Logo

अन्योलमा चिकित्सा शिक्षाको प्रवेशिका परिक्षा



काठमाण्डौ । यही भदौ २१ गतेदेखि चिकित्सा शिक्षाको प्रवेशिका परिक्षाको तालिका सार्वजनिक भइसकेको छ । तर पनि परीक्षा भने विवादमा परेको छ । प्रवेश परीक्षासम्बन्धी सम्झौताअनुसार कार्यान्वयन भएन भनेर एकातर्फ चिकित्सा अध्ययनरत विद्यार्थीहरुले विरोध जनाइरहेका छन् ।

अर्कोतर्फ सम्बन्धीत निकाय भने सबै मागहरु पूरा गर्न नसक्ने अडान लिएको छ । छ महिना अगाडि नेपाल सरकार र डा. गोविन्द केसीका साथै अध्ययनरत विद्यार्थीहरुबीच चिकित्सा अध्ययन गर्ने विषयमा शुल्क निर्धारण लगायतमा सहमति भएको थियो ।

तर छ महिना बितिसक्दा पनि उतm सहमति कार्यान्वयनमा नआएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् । आगामी भदौ २१ गतेदेखि प्रवेशिका परीक्षा सञ्चालन हुदै छ । विद्याथीहरुले सहमति अनुसार माग पूरा गर्नुपर्ने र सबै विश्वविद्यालयहरुले साझा परीक्षा सञ्चालन गरेर नजिता निकाल्न माग राखेका छन् ।

आन्दोलन भइरहँदा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भने छलफलमा आउन आग्रह गर्नुभएको छ । तर आन्दोलनरत विद्यार्थी संगठनहरुले भने सरकारले माग पूरा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । अवैध रुपमा परीक्षा संचालन गर्न खोजिएको आरोप उनीहरुले लगाएका छन् ।

त्रिभुवन विश्वविद्यालयकी निमित्त उपकुलपति प्रा डा. सुधा त्रिपाठीले भने विद्यार्थीहरुले उठाएका सबै मागहरु पूरा गर्न नसकिने स्पष्ट पारेकी छिन् । परीक्षासम्बन्धमा त्रिभुवन विश्वविद्यालयले थप निर्णय गर्न नसक्ने भन्दै त्रिपाठीले सरकारकै भरमा बसेको बताएकी छिन् ।

उच्चस्तरिय शिक्षा आयोगले प्रवेशिका परीक्षाको सबै तयारी पूरा गरेको बताएको छ । तर विद्यार्थीहरुको मागलाई पनि आयोगले सकारात्मक भनेको छ । पूर्वघोषित मितिअनुसार अबको तिन दिनपछि प्रवेश परीक्षा हुनुपर्छ ।

तर त्रिवि र आन्दोलनरत विद्यार्थीहरु टसमस भएका छैनन् । यस्तो अवस्थामा प्रवेश परीक्षा हुन्छ वा हुँदैन भन्ने प्रश्न अन्योल सिर्जना भएको छ ।



प्रतिक्रिया दिनुहोस्