Logo

भगवान मानिएका गाई र कुकुर समस्या बने



काठमाडौं, भदौ २० । कुनैबेला थियो ललितपुर क्षेत्र नम्बर २ का तत्कालिन सांसद सिद्धिलाल सिंहले छाडा गाइगोरुले किसानको धानबाली खायो भनी संसदमा कुरा उठाए । त्यतिबेला सांसदहरुले नै हाँसो गरे । देशमा कत्रा कत्रा राजनीतिक र विकासका विषय हुँदा सिद्धिलालले छाडा गाइगोरुको विषय उठायो भनी खिसी गरे । तर, समय यस्तो भएको छ सिद्धिलाल सिंह दुरदर्शी रहेछन् भनी पुष्टि भएको छ । उनले विगतमा उठाएको गाइगोरुको समस्या अहिले विकराल बनेको छ ।

छाडा गाइगोरुले बढ्दो शहरीकरण भइरहेको नेपाली समाजमा समस्या बनेको छ । काठमाडौं उपत्यकामा यो समस्या बनिरहेकै छ । नेपालगञ्जमा यो समस्या उत्तिकै छ । गाइगोरुको विषयले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धबल शमशेर राणा विवादमा परेका छन् । दैलेखमा गौहत्याको विषय आएको छ । यसका लागि छानविन समेत हुनथालेको छ ।

गौहत्यापछि काठमाडौं उपत्यकामा भुस्याहा कुकुर नियन्त्रणको विषय पनि उठेको छ । कुकुर नियन्त्रणका नाममा हत्या गरिएको भन्दै जनावर रक्षामा लागिएकाहरु सडकमा आएका छन् । भुस्याहा कुकुरका कारण मानिसहरुमा रेविज फैलिएपछि यो विषय जोडतोडले उठेको हो ।

एकातर्फ सरकारले पर्यटन वर्ष २०२० को तयारीमा लागेको छ । अर्कोतर्फ, शहरमा छाडा गाइगोरु समस्या बनेको छ । भुस्याहा कुकुर उत्तिकै ठूलो समस्या छ । भुस्याहा कुकुर छ भन्ने थाहापाए विदेशी पर्यटक आउने सम्भावना कम हुन्छ । यसको व्यवस्थापन निकै चुनौती बनेको छ । हेर्दा र सुन्दा सामान्य लागेपनि यो देशको तल्लो तहदेखि बाह्य जगतसम्म गलत सन्देश जानसक्ने कारण हुनसक्छ । मसिना कुरामा ध्यान नदिंदा सरकार पटक पटक चुक्दै आएको छ ।

सिंहदरबारमा समेत भुस्याहा कुकुर नियन्त्रण गर्न नसकेको सरकारका लागि बाहिर नियन्त्रण चुनौती बन्ने निश्चित छ । यो समस्यातर्फ सरकारको बेलैमा ध्यान नगए समस्याले सताउन सक्छ । हिन्दु धर्मालम्बीले भगवान मानेर पूजा गर्ने गाई र कुकुर समस्या बन्दा संस्कृतिमाथि नै चुनौती थपिएको छ ।



प्रतिक्रिया दिनुहोस्