Logo

प्रचण्डले औंल्याए यस्तो खतरा, एक्शनमा उत्रिन आह्वान



काठमाडौं, १८ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले फेरि अराजकता र अन्योलता थेग्न नसक्ने बताएका छन् । उनले हरेक क्षेत्रमा एक्सनका साथ काम गर्दै देशमै रोजगार सृजना गरेर युवालाई आस्वस्त पार्नुपर्ने समय आएको बताए । उनले चितवनलाई नयाँ मोडेलको रुपमा विकास गर्न खोजेको भन्दै केही तत्वहरु जनतालाई भ्रम पार्न र विकासको विरोधमा लागिपरेको आरोप लगाए ।

बुधबार भरतपुर महानगरपालिकाले गरेको ‘भरतपुर विमानस्थल विस्तार एवम् सुधार’ सम्बन्धमा सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । निराशाले जनतामा बेचैन बढेर जाने खतरा बढेको बताएका छन् । अध्यक्ष प्रचण्डले जनतालाई निराश हुन नदिन हरेक क्षेत्रमा एक्सनमा गएर काम गर्नुपर्ने बताए । उनले भने, ‘तीव्ररुपमा विकास गर्न सकिएन भने जनतामा बेचैन बढेर जाने खतरा छ, त्यसलै छिटो काम गरेर नेपाल विकासको युगमा गयो भन्ने सन्देश दिन जरुरी छ ।’

‘काठमाडौंको वैकल्पिक विमानस्थलको रुपमा भरतपुर विमानस्थलको विस्तार गर्नुपर्छ’ उनले भने’, ‘नवलपरासी, मकवानपुर, तनहुँ, गोरखा र धादिङको केन्द्र पनि भरतपुर हो ।’ उनले मेघौली विमानस्थललाई वैकल्पिकरुपमा राखेर पूर्वाधार विकास गर्दै लैजानुपर्ने धारणा राखे । प्रचण्डले भरतपुर विमानस्थल जोखिमयुक्त हुँदै गएको महसुस आफूले गरेको भन्दै सुधार गर्ने र वैकल्पिक बारेमा तत्काल कदम चालिने प्रतिबद्धता जनाए ।



प्रतिक्रिया दिनुहोस्