्दा यहाँ केही मान्छेहरुको पहिला हिन्दू धर्म ल्याइन्छ अनि त्यसको स्रिँढी चढेर राजसंस्था ल्याइन्छ भन्ने आशंका छ । मलाई लाग्दैन, राजसंस्था कुनै सिँढी चढेर आउँछ यहाँ । राजसंस्था नेपालको लागि एउटा युग र इतिहासको विषय भइसक्यो । नेपाली कांग्रेसले राजसंस्था बोक्दैन । राजाको आफ्नो जनमत छैन । आर्मीले ‘कू’ गरेर राजसंस्था ल्याउँदैन । राजनीतिमा आर्मी छैन नेपालको आर्मी फ्रेसनल छ । कहाँबाट राजसंस्था आउँछ एउटा मात्रै छिद्र मलाई देखाइदिनुस् न । त्यसैले नेपाल संस्था आउने नेपालमा कै परिवेश छैन । हिन्दू धर्मको कुरा चाहिं धर्ममा आस्था भएको थुप्रै मान्छे छन् अथवा नेपाली कांग्रेसको तारतारामध्ये एउटा तारा धार्मिक स्वतन्त्रताको प्रतिक हो भन्ने हाम्रो मान्यता छ । त्यसैमा टेकेर नेताहरुले भनिराख्नुभएको छ ‘देशमा धार्मिक स्वतन्त्रता हुनुपथ्र्यो, धर्म निरपेक्षता २०६२/०६३ को एजेन्डामा पनि थिएन’ भनेर बहस भएको हो । पार्टीको मूल एजेन्डाभित्र होइन ।

हिन्दु राष्ट्रको पक्षमा कांग्रेस लाग्दैन, आउने महाधिवेशनमा पनि यो एजेन्डा उठ्दैन ?
एजेन्डा त नेताहरुले उठाइहाल्नुहुन्छ । तर, पार्टीले मूल एजेन्डा नै बनाएर उठाइहाल्छ भन्ने मैले देखेको छैन । जनदबाब हुनुपर्छ । सुर्खेतमा ३/४ सय गाई सामुहिक रुपमा काटिएको छ । एउटा जुलुस निस्किएको देखेको छ ? मुलुकमा हिन्दु धर्मामा आस्था राख्ने यति धेरै मानिसहरु छन् । सामुहिक रुपमा गौहत्या भइराखेको छ । यो कुन षड्यन्त्रबाट भएको हो भनेर प्रदर्शन हुनुपर्छ हो नि खोइ त ? राजनीतिक दलहरुलाई दबाब दिनुपथ्र्यो । त्यसैले धर्मप्रति केवल कुरामात्रै गरेर हुँदैन जनमत लिएर सडकमा आउनुपर्यो । जनताहरु सकडमा उत्रिएर पोलिटिकल पार्टीहरुलाई खबरदार हिन्दू राष्ट्र चाहियो भन्दा हो नि ।
नेविसंघको नेतृत्वमा अझै पनि तपाईंहरुबीच सहमति भएन नि ?
नेविसंघको नेतृत्वको समयावधी सकिएको बेला नै हामीले केन्द्रीय कमिटीबाट निर्णय गरेरे पार्टीसभापतिज्यूलाई आग्रह गरेको छौं । यसमा तपाईंले आवश्यक नेताहरुसँग सल्लाह गरेर केन्द्रीय कार्यसमिति गठन गर्नुहोस् भनेकै हो । नेविसंघको हकमा तदर्थ समिति बनाउने निर्णयमा पुगेका छौं । यो कुनै भ्रातृ संस्थाहरुको होइन । त्यसकारण यो छलफलमा आइरहने कुरा होइन । तर, बाहिर साथीहरुबीचमा किन भएन चासो चिन्ता लिने कुरा चाहिं हो । निर्णयको सन्दर्भमा चाहिं हामीले अब कुनै थप गरिरहनुपर्ने आवश्यक छैन । केन्द्रीय सभापतिज्यूकोमा के कारणले किन ढिला भएको हो त्यो थाहा भएन । सतापतिलगायत अन्य नेताहरु गर्ने–गर्ने भन्नुहुन्छ किन रोकिएको हो त्यो थाहा भएन । नेपाली कांग्रेस कार्यकर्ता उत्पादन गर्ने खारखाना हो । त्यो बन्द हुनुहुँदेन । कारखाना नै बन्दभयो भने भोलि आउने नयाँ किशोर, किशोरीलाई कसरी नेपाली कांग्रेसले आफ्नो पक्षमा उभ्याउन सक्छ । त्यस कारण विद्यार्थी संगठन भनेको पार्टीको मेरुदण्डको रुपमा स्थापित शक्तिलाई यसरी अलमल्याएर राख्न पाइँदैन भनेर हामीले भनेका छौं ।



प्रतिक्रिया दिनुहोस्