Logo

गगन थापाले प्रधानमन्त्रीको राजिनामा मागेपछि नेकपा सांसदले दिए यस्तो जवाफ



काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थालाई लिएर संसदमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ ।

नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री ओली लगातार अस्वस्थ भइरहँदा अब विश्राम लिनुपर्ने सुझाब दिएका थिए । तर सत्तारुढ दलका सांसदले भने प्रधानमन्त्रीको स्वास्थ्यभित्र कांग्रेसले अस्तित्व खोजेको आरोप लगाए ।

बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बहस भएको हो । बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद गगन थापाले केपी ओलीलाई विश्राम लिँदै नयाँ प्रधानमन्त्री चयनका लागि मार्ग प्रशस्त गर्न सुझाब दिएका थिए ।

सांसद थापाले कार्यकारी प्रमुख लामो समय देश बाहिर बस्दा मुलुकको राष्ट्रिय सुरक्षा तथा कुटनीतिक मर्यादामा जोखिम उत्पन्न हुने भन्दै प्रधानमन्त्रीलाई धेरै धपेडी नगर्न आग्रह गरे । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण लगातार काम गर्न नसक्ने भन्दै उनले विकल्प खोज्नुपर्ने आवश्यकता औल्याएका थिए । प्रत्येक २-३ महिनामा १०-१२ दिन विदेश गएर टेलिप्रिजेन्समार्फत मन्त्रीहरुको ब्रिफिङ लिएर देश चलाएर शासकिय जिम्मेवारी पुरा नहुने थापाको तर्क थियो ।

संसद न हो, प्रतिपक्षको सुझाबलाई सत्तापक्षले आरोपको शैलीमा व्याख्या गरिदिए । नेपाल कम्युनिस्ट पार्टीका सांसद सूर्यप्रसाद पाठकले केही सांसदले प्रधानमन्त्रीको स्वास्थ्यभित्र आफ्नो दलको अस्तित्व खोजेको आरोप लगाए । पाठकले थापाप्रति लक्षित गर्दै प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेजस्तै गरी प्रधानमन्त्रीले राजीनामा दिए हुन्थ्यो भन्ने आशय प्रकट गरेकोसमेत बताए ।

सिंगापुरमा मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया सकिँदै गरेको बताइएको छ । शरीरमा एण्टीबडीको मात्रा बढेपछि प्रधानमन्त्री ओली गत भदौ ५ गते उपचारका लागि सिंगापुर जानुभएको थियो । ओली आगामी शुक्रबार नैं काठमाडौं फर्कने संभावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्