Logo

हिमाल आरोही पुर्जा ‘निम्स’ सम्मानित



काठमाडौं, १९ भदौ । सशस्त्र प्रहरी बलले हिमाल आरोही निर्मल पुर्जा ‘निम्स’ लाई सम्मान गरेको छ । सर्वोच्च शिखर सगरमाथासहित विश्वमा रहेका आठ हजार मिटरभन्दा बढि उचाईका १४ वटा हिमालमध्ये ११ वटा हिमालहरुको तीन महिनाभित्र सफल आरोहण गरिसकेका निम्सलाई सशस्त्र प्रहरी बल, नेपालले बुधबार सम्मान गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले १८ भदौमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उनलाई दोसल्ला ओढाई सम्मान गरेका हुन् ।

हिमाल आरोही निम्सले सात महिनाभित्र उल्लेखित १४ वटा हिमालहरुको सफल आरोहण गर्ने लक्ष्य लिएकोमा बाँकी तीन वटा हिमालहरुको आरोहण पुरा गर्ने लक्ष्य रहेको सुनाए । त्यस्तै, उनले आफू पूर्व ब्रिटिस गोर्खा सैनिक भएको कुरा उक्त समारोहमा जानकारी गराएका थिए । 

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले हिमाल आरोहणको क्षेत्रबाट देशको नाम विश्वमा फैलाउन सफल रहेको भन्दै आरोही निम्सको साहस, लगन र योगदानको मुक्तकण्ठले प्रशंसा गरे । हिमालको सफल आरोहणकै कारण उनी विश्वमा निम्सको नामले चिनिएको उल्लेख गर्दै खनालले नेपालको गौरवशाली इतिहास र परम्परालाई अगाडी बढाउनमा उनी सफल रहेको चर्चा पनि गरे ।

सशस्त्र प्रहरी बलमा सेवारत रहेकोमा गर्व गर्ने गरेको स्मरण गदै खनालले दायित्व निर्वाहका क्रममा सेवा तथा सुरक्षा र सहयोग पु¥याउने मात्र नभई जोखिमपुर्ण स्थानहरुमा आपत विपत्तमा उद्वार कार्यको लागि साहस चाहिने बताउदै त्यो साहस हिमाल आरोही निम्सबाट सिक्न सकिने उल्लेख गरे ।

खनालले मान्छेहरुले आफ्ना लागि सोच्ने गरेको तर निम्सले आफ्नो घरसमेत विक्रि गरेर हिमाल आरोहण थालेको सुनाए । महानिरीक्षक खनालले थपे,”उनले त्यो के का लागि गरे त ? निश्चय नै देशका लागि हो ।’ नेपाल र नेपालीको नाम विश्वमा फैलाउन उनले गरेको योगदान वास्तवमै सराहनिय रहेको खनालको भनाई छ ।

कुनै पनि काम मनदेखि नै सकारात्मक सोचका साथ गरिएमा असम्भव केही पनि नरहेको सुनाउँदै खनालले आत्मालाई हरेश खान नदिएर लक्ष्यमा जुट्नुपर्ने र यसबाट जहिले पनि सफलता प्राप्त गर्न सघाउ पुग्ने टिप्स दिए ।

छोटो समयमा निम्सले गरेको योगदान सराहनीय रहेको तथा ईतिहास रच्ने यात्रामा उनको प्रयास सम्मानजनक रहेका बताउँदै खनालले हिमाल आरोही निम्सको संकल्प र साहसको सबैले कदर गर्नुपर्ने चर्चा समेत गरे ।

‘गर्न सक्छु भन्ने आत्मविश्वासकासाथ काम सुरुवात गरेमा कुनै पनि कुरा असम्भव छैन’ सशस्त्र प्रहरी महानिरीक्षक खनालले भने– ‘प्रयास गरेमा विफल हुँदैन, त्यो कुरा हिमाल आरोही निम्सबाट सिक्न सकिन्छ ।’ उनले सशस्त्र प्रहरी बलले राष्ट्र र जनताको खातीर योगदान पु¥याएको उल्लेख गर्दै विपद्का अवस्थाहरुमा जोखिम मोलेर सशस्त्र प्रहरी कर्मचारीले गरेको उद्वार कार्यको सबै तीरबाट प्रशंसा भएको कुरा समेत उल्लेख गरेका छन् ।

विश्व किर्तिमानी हिमाल आरोही निर्मल पुर्जा ‘निम्स’ले उक्त विशेष समारोहमा विभिन्न हिमाल चढ्दाको आफ्नो गर्विलो अनुभव सुनाएका थिए । हिमाल आरोहणका कुरा गर्दा भावनात्मक रुपमा के भयो र के–के त्याग गरियो भन्ने कुरा आफ्नो स्मरणमा रहेको उल्लेख गर्दै निम्सले आफुले आफ्ना लागि नभई नेपाल र नेपालीको गौरवको लागि उक्त प्रयास गरेको बताए । उनले भने – ‘नेपाली भन्दा गर्व लाग्छ ।’ ‘गर्व र खुशी छु’ ।

हिमाल आरोही निम्सले भने– ‘सशस्त्र प्रहरी बलले निमन्त्रणा गरेर आफ्नो कामको सराहना गरि आफुलाई सम्मान गरेर थप हौसला प्रदान गर्दै उत्प्रेरणा दिएकोमा यस संगठनप्रति आभारी रहेको निम्सले सुनाए ।

म्याग्दी जिल्लामा जन्मनु भएका मेम्बर अफ ब्रिटिस इम्पायर (एम बी ई) बाट सुशोभित पूर्व ब्रिटिस गोर्खा सैनिक निर्मल पुर्जा ‘निम्स’ले आफु विगतमा रोयल नेभीमा स्पेशल फोर्समा समेत कार्यरत रहेको कुरा बताए । हिमाल आरोहणका लागि उक्त जागिर परित्याग गर्दै १२ दिनमा आठ हजार मिटर भन्दा अग्ला पाँचवटा हिमालहरुको सफल आरोहण गरेको सुनाउदैँ दुई दिन ३० मिनेटमा सगरमाथा, लोत्से र मकालु हिमालको सफल आरोहण गर्दै पुरानो गिनीज बुक अफ दी वल्र्ड रेकर्डमा रहेको पाँच दिन तीन घण्टा ३५ मिनेटको पुरानो रेकर्ड तोड्न सफल भएको कुरा समेत बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्