Logo

फार्मलाई दुई करोड अनुदान



तनहुँ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले मोडल फार्म स्थापनाका लागि अनुदान दिने भएको छ । केन्द्रले तनहुँ र नवलपुरमा ३० साना पशुपक्षी तथा मत्स्य मोडल फार्म स्थापनाका लागि चालू आर्थिक वर्ष २०७६÷७७ मा रु दुई करोड ४० लाख अनुदान दिन लागेको हो ।

प्रत्येक स्थानीय तहमा कृषि, पशुपक्षी तथा मत्स्य व्यवसायको कम्तीमा एक नमूना फार्म स्थापना गर्ने उद्देश्यसहित कृषकलाई अनुदान वितरण गर्न लागेकोे राससले जनाएको छ । पशुपक्षी तथा मत्स्य मोडल फार्म कार्यक्रमका लागि प्रस्ताव आह्वान गरिने र प्रस्ताव हेरेर कृषकलाई फार्म स्थापनाका लागि रकम प्रदान गरिनेछ ।

गत आवमा कार्यालयले ४६ फार्मलाई रु एक करोडभन्दा बढी अनुदान वितरण गरेको थियो । कृषकलाई पशुपालनतर्फ प्रोत्साहन गर्ने उद्देश्यसहित तनहुँ र नवलपुरका ४६ फार्मलाई गत वर्ष एक करोड ३३ लाख ७३ हजार रुपैयाँ अनुदान वितरण गरिएको छ ।

मोडल फार्म परियोजना कार्यक्रमप्रति कृषक आशावादी र उत्साहित देखिएका छन् । यो कार्यक्रमले व्यावसायिक पशुपालनमा उल्लेख्य वृद्धि भएकाले स्वरोजगार सिर्जना भएको छ ।

कम्तीमा पाँच रोपनी जमीन भएको उन्नत प्रविधियुक्त कृषि फार्म जसको आम्दानीले कम्तीमा पनि परिवारलाई आत्मनिर्भर बनाउने गरी व्यावसायिक रुपमा कृषि तथा पशुपक्षीजन्य उत्पादनको लागि स्थापना गरिएको फार्म हुनुपर्नेछ । केन्द्रले माछापोखरी निर्माणका लागि पाँच हेक्टर क्षेत्रफललाई १० लाख रुपैयाँ, मत्स्य फार्म यान्त्रिकरणका लागि दुई लाख ५० हजार रुपैयाँ र माछा भुरा ढुवानीका लागि एक लाख अनुदान दिने भएको छ ।

पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रमअन्तर्गत मासु पसल सुधारका लागि रु छ लाख, डेरी पसल सुधारका लागि रु छ लाख, दाना बनाउने मेसिन खरीदका लागि एक लाख ५० हजार रुपैयाँ र दुग्ध चिस्यान केन्द्र स्थापनाका लागि रु तीन लाख दिइने भएको छ ।

केन्द्रका प्रमुख डा श्रेष्ठका अनुसार पशुपक्षी तथा मस्त्य क्षेत्रको विकासमार्फत समृद्ध प्रदेश निर्माणमा सहयोग गर्ने उद्देश्यसहित ‘एक पालिका, एक पशुपक्षी÷मत्स्य उत्पादन’मा जोड तथा ‘एक जिल्ला, एक घाँसेबाली स्रोतकेन्द्र’ स्थापना गर्ने रणनीति अवलम्बन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्