Logo

के प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यस्थितिबारे देशवासीलाई ढाँटेका हुन् ?



समाचार विश्लेषण । स्वास्थ्य संवेदनशील विषय हो । यसबारे धेरै विषय गोप्य राखिन्छ । रोगीलाई मानसिक असर नपरोस् भनेर गोप्य राखिने विषय भएपनि सार्वजनिक व्यक्तिको स्वास्थ्यस्थितिबारे सार्वजनिक चासो हुन्छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे आम नागरिकले चासो प्रकट गरिरहेका छन् ।

प्रधानमन्त्री ओली विगतमा पनि सिंगापुर आवत्जावत् गर्थे । उनी धेरै अन्तरामा उपचारको लागि जाने गरेकोमा चासो रहेपनि अहिलेको जस्तो रहँदैनथियो । ३० दिनको अन्तरालमा ओली दुईपटक सिंगापुर गएर एक हप्ताभन्दा बढी समय बसे । पहिलो बसाईंमा उनी निर्धारित समयावधिभन्दा बढी समय बसेर फर्किए । त्यसपछि १० दिनमा पुनः सिंगापुर गए ।

यसअघि सिंगापुरबाट फर्किएलगत्तै ओलीले ट्वीटमार्फत् आफू स्वस्थ रहेको जानकारी दिए । तर, उनी दश दिनभित्र फेरि सिंगापुर लागे । स्वस्थ थिए भने उनी लामो हवाईयाता गरेर सिंगापुर बारम्बार गर्दैनथिए । उनले कतै देशवासीलाई ढाँटेका त थिएनन् ? यो प्रश्न धेरैले गरेका छन् । चिकित्सक समेत रहेका नागरिक अगुवा डा. सुन्दरमणि दिक्षित प्रधानमन्त्री जस्तो ओहदाको व्यक्तिले आफू स्वस्थ भएको प्रमाणपत्र जनतालाई देखाउनुपर्ने बताउँछन् । उनी भन्छन्, प्रधानमन्त्री स्वस्थ रहेको प्रमाण जनताले जान्न पाउनुपर्छ । हुनपनि विकसित देशहरुमा देशको महत्वपूर्ण ओहदामा रहेको व्यक्ति स्वस्थ हुनैपर्छ । विशेषगरी राष्ट्रपति र प्रधानमन्त्री अनिवार्य रुपमा स्वस्थ रहनुपर्छ ।

तानाशाहहरुले शासन गरेका देशमा मात्र शासक अस्वस्थ रहेपनि शासन गरिरहन्छन् । क्युबामा फिडेल क्यास्ट्रोले त्यस्तै गरे । उत्तर कोरियामा वर्तमान शासक किम जोङ उनका बाबु किम जोङ इलले अस्वस्थताका बाबजुद शासन गरिरहे । सद्दाम हुसेनको स्वास्थ्य अवस्थाबारे प्रश्न उ्ठ्दा इराकको तालमा तीनपटक पौडी खेलेर देखाएका थिए ।

ओली स्वस्थ दाबी गर्दै आएका छन् । मृगौला प्रत्यारोपण गरेको १२ वर्ष पुगेपछि उनको स्वास्थ्यमा समस्या आइरहेको विषय उठिरहँदा ओलीले यसबारे प्रष्ट पार्नुपर्छ । उनी शुक्रबार स्वदेश फर्कने बताइएको छ । जनतामा आफ्ना प्रधानमन्त्री स्वस्थ होउन् भन्ने कामना छँदैछ । तर, उनले जनताको विश्वासलाई मेट्न नदिने सत्य उजागर गर्नैपर्छ । नेपाली काँग्रेसका नेता गगन थापाले ओलीको स्वास्थ्यवस्थालाई ध्यानमा राखेर आराम गर्नुपर्ने सुझाव दिएका छन् । यो तीतो सत्य हो । देश चलाउन स्वस्थ हुनैपर्छ ।

राजतन्त्रमा राजा हुन्थे । उनी जतिसुकै अस्वस्थ भएपनि राजा भइराख्थे । तर, गणतन्त्र नेपालका प्रधानमन्त्री बन्न स्वस्थ हुनुपर्छ कि पर्दैन ? यो विषय जोडतोडले उठेको छ । ओलीले स्वास्थ्यवस्थाबारे टिप्पणी पक्कै पनि रुचाएका छैनन् । त्यसैले उनी आफ्नै दलका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध कडा रुपमा प्रस्तुत भए । शासनसत्ताको महत्वपूर्ण निकायमा हुनुपर्ने व्यक्ति अस्वस्थ भएमा यस्ता विवाद आउनसक्छन् । ओली दुई तिहाई मत पाएर संसदबाट चुनिएका प्रधानमन्त्रीका रुपमा शक्तिशाली भएपनि उनको स्वास्थ्यवस्थाका कारण निरिह जस्तै भइसकेका छन् । प्रधानमन्त्रीले स्वास्थ्यवस्थाबारे ढाँटेर बेडबाट देश चलाउने शैली परिवर्तन गराउनुपर्छ । कि त स्वस्थ रहेको प्रमाण पेश गर्नुपर्छ कि त जिम्मेवार र क्षमतावानलाई सत्ता हस्तान्तरण गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्