Logo

चिनियाँ विदेशमन्त्री आइतबार नेपाल आउने



काठमाडौं, २० भदौ । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि यही भदौ २२ गते आइतबार काठमाडौं आउने पक्का भएको छ । उनको नेपाल भ्रमणबारे नेपाल र चीन दुवै देशका विदेश मन्त्रालयले आज मिति नै सार्वजनिक गरेर पुष्टि गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

तीन दिन नेपालमा रहँदा चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने बुझिएको छ । सोमबार चिनियाँ प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्तासमेत हुनेछ ।

नेपाल र चिनियाँ उच्च पदस्थ सम्मिलित प्रतिनिधिमण्डलको वार्तामा के कस्ता सम्झौता हुन्छन् त्यसबारे भने कुनै जानकारी दिइएको छैन । चिनियाँ राष्ट्रपति सि जिङपिनले काठमाडौंको भ्रमण गर्ने चर्चा भइरहेका बेला विदेशमन्त्री यीले गर्न लागेको नेपाल भ्रमण त्यसैको तयारीका लागि भएको आँकलन गरिएको छ।

केही समय पहिले भारतीय विदेशमन्त्री एस. जयशंकर नेपाल भ्रमणमा आएका थिए । नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठकमा भाग लिनको लागि भारतीय विदेशमन्त्री जयशंकर नेपाल आएका थिए । उनको भ्रमणको बेलमा पनि उच्चस्तरीय भेटवार्ता भएका थिए ।



प्रतिक्रिया दिनुहोस्