Logo

नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा सुरक्षा र सडक मुख्य चुनौति



काठमाण्डौ । सरकारले नेपाल भ्रमण बर्ष २०२० मनाउने भने पनि पूर्वाधारमै समस्या देखिएको छ । त्यसैगरी सुरक्षा चुनौतिबारे पनि प्रश्न उठन थालेको छ । समस्यै समस्याकाबीच एक वर्षभित्रमा २० लाख पर्यटक कसरी भित्र्याउन सकिन्छ भन्ने प्रश्न उब्जिएको छ ।

अहिलेसम्म पर्यटकीय पूर्वाधार नभएको र भएकै पूर्वाधार पनि कमजोर भइरहेको बेला २० लाख पर्यटकको लक्ष्य कसरी पूरा गर्ने भन्न प्रश्न उठिरहेको छ । यही विषयमा अनेक प्रश्न र आशंका उब्जिरहदा यसलाई आवश्स्त पार्ने किसिमका तयारी भने खासै भएको पाइदैन ।

शुक्रबार प्रतिनिधिसभाको विकाश तथा प्रविधि समितिको बैठकमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जोशीले पर्यटन वर्षमा कनेक्टिभिटी र सुरक्षा चुनौती रहेको बताउनु भएको हो ।

नेपालमा आउन चाहने विदेशी पर्यटकले रोड सुरक्षा र हवाइ सुरक्षा बारे धेरै चासो राख्ने गरेको जोशीले बताएका छन् । तर पर्यटकको चासो सम्बोधन हुने गरी सरकारले काम गर्न सकेको छैन ।

समितिले पर्यटक गन्तब्यसम्म पुग्ने सडकहरुको अवस्थाबारे छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात र पर्यटन मन्त्रालयका सचिवलाई छलफलको लागि बोलाएको थियो । छलफलका क्रममा सांसदहरुले काठमाण्डौ उपत्यका लगायत देशैभरका सडकको अवस्था सन्तोषजनक नभएको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए ।

मन्त्रालयका सचिव देवेन्द्र कार्कीले भने समितिमा सांसदहरुले प्रश्न गरे जस्तो सडकको अवस्था कमजोर नभएको दावी गरेका छन् ।

पर्यटनलाई जागरण ल्याउने राष्ट्रिय अभियानका साथ पर्यटन वर्ष सरकारले मनाउँदै छ । अन्तराष्ट्रिय पर्यटक आकर्षिक गर्न सरकारले ल्याएको यो अभियानको मूख्य उद्देश्य नै हालको करिब १२ लाख पर्यटकलाई सन् २०१९ मा १८ र २० मा २० लाख पुर्याउने हो । तर, सरकारले पर्यटन पूर्वाधार बनाउन नसकेका कारण भएकै पूर्वाधारबाट भने एकै वर्ष २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य महत्वकांक्षी हुन सक्छ ।



प्रतिक्रिया दिनुहोस्