Logo

नेपालमा विदेशी पर्यटक कसरी भित्र्याउने ? यस्तो छ प्रचण्डको टिप्स



काठमाडौं, २० भदौ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनबाट केही नयाँ पहिचान बनाएको उल्लेख गर्दै अब आर्थिक क्रान्तिबाट पनि त्यसरी नै विश्वलाई नेपालको परिचय गराउनुपर्ने बाँकी रहेको बताएका छन् ।

उनले लाभका लागि मात्रै व्यवसाय नगरी सेवाभावले व्यवसाय गर्न उहाँले अपील गरे । नेपाल भित्रिने पर्यटकहरुसँग जोडिएको ट्रेकिङ क्षेत्रले विदेशीहरुसँग गर्ने व्यवहारले देशको परिचय दिने भएकोले सेवा र कर्मको भावनाले व्यवसाय गर्नुपर्नेमा उनको जोड थियो ।

नेपाल ट्रेकिङ एशोसिएसन (टान) को ४१ औं वार्षिक साधारण सभा तथा निर्वाचनका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले नेपालको पर्यटन क्षेत्र नेपालको कहिल्यै नसकिने प्रचुर सम्भावना भएको क्षेत्र भएको बताएका हुन् । “यसको विकास इमान्दारी र पारदर्शी तरिकाले गर्न सके नेपाल समृद्ध बनाउन यसले योगदान दिन सक्छ ।” उनले भने, “मन्त्रीले धेरै प्रतिबद्धता राख्नु भएको छ । यस्ता कार्यक्रममा यति स्पष्ट र भरोसायोग्य तरिकाले प्रतिवद्धता राखेको पहिलोचोटी देखेको छु । यसअर्थमा तपाईहरुले आशा राख्ने अवस्था पैदा भएको छ ।”

नेपाल भ्रमण वर्षको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष प्रचण्डले नेपाललाई सधैं भ्रमण वर्षको रुपमा रहिराख्ने वातावारण बनाउन समेत अपील गरे । त्यसका लागि आवश्यकपर्ने वातावारण बनाउने राज्यका तर्फबाट गर्नुपर्ने धेरै कुरा बाँकी रहेको कुरामा ध्यानाकर्षण भएको उनले स्पष्ट पारे ।

नेकपा सचिवालय सदस्य तत्काल थप नहुने धेरै लामो मेहनत र संघर्षपछि देशमा नयाँ राजनीतिक परिस्थिति बनाएको उल्लेख गर्दै प्रचण्डले अब आर्थिक समृद्धिको नयाँ युगतिर लैजानुपर्नेमा पनि जोड दिए। “आर्थिक लोकतन्त्रको युगतिर जानका लागि नीजि क्षेत्रलाई सहकार्य र विश्वासमा लिएर प्रोत्साहित लिएर राज्य अगाडि बढन सकेन भने समृद्धिको सपना सपनामात्रै हुन्छ ।” उनको भनाई थियो ।

प्रचण्डले राज्यका तर्फबाट सकारात्मक र रचनात्मक ऐन, कानुन, नियम, व्यवस्था र तालिम सञ्चालन गर्न नसके लामो संघर्षपछिको उपलब्धि खतरामा पर्ने अवस्था आउनेमा सचेत गराए । उनले भने, “यतिबेला राज्यको नेतृत्व र लोकतन्त्रका लागि योगदान दिने नीजि क्षेत्र मिलेर आर्थिक समृद्धिका लागि सकारात्मक वातावरणका लागि नयाँ अभियान बनाउनु जरुरी छ ।”

अध्यक्ष प्रचण्डले इतिहासमा राजनीतिक क्रान्ति र परिवर्तनपछि पराजित तत्वहरु कुनै न कुनै रुपमा छटपटिने र पुनर्स्थापनाका लागि प्रयासका रुपमा देखिने बताए । २०६३र०६४ सम्म आउँदा सम्पन्न गरेको जनक्रान्ति र त्यसपछि संविधानसभा हुँदै संविधानमा भएको सबै तहको समझदारी र सहकार्यबाट इतिहासमा केही कीर्तिमान कायम गरेको बताउँदै अध्यक्षले मानिसहरुले सामान्य र असम्भव ठानेका राजनीतिक परिवर्तन र शान्तिका, संविधान निर्माणका, लोकतान्त्रिक गणतन्त्रका मूलभुत मान्यतासहित अधिकार स्थापना गर्न सफलता पाएको उल्लेख गरे ।

“तर यी सफलताको अन्तिम परिणाम आर्थिक समृद्धिमा गएर खोज्नुपर्छ ।” उनले अगाडि भने, “आर्थिक प्रगतिको नयाँ युगतिर डोर्याउन सकिएन भने राजनीतिक परिवर्तन दिगो हुन सक्दैन । त्यो चुनौती र परीक्षा तपाई हामी सबैका अगाडि छ ।”



प्रतिक्रिया दिनुहोस्